dhanधरान /  अघिल्ला वर्षको तुलनामा सर्वाधिक धान फलेको यस वर्ष तराईका १० जिल्लाले उत्पादनमा कीर्तिमान बनाएका छन् । अघिल्लो आर्थिक वर्ष भारतीय नाकाबन्दी लगायतका कारण मल, बिऊ र औषधि अभावले धान उत्पादन १० प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष कम उत्पादन भएका जिल्लामै यस वर्ष अत्यधिक धान उत्पादन भएको छ । गत वर्षको तुलनामा २१ दशमलव ६६ प्रतिशतले उत्पादन वृद्धि भएर यो वर्ष एक खर्ब साढे चार अर्ब मूल्यबराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको छ । अघिल्लो आर्थिक वर्षमा ४२ लाख ९९ हजार मेट्रिक टन धान फलेको थियो । यस वर्ष उल्लेख्य परिमाणमा धान फल्नुमा १० वटा जिल्लाको उत्पादनले मुख्य भूमिका खेलेको छ । कृषि विकास मन्त्रालयले आइतबार वर्षेवालीको तथ्याङ्क सार्वजनिक गर्दै १० जिल्लामा अत्यधिक उत्पादन हुँदा परिमाणमा वृद्धि आएको जनाएको छ । केही वर्षयता उत्पादनको हिसाबले निकै तल पुगेको केही जिल्ला पनि यो वर्ष माथि उक्लेका छन् । नेपाल राष्ट्र बैङ्क र केन्द्रीय तथ्याङ्क विभागसँग सहकार्य गरी धान उत्पादनको अवस्था सार्वजनिक गरिएको छ । ‘यो वर्ष आश्चर्यजनक रूपमा धानको उत्पादन वृद्धि भयो’, मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, ‘उन्नत बिऊ, मल, प्रविधि र आकासे पानीका कारण उत्पादनले रेकर्ड तोड्यो ।’ धान उत्पादनका हिसाबले झापा सर्वोत्कृष्ट ठहरिएको छ । झापामा यसपटक तीन लाख ३८ हजार मेट्रिक टन धान फलेको छ । यसैगरी दोस्रो नम्बरमा मोरङ आएको छ । मोरङमा तीन लाख २५ हजार आठ सय मेट्रिक टन उत्पादन भएको छ । तेस्रो नम्बरको कैलालीमा दुई लाख ८३ हजार दुई सय २४ मेट्रिक टन र चौथो रूपन्देहीमा दुई लाख ७२ हजार एक सय ८४ मेट्रिक टन धान फलेको वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए । यस्तै बारामा दुई लाख ४० हजार चार सय २५ मेट्रिक टन, धनुषामा दुई लाख २५ हजार तीन सय ९८ मेट्रिक टन, कपिलवस्तुमा दुई लाख १० हजार पाँच सय ८२ मेट्रिक टन, बर्दियामा दुई लाख दुई हजार मेट्रिक टन, सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन र सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन धान फलेको छ । नवलपरासीमा एक लाख ८२ हजार, पर्सामा एक लाख ८० हजार, कञ्चनपुरमा एक लाख ६७ हजार, सप्तरीमा एक लाख ६२ हजार र सिरहामा एक लाख ५५ हजार मेट्रिक टन धान फलेको छ ।