[caption id="attachment_23124" align="alignnone" width="728"]dog फाइल तस्विर[/caption] धरान /  दुईवर्षदेखि छोराजत्तिकै माया गरेर घरमा उन्नतजातको कुकुर पालेका धरान(१५ का देउमान लिम्बूको एकसाता अघि एकाएक कुकुर बिरामी भइदियो । राम्रो उपचार केन्द्र नहुँदा उनले कुकुर गुमाए । कुकुर मरेपछि उनी शोकमा डुबे । लिम्बू मात्रै हैन, अहिले कुकुर शौखिनहरुको समस्या यही रहेको पेट्स होमका सञ्चालक शंखुकर्ण श्रेष्ठ बताउँछन् । लिम्बू त प्रतिनिधि मात्रै हुन् कुकुर मर्यो भनेर आइपुग्ने । उनीजस्ता धेरैले श्रेष्ठलाई गुनासो गर्न आइपुग्छन् । ‘राम्रो उपचार गर्ने केन्द्र नभएकाले कुकुर गुमाउनु पर्यो ।’ लिम्बूले ब्लाष्टकर्मीसामू दुखेसो पोखे । पछिल्लो समय सहरबजारमा कुकुर पाल्नेहरुको संख्या बढोत्तरी भइरहेको छ । तर, स्थानीय स्तरमा राम्रो उपचारको अभाव उत्तिकै छ । ‘पछिल्लो समय धरानमा कुकुर पाल्नेहरुको संख्या बढिरहेको छ ।’ श्रेष्ठ भन्छन् । सरकारले पशु सेवा कार्यालयको लागि एक जिल्ला बराबर एकजना मात्रै पशु डाक्टर दिने गरेको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख शिवनाथ महतोका अनुसार एक जिल्ला बराबर एक पशु चिकित्सक हुने गरेको छ । सेवा केन्द्रहरुमा प्राविधिकहरु मात्रै हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालयको मातहतमा सुनसरीमा १६ वटा सेवाकेन्द्रहरु छन् । धरानमा पाँचकन्या र धरान गरी दुईवटा सेवाकेन्द्रहरु छन् । जहाँ प्राविधिकहरु मात्रै बस्छन् । उनीहरुलाई कुकुरको सेवा दिने बारेमा ज्ञान नहुने गरेको प्रमुख महतो बताउँछन् । ‘कुकुरको उपचार बारे चिकित्सक बाहेक अन्यलाई थाहा हुँदैन् ।’ उनले फोनसम्पर्कमा भने, ‘राम्रो सेवा लिनको लागि काठमाडौं नै जानु पर्छ ।’ पशुको हकमा कुकुर केही संवेदनशील प्राणी भएकाले उसको उपचारमा केही कठिनाई हुने गरेको प्रमुख महतोले बताए । लिम्बूले पनि कुकुरको राम्रो उपचार गर्न काठमाडौं नै जानु पर्ने बाध्यता रहेको बताए । ‘यता उपचार गर्ने ठाउँै रहेनछ, काठमाडौं नै लानु पर्ने रै’छ ।’ उनले भने । कुकुर बिक्री केन्द्रहरु धरानमा छन् । तर, उपचार गर्ने सक्षम चिकित्सकहरु छैनन् । जसका कारण कुकुर शौखिनहरुको लागि समस्या बन्दै गएको छ । धरानमा पोखराको हार्ट नेपाल नामक संस्थाले वार्षिक रुपमा एकपटक ककुरको बन्ध्याकरणलगायतको सेवा दिने गरेको छ । तर, त्यो उन्नत जातको हकमा भन्दा पनि छाडा कुकुरहरुको हकमा बढी प्रयोगमा आइरहेको छ । उन्नत जातका कुकुरहरु भन्दा बढी छाडा कुकुरहरुलाई लक्षित गरी त्यो कार्यक्रम गरिने गरिएको सामाजिक विकास शाखाका प्रमुख सुनिल नेपालले बताए । ‘उन्नत जातको कुकुरहरु एकदमै कम आएँ ।’ उनले भने, ‘हाम्रो लक्ष्य नै छाडा कुकुरहरुको बन्ध्याकरण हो ।’ धरानमा हुने वार्षिक बन्ध्याकरणमा ढेडदेखि २ सय कुकुरहरुलाई गरिने गरिएको छ । धरानमा उन्नत जातको कुकुर यति नै छन् भन्ने आधिकारिक तथ्याङ्क छैन् । पेट्स होमका सञ्चालक श्रेष्ठका अनुसार ५ सयको हाराहारीमा उन्नत जातको कुकुर हुन सक्ने बताए । पशु सेवा कार्यालय सुनसरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा १८ हजार ८ सय ५६ वटा कुकुरहरु रहेका थिए भने आव २०७२÷०७३ मा त्यो संख्या बढेर १९ हजार ८२ पुगेको छ । कुकुरको वार्षिक वृद्धिदर एकदशमलव १९ प्रतिशत रहेको कार्यालयका कर्मचारी केशव श्रेष्ठले बताए । उनले भने, ‘यो तथ्याङ्क घरमा पालेको र छाडा दुबै हुन सक्छ ।’ पछिल्लो तीनवर्षमा पेट्स होमले २ सय ५० देखि तीनसय वटा उन्नत जातको कुकुर बिक्री गरेको छ । तर, राम्रो उपचारको अभाव रहेको उनी स्वयम् बताउँछन् । भन्छन्, ‘यहाँ राम्रो उपचार गर्नेहरुको अभाव छ । प्राविधिकहरुले नै उपचार गरिरहेका छन् । जसका कारण कतिपयको कुकुरहरु म¥यो भन्दै मकहाँ गुनासो आइपुग्छ ।’ उनलाई पनि कुकुर किन्नेहरु मध्ये ५० प्रतिशतले क्लिनिक पनि सञ्चालन गर्नको लागि सुझाव दिने गरेका छन् । उनले ‘कुकुर किन्न त रहर लाग्छ नी भाई, राम्रो उपचार छैन् । कुकुर मर्यो भने के गर्ने ?’ भन्दै आफूसँग गुनासो गर्नेहरु धेरै भएको बताए ।