[caption id="" align="alignleft" width="205"] डा. प्रकाशराज रेग्मी[/caption]

 उच्च रक्तचाप (हाई ब्लडप्रेसर) मुत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ । धेरै अवस्थामा यो रोग आधुनिक सभ्यता, मानसिक तनाव र जीवनशैली परिवर्तनको नजिता हो । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार ठाउँ हेरिकन ५ देखि २० प्रतिशत जनतालाई उच्च रक्तचाप भएको फेला परेको छ । यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै विरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खत्तम पार्दै लगेर विरामीलाई मृत्युको मुखमा पु¥याउँछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ । तसर्थ उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ ।

मुटु शरीरको एक महत्वपूर्ण अङ्ग हो जुन नियमित रुपमा खुम्चने र फुक्ने गर्छ । यसलाई हामी मुटुको धड्कन भन्दछौं । शरीरमा रक्तसंचारका लागि मुटुले पम्पको काम गर्छ । मुटु खुम्चदा शरीरका विभिन्न अङ्गमा सफा रक्तसंचार हुन्छ भने मुटु फुक्दा शरीरका विभिन्न अङ्गहरुबाट प्रदूषित रगत मुटुमा जम्मा हुन आउँछ । यो खुम्चने र फुक्ने प्रक्रियालाई क्रमशः सिस्टोल र डास्टोल भनिन्छ । रक्तनलीमा रक्तसञ्चार हुँदा उत्पन्न हुने चापलाई रक्तचाप भनिन्छ । रक्तचापका दुई भाग हुन्छन्ः सिस्टोलिक र डायस्टोलिक ।

मुटु खुम्चिएको बेला मुटुबाट बेगसाथ निस्केको रगतले रक्तनलीमा दिएको चापलाई स्टिोलिक रक्तचाप भनिन्छ भने मुटुको डायस्टोलको अवस्थामा रक्तनलीमा उत्पन्न हुने चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । सिस्टोलमा रक्तचाप बढी र डायस्टोलमा कम हुन्छ । स्वस्थ मानिसमा स्टिोलिक रक्तचाप ९० मि.मि. देखि १४० मि.मि.सम्म र डायस्टोलिक रक्तचाप ६० मि.मि. देखि ९० मि.मि.सम्म हुन्छ ।

blood-pressure-test (1)विश्व स्वास्थ्य संघको परिभाषा अनुसार स्टिोलिक रक्तचाप १४० मि.मि. वा बढी भएमा र डायस्टोलिक रक्तचाप ९० मि.मि. वा बढी भएमा यस्ता व्यक्तिलाई उच्च रक्तचाप भएको मानिन्छ । कुनै पनि व्यक्तिको पूर्ण मानसिक तथा शारीरिक विश्रामको अवस्थामा दिनको एउटै प्रहारमा दुई वा सोभन्दा बढी पटक उच्च रक्तचाप भएको पाइएमा उसलाई उच्च रक्तचापको रोगद्वारा पीडित व्यक्ति भनेर भन्न सकिन्छ । एकै पटक मात्र उच्च रक्तचाप भएको भेटिँदैमा उच्च रक्तचापको रोगीको संज्ञा दिन मिल्दैन ।

उच्च रक्तचापका रोगीमध्ये ९० देखि ९५ प्रतिशत रोगीमा उच्च रक्तचापको कारण यो नै हो भनेर ठम्याउन सकिँदैन । अर्थात् कारण अज्ञात रहन्छ । यसप्रकार कारण अज्ञात रहेको उच्च रक्तचापलाई प्राथमिक उच्च रक्तचाप भनिन्छ । कारण अज्ञात रहे पनि केही यस्ता कारक तत्वहरु वर्णन गरिएका छन् जसले प्राथमिक उच्च रक्तचाप उत्पन्न गराउनमा सहयोग पु¥याउँछन् । ५ देखि १० प्रतिशत उच्च रक्तचाप भएका रोगीहरुमा उच्च रक्तचापको कारण यो नै हो भनेर ठम्याउन सकिन्छ । यी रोगीहरु धेरैजसो ३० वर्षभन्दा कम उमेरका हुन्छन् र उनीहरु कुनै शारिरीक रोगबाट पीडित हुन्छन् । जुन रोगको कारणबाट नै उच्च रक्तचाप विकास भएको हुन्छ । यस प्रकार कुनै विशेषका कारण उत्पन्न भएको उच्च रक्तचापलाई सेकेन्ड्री उच्च रक्तचाप भनिन्छ । यी कारक रोगहरुको उपचार गरेमा सेकेन्ड्री उच्च रक्तचाप ठीक भएर जान्छ ।

