काठमाडौं/ सरकारले डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ओभरटाइम बापतको भक्ता दिने भएको छ । बीहिबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयले पेस गरेको निर्देशिका पारित गर्दै ओभरटाइमबापत भत्ता दिने व्यवस्था गरेको हो। स्वास्थ्य मन्त्रालयले पेस गरेको ‘नेपाल सरकारको स्वामित्वका स्वास्थ्य संस्थामा आबद्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य रुपमा पालना गर्नुपर्ने सेवा शर्तहरु सम्बन्धमा जारी निर्देशन, २०७३’ पारित भएको हो।
स्वास्थ्यमन्त्री गगन थापाका अनुसार सरकारले तोकेको बिहान १० देखि ५ बजेसम्मको कार्यालय समयलाई परिमार्जन गरी नयाँ व्यवस्था गरिएको छ । उनका अनुसार स्वास्थ्य विशेष एवं संवेदनशील क्षेत्र भएको हुँदा बिहान ८ बजेदेखि ५ बजेसम्म खुला राखी सेवा प्रवाहको व्यवस्था मिलाउन सरकारले नयाँ नियम ल्याएको हो। निर्देशिका अनुसार सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म नियमित समय र दिउँसो ३ बजेदेखि कम्तिमा साँझ ५ बजेसम्म विस्तारित स्वास्थ्य सेवा वा ओभरटाइम सेवा सञ्चालन गर्नुपर्नेछ।
निर्देशिका अनुसार सरकारी स्वास्थ्य संस्थामा कुन समयमा के गर्ने?विहान ८ देखि ९ सम्मः बैठक तथा छलफल।
विहान ९ देखि १० सम्मः बेडसाइड डिस्कसन, शल्यक्रियाका लागि टिम तयार, भिडियो एक्सरे, इन्डोस्कोपी लगायतका आवश्यकता अनुसारको क्रियाकलाप।
विहान १० देखि १२ सम्मः ओपिडी, शल्यक्रिया, इन्डोर राउन्ड, इमरजेन्सी राउन्ड तथा आवश्यकता अनुसार क्रियाकपाल।
दिउँसो १२ देखि १२ः४५ सम्मः खाना समय।
दिउँसो १२ः४५ देखि ३ सम्मः पुनः ओपिडी, शल्यक्रिया, इन्डोर राउन्ड, इमरजेन्सी राउन्ड तथा आवश्यकता अनुसार क्रियाकपाल।
दिउँसो ३ देखि साँझ ५ सम्मः ओभरटाइम भक्ता पाउने गरी अतिरिक्त सेवा अथवा विस्तारित सेवा निर्देशिका, २०७० अनुसरण गरी विस्तारित स्वास्थ्य सेवा लागू गर्ने।
यो नियमअनुसार बर्थिङ सेन्टर सञ्चालन नभएका स्वास्थ्य चौकी र बिरामी भर्ना गर्ने व्यवस्था नभएका प्राथमिक स्वास्थ्य केन्द्रले अनिवार्य रुपमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्नुपर्नेछ।
बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्य चौकी एवं बिरामी भर्ना गर्ने व्यवस्था भएका प्राथमिक स्वास्थ्य केन्द्रहरुले माथि उल्लेख भए बमोजिम बिहान १० देखि बेलुका ५ बजे सम्मका खुला रहनुका अतिरिक्त अन ड्युटी तथा अन कलजस्ता व्यवस्थाहरु अवलम्बन गरी थप समय सेवा प्रवाह गर्नुपर्नेछ।
अस्पतालका सम्बन्धित विभागमा तीन जनासम्म चिकित्सक रहेको अस्पतालमा सबै दिन सबै विभागबाट दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म बिस्तारित वा ओभरटाइम सेवा सञ्चालन गर्नुपर्नेछ । सम्बन्धित विभागमा ३ जना भन्दा कम चिकित्सक रहेका अस्पतालमा ५ बजेसम्म अस्पताल खुला रहने सुनिश्चित गरी प्रत्येक विभागले हप्तामा कम्तिमा दुई दिन बिस्तारित वा ओभरटाइम मार्फत सेवा प्रवाह गर्नुपर्नेछ।
अनकल ड्युटी गर्नुपर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले ड्युटीमा रहेको दिन आधा दिन बराबरको ओभरटाइम भत्ता पाउनेछन्। तर एक जना मात्र चिकित्सक, नर्स वा स्वास्थ्यकर्मी रही सेवा सञ्चालन हुने स्वास्थ्य संस्थामा ओभरटाइम निजले प्राप्त गर्ने तलब स्केलको ७५ प्रतिशतसम्म हुनेछ।
