-
Home
-
पूर्व
-
अल्ट्रा धावक मीरालाई २८ लाखको सम्मान
अल्ट्रा धावक मीरालाई २८ लाखको सम्मान
शनिश्चरे, मोरङ / नेपालको नाम विश्वमा उनको नामले चिनाउने क्रमको रफतारमा छ । त्यो खुसी र उपलब्धि संगालेकी अल्ट्रा म्याराथुनकी अन्तराष्ट्रिय धावक मीरा राईमा विहीबार अझ महत्वपूर्ण खुसी नेपालमै हात पर्यो ।
उनको पहाडी तथा हिमाली क्षेत्रको अप्ठेरोमा दौडिएर ( अल्ट माउन्ट म्याराथन) किर्तिमान राख्ने दृढ लक्ष्यमा आर्थिक रुपमा सघाएका करातेका मास्टर राष्ट् राईको अगुवाइमा झापाको दमकमा उनलाई गरेको सम्मानमा उनमा ज्यादै ठूलो खुसी छचल्कियो । ‘यो सम्मानले मलाई अहिलेसम्मकै ठूलो खुसी दिलाएको छ । यसको उत्साहबाट नेपालको नाम विश्वमा चम्काइरहने प्रण गर्दछु ।’– २८ लाख रकम सहितको सम्मान ग्रहणपछिको ब्लाष्टसँगको कुराकानीमा उनले खुसी छचल्काइन् ।
राष्ट्यि खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नगद सहित सम्मानपत्रले सम्मान गरे । कराते सिक्दै आएकी मीरामा म्याराथनको झनै राम्रो सम्भावना देखेर म्याराथनतर्फ प्रशिक्षण दिने कराते प्रशिक्षक ध्रुवविक्रम मल्ललाई समेत नगद २ लाख रुपैयाँ सहित सम्मान गरियो ।
राष्ट् राई सहित बेलायतमा बसेर रोजगारी गर्दै बचाएको रकमले नेपालकै सवैभन्दा ठूलो राशीको सम्मान प्रदान गर्दाको क्षणमा बोल्ने वक्ताहरुले भनें सरकारले चाँही यस्ता कुरामा केही गर्न नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे । खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा, राष्ट्यि मानवअधिकार संगठनका केन्द्रीय सचिव केपी सुवेदी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालहरुले विदेशमा रहेका नेपालीले खेलकुद र आफ्नो देशको नाम माथि उकास्न ठूलो प्रयत्न गरेको भन्दै सरकारको चाँही आलोचना गरे ।
सगरमाथा तेक्वान्दो डोजाङ युकेको अगुवाईमा सगरमाथा मल्टि मार्सल आर्ट युके, मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठान झापा, भोजपुर समाज युके, युथ अर्गनाइजेन युके लगायतका ६ वटा संस्थाको अभियानमा २८ लाख रुपैयाँ संकलन गरी उनलाई सम्मान स्वरुप प्रदान गरियो । सो अवसरमा, नारी एकता न्यायिक मञ्च सहितका स्थानीय संघ संस्थाले समेत धावक राईलाई सम्मान गरेका छन् ।
कार्यक्रममा, स्थानीयको ठूलो उत्साह थियो । खेलाडीले करातेका केही खेलहरु प्रस्तुत समेत गरेका थिए ।
भोजपुरको सानोदुम्बा ९ मा विपन्न परिवारमा जन्मिएकी २७ वर्षीया धावक राई नेशनल जियोग्राफि च्यानलको एडभेन्चर्स अफ दी इयर २०१७ का लागि विश्वका दश साहशिक व्यक्तिमा मनोनयनको सूचिमा समेत परेकी छिन् । जसको अन्तिम नतिजा यही जनवरी १६ मा आउने छ । विश्वको ५ साहसिक महिलामा समेत अमेरिकी संस्थाले चुनेको छ ।
पढ्नका लागि घरमा आर्थिक कठिनाई भएपछि वाल्यकालमै भौतारिदै उनी माओवादी लडाकुको सम्पर्कमा पुगिन् । २ वर्ष सिन्धुलीको माओवादी शिविरमा लडाडुका रुपमा बसिन । बाल अवस्थाको भएकाले अयोग्य लडाकु भनेर सरकारले बाहिर्याएपछि साथीको भनाईमा विदेश जाने चक्करमा मलेशियाको भिसा पाएकी थिइन् । तर उनीभित्र रहेको केही गरेर देखाउने साहसिक मनोभावनाले त्यता जान रोक्यो र कराते खेलतिर लागेको कथा सुनाइन् । करातेसँगै भलिबल, फुटबल, टेनिस सहितका खेलमा पोख्त बन्दै गर्दा उनका करातेका गुरु ध्रुवले उनको दौडने क्षमता बुझे र त्यतैतर्फ हौस्याए, प्रशिक्षण दिए । नभन्दै काठमाडौंमा सन् ०१३ मा पहिलो पटक ५० किलोमिटर दौडमा विजेता बनेपछि अल्ट माउन्टेन म्याराथनका लागि मुस्ताङ पुगिन् । त्यहाँ सन् ०१४ मा १ सय ९२ किलोमिटर दौड २२ घण्टा ३४ मिनेटमा पुरा गरी पुरुषहरुसँग छैटौं तथा महिलामा प्रथम बनिन् ।
त्यसपछिको उत्साहले विश्वस्तरमा दौडमा आफुलाई तयार पारिन र दौडाइन् । इटलीमा ५७ र ८३ किलोमिटर, फ्रान्समा ८० किलोमिटर, हङकङमा ५० किलोमिटर दौडको विजेता बन्न पुगेपछि उनको उचाई अन्तराष्ट्यि धावकका रुपमा फैलियो ।
नर्वेमा १ सय १० किलोमिटरमा दोस्रो भइन् । यी सवै सफलता उनले ०१५ मा हासिल गरेकी हुन् । त्यस क्रममा खुट्टाको नशा समेत चुडिन पुग्यो । इटलीमा ०१६ मा अप्रेशन गरेर पुनः दौड जीवनलाई लगातार अगाडि बढाइरहेकी छन् । उनी अष्ट म्याराथनमा हाल विश्वको दोस्रो महिलाका रुपमा गनिएकी छिन् ।