सेकेन्ड्रि उच्च रक्तचापका कारण

मिर्गौलाका रोगहरु मिर्गौलामाथि रहेको एड्रिनल ग्रन्थीका रोगहरु मिर्गौलामाथि रहेको ग्रन्थीको ट्यूमर गलगाँड (कण्ड ग्रन्थी) का रोगहरु रक्तनली साँगुरिने रोगहरु स्टेरोइड जातका औषधिको सेवन

उच्च रक्तचाप भए, नभएको कसरी थाहा पाउने ?

उच्च रक्तचाप भए, नभएको थाहा पाउने एउटै मात्र उपाय रक्तचाप नाप्ने हो । रक्तचाप बढेको कुरा नापेर मात्र थाहा हुन्छ, लक्षणमा भर पर्नु हुँदैन । किनकि उच्च रक्तचापको कुनै पनि लक्षण नहुन सक्छ । ३० वर्ष उमेर काटिसकेका स्वस्थ व्यक्तिले कम्तिमा वर्षको १ पल्ट रक्तचाप नाप्नु आवश्यक हुन्छ । टाउको दुख्ने, चक्कर लाग्ने, छाती दुख्ने, दम फुल्ने, नाकबाट रगत आउने आदि भएमा तुरुन्त रक्तचाप जँचाउनु पर्छ । उच्च रक्तचाप उत्पन्न गराउने कारक तत्वहरुको जोखिममा रहेका व्यक्तिहरुले नियमित रुपमा कम्तिमा ३ महिनामा १ पल्ट रक्तचाप जँचाउनु आवश्यक हुन्छ ।

 उच्च रक्तचापको जोखिममा को को ?

परिवारमा उच्च रक्तचाप, हृदयाघात, पक्षाघात, मिर्र्गौलाघात, दृष्टिघात आदि भएका शारीरिक तौल आवश्यक भन्दा बढी भएका गर्भवती महिला गर्भनिरोधक (परिवार नियोजनका) चक्की प्रयोग गर्दै गरेका महिला धुम्रपान गर्ने व्यक्ति उच्च रक्त कोलेस्टेरोल भएका व्यक्ति अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति उपचार

उच्च रक्तचापको उपचार निकै कठिन छ । पछिल्लो समयमा विज्ञानको विकासको फलस्वरुप यस रोगको उपचारका धेरै प्रभावशाली उपाय पत्ता लागिसकेका छन् । उच्च रक्तचाप नियन्त्रण गर्ने थुप्रै औषधि बजारमा उपलब्ध छन् । बिरामीहरु एकै पल्ट उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि शुरु गरीहाल्न मन पराउँदैनन् । कतिपय बिरामीले औषधि नै खाँदैनन् भने कतिपयले शुरु गरे पनि रक्तचाप नियन्त्रण भएपछि औषधि छाडिदिन्छन् । यस प्रकार औषधि छाड्नु हुँदैन भन्ने ज्ञान बिरामीमा छैन । उच्च रक्तचापको उपचारमा ठूलो कठिनाई भनेको यस्तै बिरामीमा उच्च रक्तचापको उपचारप्रतिको अज्ञानता र गलत सोचाइ हटाउनु नै हो । उच्च रक्तचापको औषधि शुरु गरेपछि जिन्दगीभर खाइरहनु पर्छ, यसले शरीरमा साइड इफेक्ट गर्छ, नराम्रो बानी लाग्छ आदि सोचाई राखेर औषधि सेवन गर्न नमान्ने र सेवन गरेपनि बीचमै उपचार रोक्ने जस्तो सोचले आम नेपालीमा जरा गाडेको छ । यो जरालाई उखेलेर फाल्नु र रोगीहरुमा उपचारप्रति विश्वास जागृत गराउनु ठूलो सफल कार्य हुने छ ।