स्वास्थ्य संस्था प्रमुखले कल ड्युटी गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा ड्युटी रोस्टर स्वीकृत गराई लागू गर्नुपर्नेछ। जालसाझी गरी वा नक्कली विवरण पेश गरी अतिरिक्त सुविधा लिएको पाइएमा सम्बन्धित कर्मचारीलाई भुक्तान भएको सुबिधाको दोब्बर रकम जरिवाना गरी कानुन बमोजिम कारबाही हुनेछ। यस्तै गतल विवरण प्रमाणित गर्ने अधिकारीबाट समेत सम्बन्धित कर्मचारीलाई भुक्तान भएको रकम असुल गरी कारबाही गरिनेछ।
सबै अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टले साप्ताहिक चक्रीय आधारमा ड्युटी अफिसर तोक्नुपर्नेछ। मेडिकल सुपेरिटेन्डेन्ट सहित सबै स्टाफहरुले समेत कार्यालय समयपछि वा अत्यावश्यक कामका लागि अस्पताल बाहिर जानुपर्ने अवस्थामा ड्युटी अफिसरलाई रिपोर्ट गर्नुपर्ने हुन्छ।
स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा अवरुद्ध नहुने गरी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीले नियमअनुसार पाउने विदाको उपभोग भने गर्न सक्नेछन्। साथै प्रचलित नियम अनुसार पाउने सट्टा बिदा उपभोग वा व्यवस्थापन गर्न यस निर्देशनले बाधा पार्ने छैन।
चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी काज वा बिदामा बसेमा उक्त अवधीमा ओभरटाइम सुबिधा पाइनेछैन।
'नेपाल सरकारको स्वामित्वका स्वास्थ्य संस्थामा आबद्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य रुपमा पालना गर्नुपर्ने सेवा शर्तहरु सम्बन्धमा जारी निर्देशन, २०७३' का अन्य व्यवस्था यस्ता छन्:
स्वास्थ्य मन्त्रालय मातहतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी लगायतका संस्था र संस्थामा आबद्ध कर्मचारी,चिकित्सक,स्वस्थाकर्मी,नर्सहरुले स्वास्थ्य सेवा ऐन, नियमावली एवं प्रचलित कानूनमा उल्लेख भए बमोजिम अनिवार्य रुपमा पालना गर्नुपर्ने सेवा शर्तहरु नियमित रुपमा कार्यान्वयन गर्ने तथा नियमित कार्यालय समय भन्दा अतरिक्त सेवा गर्नुपर्ने चिकित्सक, नर्स एवं स्वास्थ्यकर्मालाई अतिरिक्त सेवा सुबिधा (Overtime Allowance) प्रदान गरी स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय, पहुँचयोग्य एवं सरल बनाउने व्यवस्थाको कडाईका साथ पालना गर्न/गराउन वान्छनीय भएकोले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट यो निर्देशन जारी गरिएको छ । ।
१. समय पालना,Duty Plan, तथा अतिरिक्त समय सुबिधा(Overtime Allowance) को सम्बन्धमा देहाय बमोजिमका कानुनीव्यवस्थाको अनुसरण गर्नुपर्नेछ ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५२ समय पालन र नियमितता अन्तर्गत कर्मचारीले नेपाल सरकारबाट निर्धारित समयमा नियमित रुपले कार्यालयमा हाजिर हुनु पर्दछ र बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनुहुँदैन भन्ने कानुनी व्यवस्था रहेकोछ ।
यसैगरी, नेपाल स्वास्थ्य सेवा नियमावली,२०६३ को नियम ४७ मा ऐनको दफा ५२ को अधिनमा रही कर्मचारीले नेपाल सरकारद्वारा सरकारी कामकाजको निमित्त निर्धारित गरिएको कार्यालय समयमा नियमितरुपले आफ्नो कार्यालयमा हाजिर हुनुपर्ने छ भन्ने बाध्यात्मक कानुनी ब्यवस्था गरेकोछ ।
