atheतरहरा/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाका खेल सञ्चालन गर्न प्रयोग गरिने ओपनिङ फायर गन थोत्रा भइसकेका छन् । खेल शुरुवातको जनाउ दिने यो फायर गन नपड्किँदा खेलाडी र निर्णायकहरु हैरान हुने गरेका छन् ।१९९९ को सार्क खेलकुदका लागि चीनबाट ल्याइएको यो गन काम नलाग्ने अवस्थामा पुगेपनि नयाँ किन्ने प्रक्रिया अगाडि बढाइएको छैन ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान धेरै खेलाडीले साधन–स्रोतको अभावमा झेल्नु परेको कुराहरु बाहिर आए । साधन–स्रोत अभावको यस्तै एउटा नमूना हो ओपनिङ फायर गन । एथ्लेटिक्समा प्रयोग हुने यो गन पड्काएर खेलाडीलाई शुरु भएको जनाउ दिइन्छ । यो गन पड्किएपछि खेलाडी दौडन शुरु गर्छन् । तर १७ वर्ष अघिको यो गन पड्कन समस्या हुने गरेको छ ।खेलका दौरान धेरैपटक गन नपड्केर खेलाडीहरु झुक्किएका छन् । कति खेलाडीहरु त यही कारण आउट पनि भए । गन नपड्किएपछि टेक्निकल मिस्टेक भनेर टार्नुपर्ने बाध्यता रहेको १० वर्षदेखि यही गन पड्काउँदै आएका प्रशिक्षक राकेश बज्राचार्यले भने । पटक–पटक दोहो¥याएर पड्काउनु पर्ने बाध्यता रहेको प्रशिक्षक बज्राचार्य बताउँछन् ।

समयमा गन नपड्किएपछि खेलाडीले जुन स्प्रिरिट लिएर दौडने सोच बनाएको हुन्छ, त्यसमा असर पर्ने बज्राचार्यको भनाइ छ ।बज्राचार्यले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि यही गन पड्काएका थिए । फलामको यो गनका भित्री औजारहरु खिइएर काम नलाग्ने भएका छन् । स्लिप खाने, नपड्किने गरेको उनले बताए । १९९९ बाट शुरु भएको यो गनको यात्रा कहिले सकिने हो, कसैलाई थाहा छैन । शुरुशुरुमा सामान्य प्रतियोगिता र अभ्यासमा पनि प्रयोग हुँदै आएपनि अहिले वर्षमा दुईपटक राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा मात्र पड्काउने गरिएको छ ।यो गनको विकल्प नखोजिएको पनि पक्कै होइन ।

तर कसैले चासो नदिएको प्रशिक्षक राकेशले बताए । पहिले अर्को पनि यस्तै गन थियो तर त्यो काम नलाग्ने भएपछि यसले काम चलाउनु पर्ने बाध्यता रहेको उनले बताए । २० वर्ष देखि राष्ट्रिय खेलकुद परिषदको स्टोर किपरको काम गर्दैआएका जितबहादुर केसीले पटक–पटक माग फारम भरेर पठाए । तर अहिलेसम्म कुनै पदाधिकारीले चासो नदिएको उनी बताउँछन् ।यो गन नेपालमा किन्न पाइँदैन । विदेशबाट मगाउनुपर्छ । १९९९ को साफ गेममा चीनबाट ल्याइएको पुरानो भएको गनको विकल्प खोज्न कसैको ध्यान गएको छैन ।