अलिअलि मात्र रक्तचाप बढेका रोगीहरुलाई रक्तचाप घटाउने औषधि शुरु गराई हाल्नुपर्छ भन्ने छैन । औषधि बाहेक रक्तचाप घटाउने यस्ता थुप्रै उपाय छन् जसका बारेमा रोगीलाई चिकित्सकले जानकारी गराउनु आवश्यक हुन्छ । यी उपायहरुबाट पनि उच्च रक्तचापको नियन्त्रण नभएमा मात्र औषधि शुरु गर्नुपर्छ । तर कसैको रक्तचाप अत्यधिक मात्रामा बढेको छ र यसले शरीरमा नकारात्मक असर पारी डरलाग्दा परिणाम ल्याउन सक्ने खतरा देखिन्छ भने औषधिको प्रयोग तुरुन्त गरिहाल्नु पर्छ । साथमा अन्य उपायको पनि प्रयोग गर्दै गरेमा औषधिको सट्टा रक्तचाप नियन्त्रणका अन्य विधि अवलम्बन गर्न लगाउने भन्ने कुराको निर्णय चिकित्सकले गर्नेछन् । यो कुरामा रोगीले सहमति जनाउनु पर्छ ।

 उच्च रक्तचाप नियन्त्रण गर्ने उपाय

जीवनशैली परिवर्तन गर्ने उच्च रक्तचाप मानसिक तनावग्रस्त आधुनिक जीवनशैलीको परिणाम हो । अति व्यस्त जीवन, उच्च आकांक्षा, असन्तोष, अत्यधिक कार्यबोझ आदिले रक्तचाप बढाउन मद्दत पु¥याउँछ । आजको युगमा काम नगर्ने, उच्च आकांक्षा नराख्ने व्यक्ति विकासको गतिमा पछाडि पर्छ । अगाडि बढ्ने होडबाजीले रक्तचाप पनि माथि पु¥याउँछ । यसको मतलब रक्तचाप नियन्त्रण गर्न विकासको गीतमा रोक लगाएर जोगी नै बनेर हिँड्नु पर्छ भन्न खोजेको अवश्य होइन । तर रक्तचाप बढ्ने रोग लागेका व्यक्तिले यस प्रकारको व्यस्त जीवनशैलीमा परिवर्तन ल्याउन सके रक्तचाप नियन्त्रण गर्न सजिलो पर्छ । निश्चित दिनचर्या अनुसार काम गर्ने, बढी कार्यबोझ नलिने, विवादास्पद काममा हात नहाल्ने, अफिसको काम घरमा कहिल्यै पनि नल्याउने, महत्वाकांक्षी नबन्ने, काममा फलको आशा बढी नगर्ने, असफलतालाई सजिलैसँग स्वीकारी हतोत्साहित नहुने, छुट्टीको दिनमा मिटिङ्ग तथा अफिसका काम छाडेर श्रीमती÷श्रीमान् वा बालबच्चालाई पनि समय दिने, उनीहरुसँग छुट्टीको समयमा घुम्न जाने, प्रत्येक वर्ष १ पल्ट २–३ हप्ताको छुट्टी मिलाई विश्राम र मनोरञ्जन गर्ने बानी बसाल्ने गर्नुपर्छ । यस प्रकार जीवनशैलीमा परिवर्तन ल्याउन आफूले प्रयास गरे असम्भव छैन ।

खाद्य पदार्थमा नुनको मात्रा घटाउने

उच्च रक्तचाप र नुनको प्रत्यक्ष सम्बन्ध छ । रक्तचाप घटाउन खाद्य पदार्थमा नुनको मात्रामा कटौती गर्नु अत्यावश्यक छ । उच्च रक्तचाप नियन्त्रण गर्न दैनिक ३ देखि ५ ग्रामभन्दा बढी नुनको उपभोग गर्नु हुँदैन । खाना पकाउँदा अत्यन्त कम मात्रामा नुन राख्ने, खाना खाँदा अतिरिक्त नुन उपभोग नगर्ने, बट्टा भित्रका नुन बढी हुने खाद्य पदार्थ नखाने, बोतलमा राखेको अचार र पापड नखाने, नुनिलो बदाम, आलु चिप्स, नम्किन विस्कुट नखाने, चिज, बटर जस्ता नुन बढी हुने बस्तु नखाने, स्वादका लागि नुनको सट्टा कागती, मरिच, तोरीको पिना आदि प्रयोग गर्ने गर्नुपर्छ । मोटोपन घटाउने

धेरैजसो उच्च रक्तचाप भएका व्यक्तिको शारीरिक तौल आवश्यकभन्दा बढी हुन्छ । तौल घटाउनासाथ रक्तचाप पनि घट्छ । यस कारण उच्च रक्तचाप नियन्त्रण गर्न शारीरिक तौल घटाउनु जरुरी हुन्छ । योग अभ्यास गर्ने