त्यसै गरी निजामती सेवा ऐन २०४९ को दफा ४१ एवं सोही ऐनको नियमावलीको नियम ५५मा समेत समय पालना सम्बन्धी स्पष्ट कानूनी व्यवस्था रहेकोछ ।
उपरोक्त व्यवस्था बमोजिम हाल नेपाल सरकारबाट विहान १०:०० बजे देखि बेलुका ५:०० बजेसम्म कार्यालय समय निर्धारण भएकोछ ।
उल्लेखित ब्यवस्थालाई आधार लिंदै स्वास्थ्य क्षेत्र विशेष एवं संवेदनशील क्षेत्र भएको हुँदा स्वास्थ्य संस्था विहान ८ बजेदेखि ५ बजेसम्म खुला राखी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्नेछ । जसमा नियमित सेवा विहान ८ बजेदेखि दिउसो ३ बजेसम्म तोकिएको छ । स्वास्थ्य संस्थाबाट दिउसो ३ बजेदेखि कम्तिमा ५ बजेसम्म विस्तारित स्वास्थ्य सेवा वा अतिरिक्त समय (Overtime) सेवा सञ्चालन गर्नुपर्नेछ ।
स्वास्थ्य संस्थाहरुले देहाय बमोजिमको समयमा Duty Plan बनाई कार्यान्वयन गर्नुपर्नेछ ।
स्वास्थ्य संस्थाको नियमित कार्यालय समय विहान ८ बजे देखि दिउसो ३ बजेसम्म हुनेगरी देहाय बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्नेछ ।
विहान ८-९ सम्म सञ्चालन गर्ने कृयाकलापहरु: Review of Yesterday Activities,Hand overtake over of Cases, Case discussion Inpatient cases, Case discussion Emergency cases, CME Activities, OPD Data Discussion, Journal Scan, Research activities discussion.
विहान ९ देखि १० सम्म सञ्चालन गर्ने कृयाकलापहरु: Grand rounds and bed side discussion,OT Team Mobilization and Operations,Procedures,USG,Endoscopic services and so on.
(माथि उल्लेख भएका कृयाकलापहरुलाई आवश्यकता अनुसार थप गर्न तथा समय हेरफेर गरी व्यवस्थापन गर्न सकिनेछ )
विहान १० देखि १२ सम्म सञ्चालन गर्ने कृयाकलापहरु: OPD, OT, Indoor Round, Emergency Round, आवश्यकता अनुसार कृयाकपालपहरु थप गर्न सकिनेछ।
दिउसो १२ देखि १२:४५ सम्म सञ्चालन गर्ने कृयाकलापहरु: खाना समय (Break)
दिउसो १२:४५ देखि ३ सम्म सञ्चालन गर्ने कृयाकलापहरु:Continued... OPD, OT, Indoor Round, Emergency Round, आवश्यकता अनुसार कृयाकलापहरु थप गर्न सकिनेछ ।
दिउसो ३ देखि ५ सम्म सञ्चालन गर्ने कृयाकलापहरु:अतिरिक्त सुविधा (Over time Allowance) पाउने गरी अतिरिक्त सेवा सञ्चालन गर्नुपर्नेछ ।
विस्तारित सेवा निर्देशिका, २०७० अनुसरण गरी विस्तारित स्वास्थ्य सेवा (Extended Health Services: EHS) लागू गर्ने ।
Birthing Center सञ्चालन नभएका स्वास्थ्य चौकी (Health Post) एवं Inpatient Department सञ्चालन नभएका प्राथमिक स्वास्थ्य केन्द्र (Primary Heatlh Center) अनिवार्य रुपमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रही सेवा प्रवाह गर्नुपर्नेछ ।
Birthing Center सञ्चालन भएका स्वास्थ्य चौकी एवं Inpatient Department सञ्चालन भएका प्राथमिक स्वास्थ्य केन्द्रहरुले माथि उळ्लेख भए बमोजिम विहान १० देखि बेलुका ५ बजे सम्मका खुला रहनुका अतिरिक्त On Duty तथा On Call जस्ता व्यवस्थाहरु अवलम्बन गरी थप समय सेवा प्रवाह गर्नुपर्नेछ ।
