arunबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागमा काम गर्दा शिशुहरूका अभिभावक शिशुको हेरविचार कसरी गर्ने भनेर जानकारी लिन आउँछन् । यहाँ खास गरी जनकपुर, सप्तरी, सिरहा, मोरङ, झापा, सुनसरी तथा पूर्वी पहाडी जिल्लाका बिरामीहरू आइपुग्छन् । शिशुको जन्म हुनासाथ यहाँ ल्याइन्छ वा अधिकांश शिशुको जन्म प्रतिष्ठानमै हुन्छ ।

शिशुहरुको जन्म प्राकृतिक वा शल्यक्रियाबाट हुने गर्छ ।शिशुको पर्याप्त हेरविचार अत्यावश्यक छ किनभने उनीहरू आफ्नाबारेमा केही पनि बताउन सक्दैनन् । त्यसैले शिशुको सही हेरचाह गरे उसको मनमा भएका कुरा सही ढङ्गले बुझ्न र जान्न सकिन्छ । जन्म हुनासाथ शिशुलाई न्यानो, सफा तथा नरम कपडाले पुछेर आमाको छाती (दुई स्तनको बीच) मा केही समय टाँसेर राखिदिनुपर्छ । यसो गर्नाले आमा र शिशुबीच आत्मीयता बढ्छ साथै यसले स्तनपान गर्न मद्दत पु¥याउँछ । शिशुलाई जतिसक्दो छिटो (जन्मिएको आधा घण्टाभित्र) स्तनपान गराउनु बेश हुन्छ । शिशुलाई आमाको दूधबाहेक केही ख्वाउनु हुँदैन । स्तनपान गराउँदा शिशुको आसन र स्तन सम्पर्क सही हुनुपर्छ । आमालाई जुन आसनमा बसेर ख्वाउँदा सजिलो महसुस हुन्छ, त्यही आसनमा दूध ख्वाउनुपर्छ । कम्तीमा पनि १५ देखि २० मिनेटसम्म एउटै स्तनबाट स्तनपान गराउनुपर्छ ।

शिशु एउटै स्तनको दूधबाट सन्तुष्ट भए अर्को स्तन चुसाइरहनु आवश्यक छैन तर सन्तुष्ट नभए दुवै स्तन चुसाउनुपर्छ । शिशुलाई जति बढी दूध चुसायो, उति नै बढी दूध बन्छ । शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र ख्वाउनुपर्छ । यो उमेरसम्म शिशुलाई अतिरिक्त पानी पनि दिनु हुँदैन । शिशुलाई जति बढी तिर्खा लाग्यो, उति नै बढी दूध चुस्छ । शिशु ६ महिनाको भएपछि उसलाई ठोस आहाराको आवश्यकता पर्छ जसमा जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा आदि ख्वाउन सकिन्छ । शुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा ख्वाउनुपर्छ । यस्ता पदार्थ अर्धठोस हुनुपर्छ । नवजात शिशुमा शरीरको तापक्रम सन्तुलित गर्ने शक्ति कम हुन्छ र शिशुमा शीताङ्ग हुने सम्भावना जाडो मौसममा बढी देखा पर्छ ।

शरीरको तापक्रम सन्तुलित राखी न्यानो, सफा तथा नरम कपडाले शरीर ढाक्नुपर्छ । टोपी, भोटो, दौरा–सुरुवाल तथा मोजा–पञ्जा लगाइदिनुपर्छ । शिशुले पिसाब गरेको छ–छैन भनेर बेलाबेलामा नेपकिन जाँच गरिरहनुपर्छ । यसो गर्दा पिसाब फेरेर शिशुलाई चिसो हुन पाउँदैन । शिशुलाई जन्मनासाथ नुहाइदिनु हुँदैन । नाभीलाई सुख्खा तथा सफा राख्नुपर्छ । नाभीमा तेल तथा अन्य कुनै पदार्थ राख्नु हुँदैन । शिशुका दुवै आँखा दैनिक सफा मनतातो पानीमा कपास भिजाएर सफा गरिदिनुपर्छ । आँखामा गाजल लगाइदिने चलन हानिकारक हो । गाजलको प्रयोगले आँखा पाक्न सक्छ ।शिशु जन्मँदा उसको शरीरमा पानीको मात्रा बढी हुने भएकाले एक हप्तासम्म ५ देखि ७ प्रतिशत तौल कम हुनसक्छ तर ७ देखि १० दिनमा शिशुले ‘बर्थ वेट’ प्राप्त गर्छ । शिशुको तौल सिस्टमेटिक ढङ्गबाट बढ्छ । यसलाई जान्न तथा बुभ्mन जरुरी छ । शिशुको तौल ४ देखि ६ महिनामा दुई गुणा बढ्छ र एक वर्षको हुँदा ३ गुणा बढ्नुपर्छ ।

यसैगरी शिशु जन्मँदा सामान्यतया ४५ देखि ५० सेन्टिमिटर हुन्छ भने एक वर्षमा ७५ सेन्टिमिटर हुनुपर्छ ।नेपाल सरकारले बच्चा जन्मिना साथ क्षयरोगविरुद्ध बीसीजी, ६ हप्ता पुगेपछि धनुष्टङ्कार, लहरेखोकी, भ्यागुते रोग, हेपाटाइटिस बी र हिब निमोनियाविरुद्ध डीपीटीएच हिब र पोलियो रोगविरुद्ध पोलियो थोपा ३ पटक तथा बच्चा ९ महिना पुगेपछि रुवेला र दादुराविरुद्ध निःशुल्क खोप दिने गरेको छ । बालबालिकाले १० वटा रोगबाट अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले सबै बालबालिकालाई खोप लगाउने गरिन्छ । आपूmलाई कुनै शङ्का लागेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । (लेखक धरानको बीपी प्रतिष्ठानका बालरोग विशेषज्ञ हुन् ।)