मन र मस्तिष्कलाई शान्त पार्न सके उच्च रक्तचाप पनि शान्त भएर जान्छ । योग अभ्यासको माध्यमबाट मन र मस्तिष्कलाई शान्त पार्न सकिन्छ । तन्त्रयोग यस्तो उपाय हो जसबाट मन र मस्तिष्कलाई विश्राम प्राप्ती हुन्छ र उच्च रक्तचाप तथा अन्य हृदयका रोग समाधान हुने आशा गरिन्छ । स्वास्थ्य भनेकै शरीर र मस्तिष्क बीचको शान्तिपूर्ण सह–अस्तित्व हो । उच्च रक्तचापले यस्तो शान्तिपूर्ण सह–अस्तित्वलाई खलबल पार्छ । यो खलबलीलाई ठिक पार्ने तन्त्रयोगका चार खुट्किलामध्ये प्रथम खुट्किलो हथयोग हो भने अन्तिम अर्थात् चौथो खुट्किलो राजयोग हो । ध्यानको एक माध्यम हो राजयोग । राजयोग उच्च रक्तचाप घटाउने अत्यन्त प्रभावकारी उपाय हो । यस प्रकार तन्त्रयोगले हथयोग र राजरोग जस्ता वैज्ञानिक उपायद्वारा शरीर र मस्तिष्कलाई शान्त बनाइ उच्च रक्तचाप तथा मुटुका अन्य रोगको उपचारमा सहयोग पु¥याउँछ । यसले मुटुको रक्षाका लागि दुवै प्रतिकारात्मक र उपचारात्मक महत्व राखदछ ।

नियमित रुपमा व्यायाम गर्ने

व्यायामले रक्तचाप घटाउन मद्दत पु¥याउँछ । हिँड्ने, विस्तारै कुद्ने, पौडी खेल्ने, साइकल चलाउने जस्ता व्यायामले रक्तचाप नियन्त्रणमा सकारात्मक भूमिका खेल्छन् । यस्ता व्यायाम नियमित गर्ने बानी बसाल्नु पर्छ । सबैभन्दा सजिलो र प्रभावशाली व्यायाम नियमित रुपमा दैनिक १ घण्टा कम्तिमा ४ कि.मी. प्रति घण्टाको दरले हिँड्नु हो । हिँड्दा शरीरलाई बढी सकस पर्नु चाहिँ हुँदैन । छाती दुख्ने वा दम फुल्ने अवस्थासम्म पुग्ने गरी व्यायाम गर्नु हुँदैन । विस्तारै शुरु गरेर पछि तिव्रता बढाउँदै जानुपर्छ । खानपानमा ध्यान पु¥याउने

उच्च रक्तचाप भएका व्यक्तिले दैनिक खानपानमा विशेष ध्यान दिनुपर्छ । खानामा नुन, चिनी, घ्यू र तेलको मात्रा कम हुनु जरुरी छ । उच्च रक्तचाप भएकाहरुलाई मधुमेह, यूरिक एसिड, उच्च रक्तकोलेस्टेरोल पनि हुने अत्यधिक संभावना रहन्छ । यी रोगको नियन्त्रणका लागि पनि खानापानमा विशेष ध्यान पु¥याउनु जरुरी हुन्छ । कतिपय खाद्यपदार्थहरु यस्ता पनि छन् जसले रक्तचाप नियन्त्रणमा सहयोग पु¥याउँदछन् । धूमपान र सूर्ती सेवन नगर्ने

सूर्तीले धमनी कडा र साँगुरो बन्ने प्रक्रियालाई बढाउँछ । रक्तचाप घटाउन इच्छुक व्यक्तिले धूमपान र सूर्ती पूर्णतया बन्द गर्नुपर्छ ।

मदिरा सेवन बन्द गर्ने

थोरै मदिरा (दैनिक २ पेगसम्म) राम्रो र धेरै मदिरा सेवन नराम्रो भन्ने भनाई भएता पनि मदिरा सेवन पूर्णतया बन्द गर्नु नै उत्तम मानिन्छ । मदिरा सेवन नगर्ने व्यक्तिको सोचाई, चालचलन, व्यवहार आदिमा सकारात्मक पक्ष प्रबल रहन्छ ।