अस्पतालका सम्बन्धित विभागमा तीन (३) जनासम्म चिकित्सक रहेको अस्पतालमा सबै दिन सबै विभागबाट दिउसो ३ बजेदेखि बेलुका ५ बजेसम्म EHSवा Overtime सेवा सञ्चालन गर्नुपर्नेछ । सम्बन्धित विभागमा ३ जना भन्दा कम चिकित्सक रहेका अस्पतालमा ५ बजेसम्म अस्पताल खुला रहने सुनिश्चित गरी प्रत्येक विभाग हप्तामा कम्तिमा २ दिन EHSवा Overtime सेवा मार्फत सेवा प्रवाह गर्नुपर्नेछ।
Call Dutyगर्नुपर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले प्रत्येकOn Call Duty मा रहेको दिन देहायको सुविधा पाउनेछ:-
प्रत्येक On Call Duty भएको को दिनलाई आधा (१/२) दिन बराबरको अतिरिक्त समय सुविधा (Overtime Allowance) प्रदान गर्न सकिनेछ ।
On Call Duty Call Attend
अतिरिक्त समय सुबिधा प्रदान गर्दा देहाय बमोजिमको सूत्र बमोजिम रकम निर्धारण गर्नुपर्नेछ ।
अतिरिक्त समय भत्ता रकम प्रति घण्टा = सम्बन्धित पदको तलब स्केललाई २०० ले भागा गरेर आउने रकम।
यसरी प्रदान गरिने अतिरिक्त समय सुविधा (Overtime Allowance) अधिकतम भत्ता निजले प्राप्त गर्ने तलबको ५०% भन्दा बढी हुनेछैन ।
माथि जुनसुकै कुरा उल्लेख भएको भएतापनि एक जना मात्र चिकित्सक, नर्स वा स्वास्थ्यकर्मी मात्र रही सेवा सञ्चालन हुने स्वास्थ्य संस्थामा अतिरिक्त समय सुविधा (Overtime Allowance) निजले प्राप्त गर्ने तलब स्केलको ७५% सम्म हुन सक्नेछ ।
कार्यालय/स्वास्थ्य संस्था प्रमुखले Call Duty गर्ने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा Duty Roster स्वीकृत गराई लागू गर्नुपर्नेछ । अतिरिक्त काम गरेको दुरुस्त अभिलेख अनुसूची (१) बमोजिमको ढाँचामा भरी कार्यालय/संस्था प्रमुखबाट प्रमाणित गराई राख्नुपर्नेछ ।
जालसाझी गरी वा नक्कली विवरण पेश गरी अतिरिक्त सुविधा लिएको पाइएमा सम्बन्धित कर्मचारीलाई भुक्तान भएको सुबिधाको दोब्बर रकम जरिवाना गरी कानून बमोजिम कारवाहि हुनेछ । त्यसैगरी यसरी गतल विवरण प्रमाणित गर्ने कार्यालय प्रमुख/अधिकारीबाट समेत सम्बन्धित कर्मचारीलाई भुक्तान भएको रकम असूल उपर गरी कानून बमोजिम कारवाहि हुनेछ ।
सबै अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टले साप्ताहिक चक्रीय आधार (Rotation Basis) मा Duty Officer तोक्नुपर्नेछ । मेडिकल सुपेरिटेन्डेन्ट सहित सबै स्टाफहरुले समेत कार्यालय समय पछि वा अत्यावश्यक कामको लागि अस्पताल बाहिर जानुपर्ने अवस्थामा Duty Officer लाई रिपोर्ट गरी बाहिर जानुपर्नेछ ।
स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा अवरुद्ध नहुने गरीचिकित्सक, नर्स, स्वास्थ्यकर्मी वा अन्य कर्मचारी नियमानुसार पाउने विदाको उपभोग गर्न सक्नेछन् । साथै प्रचलित नियमानुसार पाउने सट्टा बिदा उपभोग वा व्यवस्थापन गर्न यस निर्देशनले बाधा पारेको मानिने छैन ।
चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी काज वा बिदामा बसेमा उक्त अबधीमा अतिरिक्त समय सुबिधा पाउनेछैन।
२. काज वा विदामा बस्दा अनिवार्यरुपमा जानकारी गराउने तथा बिदा/काजको अभिलेख राख्नुपर्नेछ।
