धरान/मंसिर दोस्रो साता चटपटे व्यवसायीमाथि चक्कुदेखाएर फिल्मीशैलीमा लुटपाट गरेको घटनाले धरान गर्मायो । फरक/फरक स्थानमा बसेर चटपटे बेच्ने व्यवसायीलाई फिल्मीशैलीमा लुट्न थालेपछि ती व्यवसायीहरु प्रहरीको सरणमा पुगे ।
प्रहरीलाई व्यवसायीहरुले हुलियासहित संयुक्त ठाडो निवेदन दिए । निवेदनपछि लुटपाटमा संलग्नलाई पक्राउ गर्न प्रहरी सक्रिय भयो । उक्त घटना बारे समाचारसमेत प्रकाशित भयो । त्यसपछि चटपटेमाथि लुटिने घटना एकाएक ठप्प भयो । सामान्य हुलियाको आधारमा प्रक्राउ गर्नसमेत प्रहरीलाई केही कठिनाई थियो । तर, पनि प्रहरीले निगरानी र सिभिलमा केही प्रहरीहरु खटाई नै रह्यो । समाचार प्रकाशित भएपछि लुटेरा चनाखो हुने नै भए । लुटेरा भन्दा चनाखो उनको आफन्तजन भइदिए ।
उक्त घटनामा संलग्न व्यक्ति आफ्नो नातेदार भएको आशङ्का गर्दै आफन्तजनले धरानको एक रिहाव सेन्टरमा लगेर राखिदिए, उनले गरेको अपराधलाई छल्नलाई । तर, अपराध किन लुक्थ्यो र भने झै इलाका प्रहरी कार्यालय धरानले लुटेरामा संलग्न धरान(१२ का २४ वर्षीय निकेश थापा मगरलाई धरान(१३ को सञ्जिवनी सुधार केन्द्रको अघिल्तिरबाट पुष ७ गते पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
उनी लागूऔषध प्रयोगकर्तासमेत रहेको प्रहरीले जनाएको छ । उक्त कुरा आफन्तजनले पनि पुष्टी गरेका छन् । घटना भएको समाचार प्रकाशित भएपछि आफन्तजनले नै रिहाव सेन्टरमा लगेर राखिदिएको कुरा थाहा भएको डिएसपी खतिवडाले बताए । ‘समाचार आएपछि बाउले थाहा पाएर रिहाव सेन्टरमा लगेर राखिदिएको रहेछ ।’ डिएसपी खतिवडाले फोनसम्पर्कमा भने ।
मगरले धरान(६ मा चटपटे बेच्दै आएका श्याम चौधरी, सैनिक चोकमा बसेर चटपटे बेच्ने राजेश पोद्दार, कलेज रोडमा चटपटे बेच्ने अर्जुनकुमार दास, छाताचौक र पुरानो बजार आसपास चटपटे बेच्ने सुरज राउत, विजय जैसवाल, जिमी भगतलाई चक्कु देखाएर गल्लामा भएको पैसा लुटपाट गरेका थिए । उनीहरुको साथबाट करिव २५ हजार रुपैया भन्दा माथि लुटपाट गरेको सम्बन्धित व्यवसायीहरुले ब्लाष्टकर्मीलाई बताएका थिए ।
ग्राहक बनेर पुग्ने अनी पेटमा चक्कु राखेर पैसा लुट्ने गरेको व्यवसायीहरुले बताएका थिए । प्रहरी स्रोतका अनुसार ती चटपटे व्यवसायीहरुलाई मुद्दा नहाल्नका लागि लुटेराका आफन्तजनले पैसा फिर्ता गरिदिनेसम्म कुरा भएको बताइन्छ । मगरका पिता राजेश मगरले यसअघि पाँचपटकसम्म रिहावमा राखेको बताए । उनले छोराले त्यस्तो गतिविधि गरेको छ भन्ने आफूलाई थाहा नभएको तर, आफ्नो गाडीलाई प्रहरीले निगरानी गरिरहेको रहेछ भन्ने आफूलाई पछि थाहा भएको बताए । उनले आफूले रिहावमा नराखी भतिजोले लगेर राखिदिएको बताए ।
उनले छोराले गल्ती गरेको स्वीकार गरिसकेको बताए । हालै मगर वैदेशिक रोजगारी अन्तर्गत दुबई बस्दै आइरहेका थिए । केही समय अघि मात्रै उनी छुट्टीमा नेपाल आएको आफन्तले बताए ।
लुटपाटमा उजुरी नआएपछि सार्वजनिक मुद्दा
प्रहरीलाई लुटपाटविरुद्ध ठाडो निवेदन आए पनि मान्छे पक्राउ पछि भने व्यवसायीहरुले थप निवेदन नदिँदा प्रहरीले बाध्य भएर सार्वजनिक मुद्दा दर्ता गर्नु परेको बताएका छन् । इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले लुटपाटविरुद्ध मुद्दा नहालेपछि आफूहरुले बाध्य भएर सार्वजनिक अपराधविरुद्ध मुद्दा दर्ता गर्नु परेको बताए ।
सार्वजनिक अपराधविरुद्धको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने गर्दछ । सार्वजनिक मुद्दामा अभियुक्त चाडै छुट्न सक्ने सम्भावना रहने प्रहरी स्वयम बताउँछन् । ‘पक्राउपछि पीडित व्यवसायीहरु आउनुभएको थियो । तर, बाहिर गएपछि खै के भयो कोही पनि आउनु भएन् ।’ उनले भने, ‘तीनदिनपछि अर्को एकजना आएर उजुरी दिएको छ ।’ उनले सार्वजनिकमा छुट्ने अवस्था आएमा अर्को उजुरी अनुसार जर्वजस्ती चोरीमा मुद्दा चलाइने बताए ।
लुटिएका मध्ये जिमी भगतले आफूहरुलाई पक्राउ गरेपछि पनि उजुरी हाल्नु पर्छ भन्ने थाहा नभएको कारणले उजुरी नहालेको बताए । ‘सुरुकैले हुन्छ भन्ने हामीले सोच्यौं ।’ उनले फोनसम्पर्कमा भने, ‘पक्राउ पछि हाल्नु पर्छ भन्ने थाहा भएन् ।’ त्यस्तै श्याम चौधरीका सालो सुरजकुमार चौधरीलेसमेत उजुरी हाले नहालेको आफूलाई थाहा नभएको र भेनालाई यस विषयमा जानकार हुने बताए ।