रक्तचाप नियन्त्रण गर्ने औषधि

औषधिको सेवनविना माथि वर्णन गरिएका उपाय अपनाउँदा पनि ३ महिना सम्ममा रक्तचाप नियन्त्रण नभए अनिवार्य रुपमा रक्तचाप घटाउने औषधि सेवन गर्नुपर्छ । औषधिले उच्च रक्तचाप रोग निर्मूल पार्दैन बरु यसलाई  घटाएर रक्तचाप नियन्त्रण मात्र गर्छ भन्ने चाहिँ बुझ्नू जरुरी छ । यसकारण रक्तचाप घटाउने औषधि लामो समयसम्म आवश्यकता अनुसार जिन्दगीभर सेवन गरिरहनु पर्छ । रक्तचाप ठीक छ भन्दैमा रोगीले खाइराखेको औषधि कदापी छोड्नु हुँदैन । औषधि खाँदा–खाँदै बीचैमा छाड्यो भने हृदयाघात, पक्षाघात, दृष्टिघात आदि जस्ता खतरनाक परिणाम उत्पन्न हुन सक्छन् । यी परिणामबाट जोगिनाका लागि नै नियमित औषधिको सेवन गर्नु जरुरी भएको हो । चिकित्सकको सल्लाह बिना एकाएक आफूखुशी औषधि बन्द गर्नु ज्यानकै लागि खतरनाक छ भन्ने तथ्य सबै उच्च रक्तचाप भएका रोगीले बुझ्नु आवश्यक छ । बानी पर्छ, साइड इफेक्ट हुन्छ भनेर औषधि नखानु अर्को मूर्खता हो । दैनिक औषधि सेवन गरेर सक्रिय जीवन बिताउनु बेस हो कि औषधि सेवन नगरेर अपाङ्ग भई निष्क्रिय जीवन व्यतित गर्नु बेस, यो बिरामी आफैले रोज्न सक्नेछ । उच्च रक्तचापको उपचारमा औषधिको प्रयोग रक्तचाप घटाइ हृदयाघात, पक्षाघात, दृष्टिघात र मिर्गौलाघातबाट बचाउनु हो । उच्च रक्तचापका औषधिले रोग निर्मूल पार्दैनन् । यी औषधिमा साइड इफेक्ट पनि हुन सक्छन् । चिकित्सकले रोगीको परीक्षण गरी सो रोगीका लागि सबैभन्दा उपयुक्त औषधिको चयन गर्दछन् ।

उच्च रक्तचापबारे बुझ्नै पर्ने कुराहरु

१.    उच्च रक्तचाप ज्यानमारा रोग हो । यसले रोगीलाई थाहै नदिइकन मृत्युको मुखमा पु¥याउँछ । यसको उपचारमा ढिलाई र लापरवाही गर्नु हुँदैन । यस रोगका कुनै पनि लक्षण नहुन पनि सक्छन् ।

२.    उच्च रक्तचापको नियन्त्रण नगरे पक्षाघात, हृदयाघात, मिर्गौलाघात, दृष्टिघात जस्ता खतरनाक परिणाम उत्पन्न हुन्छन् ।

३.    पूर्ण शारीरिक परीक्षणपछि उच्च रक्तचापको उपचार शुरु गर्नुपर्छ । उपचार जिन्दगीभर गर्नुपर्छ । रक्तचाप ठीक भयो भनेर चिकित्सकको सल्लाह विना उपचार बन्द गर्नु हुँदैन ।

४.    बानी पर्ला, साइड इफेक्ट होला, शुरु गरे पछि जिन्दगीभर खाई राख्नु पर्ला आदि नराम्रा कुराहरु सोचेर औषधि खान हेलचेक्राई र ढिलाई गर्नु हुँदैन ।

५.    एउटा औषधिले केही खराबी ग¥यो भन्दैमा उपचार प्रति नै नकारात्मक धराणा राख्नु हुँदैन । तपाईका चिकित्सकले अर्को सिफारिस गर्नेछन् । रक्तचाप नियन्त्रण गर्ने थुप्रै औषधिहरु उपलब्ध छन् । पूर्ण शारीरिक परीक्षणपछि मात्र तपाईलाई कुन औषधि फिट हुन्छ थाहा पाउन सकिन्छ ।

६.    रक्तचापका रोगीले कम्तिमा ३–३ महिनामा रक्तचाप जचाउनु पर्दछ ।

७.    धामी झाँक्री लगाएर उच्च रक्तचाप ठिक हुँदैन ।

८.    चिकित्सकलाई पूर्णरूपले विश्वास गर्नु पर्दछ । उच्च रक्तचापको उपचार संभव छ । यस रोगको उपचार मुटु रोग विशेषज्ञबाट गराउनु उत्तम हुन्छ ।

डा.रेग्मी, बरिष्ठ मुटुरोग बिशेषज्ञ हुन ।