sidhuधनकुटा/कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा सिधुवामा सहायक जोन स्थापना हुने भएको छ ।यस अभियानसँगै सरकारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सातवटा सुपर जोन र ३० वटा सहायक जोन स्थापना गर्न लागिएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशकका प्रमुख तारा श्रेष्ठले जनाए ।

उनले प्रदेश नं.१ मा एक स्थानमा सुपरजोन र पाँचवटा सहायक जोन स्थापना गरिने भएपछि सिधुवामा पनि तरकारीका लागि सहायक जोन स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइएको बताए । सुपर जोन र सहायक जोनका नामले स्थापना हुने कृषि सेवा केन्द्रले कृषकहरुले हाल अपनाइरहेको कृषि प्रविधिलाई आधुनिकीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।जोन स्थापना भएपछि कृषि पेशालाई थप व्यवस्थित गर्न केन्द्रले कृषिमा यान्त्रिकीकरण, ट्रयाक्टर र पावर टेलर प्रविधिको विकासका लागि औजारहरुको अनुदान र थप सेवासुविधाका लागि थप कल्याणकारी कृषि कार्यक्रम सञ्चालन गरिने क्षेत्रीय कृषि निर्देशक श्रेष्ठले बताए ।

कार्यालयलाई थप व्यवस्थित गर्न धनकुटाको रेशम खेती विकास कार्यालयलाई आवश्यक जिम्मेवारी दिइएको उनले बताए । परियोजना सञ्चालन भएसँगै सिधुवा क्षेत्र वरपरका गाविसमा करोडौँको विशेष तरकारी खेती कार्यक्रम सञ्चालन हुने जनाउँदै यसबाट स्थानीय किसानलाई लाभ हुने श्रेष्ठले बताए ।कोशी पहाडको मुख्य कृषि उपजअन्तर्गत तरकारीको पकेट क्षेत्र रहेको सिधुवामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कृषिलाई आधुनिकीकरण गर्न खोजिएको सिधुवा बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख व्यवस्थापक मेघेन्द्र गुरुङले खुशी व्यक्त गरे ।

गुरुङले जोन स्थापना भएपछि किसानहरूले अत्याधुनिक कृषि प्रविधि अपनाएर उत्पादनमा समेत वृद्धि गर्ने र उच्च गुणस्तरको तरकारी उत्पादन गरेर राम्रो मूल्य लिन सक्ने बताए ।नयाँ कृषि कार्यक्रम सञ्चालन गर्न सिधुवामा स्थापना हुने कृषि सहायक जोन कार्यालयमा एक उपसचिव, दुई शाखा अधिकृत, एक नायव सुब्बा र एक लेखा अधिकृतको दरबन्दी रहने पनि पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । कृषि सहायक जोन स्थापना गर्न सो क्षेत्रमा कम्तीमा ५ सय हेक्टर जग्गामा तरकारी खेती गरिएको हुनुपर्ने प्रावधान छ ।