[caption id="attachment_20691" align="alignnone" width="1688"]Portrait of two young woman having fun. Outdoors, lifestyle टिनेजर अर्थात् किशोरावस्थालाई संवेदनशील उमेर समूह मानिन्छ । यो उमेरमा सिकेका र सिकाइएका पाठकै आधारमा उनीहरूको भविष्य तय हुने मनोविज्ञहरू बताउँछन् । यो उमेर अवधिमा उनीहरू निकै अनौठा र फरक स्वभाव देखाउँछन् । घरका अन्य सदस्यसँग उनीहरूको स्वभाव धेरैजसो बेमेल नै हुन्छ । यही उमेरमा व्यक्तिले गलत बाटो रोज्ने खतरा बढी हुन्छ । उनीहरूलाई विभिन्न उपायले सम्झाउँदै सही र गलतबारे सिकाउनु पर्छः[/caption] १। टिनेजरहरू हरेक विषयमा स्वतन्त्रता खोज्छन् । विषय सही या गलत जे पनि हुन सक्छ । परिवारलाई सम्मान नगर्ने स्वभाव देखाउँछन् । आफ्नो मुड चलेपछि उनीहरू एकोहोरो व्यवहार देखाउँछन् । यो अवस्थामा अभिभावक उनीहरूको स्वभावविरुद्ध आक्रामक हुनु गल्ती हुन्छ । आगोमा आगो मिसिँदा परिणाम जटिल बन्छ । उनीहरू झन् रुष्ट बन्छन् । अर्ति–उपदेशले पनि सही ट्र्याकमा ल्याउन सकिँदैन । त्यसैले टिनेज छोराछोरीप्रति अभिभावकले साथीको व्यवहार देखाउनुपर्छ र साथीकै रूपमा रहेर बिस्तारै मोटिभेट गर्नुपर्छ । २। यो उमेरमा शारीरिक परिवर्तन छिटो–छिटो हुन्छ । जुन परिवर्तन उनीहरूका लागि कौतूहल र तनावपूर्ण हुन्छ । तनावकै कारण उनीहरूमा नैराश्य पनि आउँछ । यौनका विषयमा चासो राख्न खोज्छन् । तर, अभिभावक उनीहरूको तनाव र चासोलाई सम्बोधन गर्नतिरभन्दा एकोहोरो कडाइ गर्न तल्लीन हुन्छन् । यस्तो अन्तरले परिस्थितिलाई जटिल बनाइदिन्छ । यो अवस्थामा अभिभावकले छोराछोरीसँग शारीरिक परिवर्तन, यसका कारणलगायत विषयमा सभ्य तरिकाले जानकारी दिनुपर्छ । कम्तीमा हप्ताको एकपटक परिवारका सबै सदस्य एक ठाउँमा बसेर अभिभावकले छोराछोरीसामु आफ्ना समस्याहरू सुनाउने गर्नुपर्छ । अभिभावकहरू खुल्दा उनीहरूलाई पनि आफ्ना समस्या प्रस्तुत गर्न सहज हुन्छ । यौन कौतूहलका विषयमा छोरीलाई आमा र छोरालाई बाबुले सम्झाउनु राम्रो हुन्छ । ३। टिनेजमा यौनलगायत विषयमा चासो पैदा हुनु स्वाभाविक नै हो । यस्ता चासोबारे स्पष्ट हुन नसक्दा गलत बाटो रोज्न सक्छन् । अभिभावकले यो उमेरमा आफूले सोच्ने गरेको र महसुस हुने गरेको अनुभव छोराछोरीलाई पारिवारिक शैलीमा सुनाउन सक्नुपर्छ । ४। छोराछोरीमा केही नकारात्मक प्रभाव परेको छ भने अभिभावकको सही जानकारीले सकारात्मक भूमिका खेल्न सक्छ । ब्वाइफ्रेन्डरगर्लफ्रेन्ड छ कि छैन भनेर बुझ्नु छ भने ‘मेरो त उतिखेर ब्वाइफ्रेन्डरगर्लफ्रेन्ड थियो, यस्ता कुरा हुन्थे’ भनेर कुरा गर्न सकिन्छ । अभिभावकले कुरा खोलेपछि उनीहरू पनि खुल्न थाल्छन् । र, सत्य बुझ्न सजिलो हुन्छ । सत्य पत्ता लगाइसकेपछि सही बाटोमा हिँड्न सिकाउने भूमिका पनि अभिभावकमै रहन्छ । ५। टिनेज छोराछोरीलाई कहिल्यै पनि हेय भावले व्यवहार गर्नु हुँदैन । अरूका छोराछोरीसँग तुलना गरेर कमजोर मूल्यांकन गर्नु हुँदैन । गाली गर्दा उनीहरूमा ‘आइडोलोजी क्राइसिस’को महसुस हुन्छ । सकारात्मक टिप्पणी गर्नुपर्छ । केही भन्नु परे पनि सकारात्मक कोणबाट भन्ने । जस्तै, ‘यो त तिमीले राम्रो गर्‍यौ, यहाँचाहिँ अलिकति पुगेन नि’ भन्दा सकारात्मक प्रभाव पर्छ । उनले गरेका स–साना कामको पनि प्रशंसा गरिदिँदा दूरी कम हुँदै जान्छ । म पनि केही हुँ भन्ने ‘फिल’ हुन दिनुपर्छ । उनीहरूको स–साना गल्तीमा माफी दिनु अभिभावकको ठूलो उदारता हुन्छ । यसले उनीहरूमा नैतिक दबाब पार्छ । अरूसामु गाली गर्दा त झन् नराम्रो असर पार्छ । छोराछोरीको गतिविधि बुझ्न उनका मिल्ने साथीहरूसँग अभिभावकले पारिवारिक सम्बन्ध बनाउनुपर्छ । सीधा सोध्दा झर्किनेरफर्किने गरेमा साथीको सहारा लिएर गतिविधि बुझ्न काम लाग्छ । समस्या बुझेपछि सुल्झाउन सहज हुन्छ । टिनेजरलाई अभिभावकले आफ्नो तर्फबाट सकेसम्म ‘फ्रिडम’ दिने, तर ‘वाच’ भने गरिरहने गर्नुपर्छ । उनीहरू गोप्यता चाहने भएकाले सीधा–सीधा उनीहरूका मोबाइल हेरिदिने, म्यासेज पढिदिनेजस्ता काम गर्नु हुँदैन । उनीहरूकै सामु गोप्यता चुहाउन खोज्दा झनै नकारात्मक सोचाइ पैदा हुन्छ । खेमराज भट्ट उपप्राध्यापक, त्रिवि मनोविज्ञान केन्द्रीय विभाग नयाँ पत्रिका दैनिकबाट