saman_dhuwaniबाजुरा/उत्तरी भेग बाँधुको भीम पुग्दा भेटिएकी नौ दिनकी सुत्केरी रेला रोकाया तीन सन्तानकी आमा हुन् । उनले हरेकपटक सुत्केरी भएको ६ दिनदेखि नै घरबाहिरको काम गरिरहेकी छन् । साना तीन बच्चा छन् । उनीबाहेक घरमा काम गर्ने कोही छैनन् । सबै काम आपूmले नै गर्नुपरेको उनकोे भनाइ छ । उनी आप्mना लागि खाना बनाउने, कपडा धुने, दाउरा खोज्ने र सरसफाइ गर्ने काम बिहानैदेखि गर्छिन् । बच्चा खेलाएर बस्नुपर्ने रोकायाको हातमा कामको जिम्मेवारी छ । गर्भवती अवस्थामा पनि घाँस काट्ने, दाउरा काट्ने, गह्रौँ भारी बोक्ने काम गरेका कारण रोकायामा तल्लो पेट दुख्ने समस्या देखिन थालेको छ ।

बाजुराको सदरमुकाम मार्तडीबाट दुई दिनको पैदल यात्रापछि पुगिने त्यो ठाउँबाट अस्पताल जान दुई दिन हिँड्नुपर्छ । आराम गर्दै पोषिलो खाना खानुपर्ने सुत्केरी अवस्थामा घरको गह्रौँ काम गर्ने यहाँका अधिकांश महिलाका समस्या समान छन् । सोही ठाउँकी हैजाली भण्डारी पनि सुत्केरी भएको २६ दिन मात्रै भयो । उनलाई घाँस काट्ने, दाउरा ओसार्ने काम नगरी खान पुग्दैन । सुत्केरी अवस्थामा काम गर्नु हुन्न भनेर स्वास्थ्यकर्मीले भने पनि घरमा समस्या भएकाले काम गर्न थालेको उनले बताइन् ।

‘बच्चा जन्मिएको सात दिनदेखि हल्का काम गर्न थालेकी हुँ, बच्चा जन्मिएको बीस दिनदेखि नै कोदो काट्ने, पानी बोक्ने, घाँस काट्ने काम गरिरहेकी छु ।’ उनले भनिन् । एक महिना भयो, घरभित्रका काममा छुई बारिरहेकी छन् तर पँधेराबाट आप्mना लागि पानी बोक्नुपर्ने समस्या छ । पँधेरो टाढा हुँदा पानीको समस्या हुने भएकाले आप्mना लागि आपैmँ पानी ल्याउन र कपडा धुन जानुपर्ने बाध्यता छ । पँधेरो जाँदा, कोदो कुट्दा र धान कुट्दा स्वास्थ्यमा समस्या हुने भए पनि काम नगरी खान नपाइने भएकाले सकिनसकी काम गरिरहेको उनको भनाइ छ । भण्डारीका अनुसार बच्चा जन्मिएको चार–पाँच दिनमा सबै महिलाले काम गर्न शुरु गर्छन् । उनी भन्छिन्, ‘गाउँका सबै महिलाले काम गर्छन्, म एकजनाले गर्दिनँ भन्न मिलेन ।’१४ वर्षमा विवाह भएकी धिमकी उजना नेपालीको पिठ्युँमा आपूmभन्दा ठूलो घाँसको भारी हुने गर्छ ।

नौ महिनाकी गर्भवती नेपालीले बच्चा जन्मिने दिन नजिकिए पनि घाँस काट्ने, पानी बोक्ने काम गर्नु परिरहेको छ । पहिलो र दोस्रो बच्चा काम गर्दागर्दै जन्माएकी नेपालीले नियमित स्वास्थ्य परीक्षणसमेत गराएकी छैनन् । आइरन चक्की, जुुकाको औषधि र अन्य औषधि खाँदा बान्ता हुने भएकाले स्वास्थ्य चौकी जान छोडेको उनी बताउँछिन् । १५ वर्षको उमेरमा पहिलो बच्चा जन्माएकी उजनाले यसअघिका दुई बच्चा जन्माउँदा पनि पाँच दिनदेखि नै काम गर्न थालेकी थिइन् ।पिठ्युँमा पानीको गाग्रो बोकेर आएकी धिमकै कपुरा सार्की नौ महिनाकी गर्भवती हुन् । पोषिलो खानेकुरा खाएर घरमै आराम गर्नुपर्ने बेलामा उनले एक घण्टा पैदल हिँडेर पानी लिन जानुपर्छ ।बाँधु–३ धिमकी स्वास्थ्य स्वयम्सेविका रामुदेवी मल्लका अनुसार सुत्केरी भएको तीन–चार दिनमै महिला काममा हिँड्छन् । गर्भवती र सुत्केरी अवस्थामा गह्रौँ भारी बोक्दै आएका महिलाको अध्ययन नजीकैबाट गरेकी मल्लका अनुसार पोषिलो खाना खाने, आमा र बच्चाको नियमित स्वास्थ्य परीक्षण गर्ने, आराम गर्ने भनेर जति सिकाए पनि पारिवारिक अवस्था र चेतनाको कमीको कारण महिलाको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।सुत्केरी भएको एक महिना नहुँदै मल बोक्ने, पँधेराबाट पानी बोक्ने, कोदो चुट्ने, घाँस काट्नेजस्ता गह्रौँ काम गर्ने महिलाले पाठेघर खस्ने समस्या भोग्दै आएका छन् ।

सरसफाइको कमीका कारण पाठेघरको सङ्क्रमण, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने समस्या धेरैमा छन् । धिमकै अर्की स्वास्थ्य स्वयम्सेविका चन्द्रकला बुढाका अनुसार काम नगरी खान नपाउने अवस्था भएकाले महिलालाई आराम गरेर बस्ने फुर्सद् हुन्न । घरघरमा पुगेर बच्चा जन्माउन अस्पताल आउनुपर्छ भनेर सिकाउँदा पनि स्वास्थ्यमा समस्या नहुँदासम्म अस्पताल आउने अवस्था नभएको चन्द्रकला बताउँछिन् । बाजुराको मार्तडी जिल्ला अस्पतालकी स्टाफ नर्स सुनिता केसी यहाँका महिला तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघर खस्नेजस्ता समस्या लिएर अस्पताल आउने बताउँछिन् । ‘समस्या जटिल भएपछि मात्र अस्पताल आउने हुँदा कतिपय बिरामीलाई लामो समय अस्पताल राखेर उपचार गर्नुपर्ने हुन्छ’, गर्भवती र सुत्केरी अवस्थामा गह्रौँ भारी बोक्न हुन्न भनेर सिकाउँदै आएकी केसी भन्छिन्, ‘अस्पतालमा जति सिकाए पनि घरमा पुगेर काम नगरी नहुने बाध्यता छ महिलालाई ।’ –सञ्चारिका फिचर सेवा