चिकित्सक, नर्स, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीले नियमानुसार काज/विदा स्वीकृत गर्ने अधिकारीबाट काज/विदा स्वीकृत गरी सो को जानकारी अनिवार्य रुपमा देहाय बमोजिम गराउनुपर्नेछ ।
स्वास्थ्य चौकीमा कार्यरत भए सम्बन्धित जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयमा जानकारी गराउनुपर्नेछ ।
प्राथमिक स्वास्थ्य केन्द्र (Primary Health Center) मा कार्यरत भए सम्बन्धित क्षेत्रीय स्वास्थ्य निर्देशनालय जानकारी गराउनु पर्नेछ ।
जिल्ला अस्पतालमा कार्यरत भए स्वास्थ्य सेवा विभागमा जानकारी गराउनुपर्नेछ ।
अञ्चल, उपक्षेत्रीय/क्षेत्रीय, केन्द्रीय अस्पतालमा कार्यरत भए सो को जानकारी चिकित्सा सेवा महाशाखा, स्वास्थ्य मन्त्रालयमा जानकारी गराउनुपर्नेछ ।
जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभाग एवं मन्त्रालयले काज/विदाको अभिलेख राख्दा अनुसूची (२) बमोजिमको ढाँचामा दुरुस्त गरी राख्नुपर्नेछ ।
३. स्वीकृति नलिई कम्पनीको स्थापना र संचालन, व्यापार व्यवसाय तथा निजी प्राक्टिस गर्न नहुने सम्बन्धमा
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९ मा कम्पनीको स्थापना र संचालन, व्यापार व्यवसाय तथा निजी प्राक्टिस गर्न नहुने भन्ने व्यहोरा उल्लेख छ। सोही दफाको: उपदफा (१) मा कर्मचारीले नेपाल सरकारको पूर्वस्वीकृति नलिई देहायको काम गर्नु हुँदैन भन्ने कुरा उल्लेख छ ।
क) कुनै बैंक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा संचालनको काममा भाग लिन वा स्वास्थ्य क्लिनिक वा निजी अस्पताल वा नर्सिङ होम खोल्न, संचालन गर्न, वा त्यस्तो स्वास्थ्य क्लिनिक वा निजी अस्पतालमा काम गर्न,
ख) प्रचलित कानून बमोजिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न,
ग) अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न ।
उपदफा (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले नेपाल सरकारको नीति विपरीत नहुने र आफूलाई तोकिएको काममा बाधा नपर्ने गरी साहित्यिक, वैज्ञानिक वा कलात्मक कार्य गर्न वा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नेछ ।
३.२ बुँदा ३.१ मा उल्लेखित व्यवस्था बमोजिम कार्यालय समय बाहिरको समयमा आफू कार्यरत स्वास्थ्य संस्थाको काममा बाधा नपुग्ने गरी निजी प्राक्टिस गर्न ईच्छुक चिकित्सक तथा स्वास्थ्यकर्मीले २०७३ फाल्गुन मसान्त भित्र नेपाल सरकारको स्वीकृति लिन स्वास्थ्य मन्त्रालयमा निवेदन दिई सक्नुपर्नेछ । यस अघि यस्तो स्वीकृति प्राप्त गरेका वा नगरेका सबैले सोही अबधिभित्र निवेदन दिनुपर्नेछ । निवेदन पठाउँदा आवश्यक कागजात संलग्न गरी मन्त्रालयको ईमेल [email protected]मा पठाउनसकिनेछ ।
३.३ सबै निजी स्वास्थ्य संस्थाहरुले सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा लगाउँदा यस मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्नेछ । स्वीकृति नलिई सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा लगाएको पाइएमा त्यस्ता संस्थाहरुको अनुमति नविकरण नहुने र कानून बमोजिम अन्य कारवाहि समेत हुनेछ ।
४. स्वास्थ्य संस्था/अस्पतालको अनिवार्य रुपमा पालना गर्नुपर्ने अन्य व्यवस्थाहरुको सम्बन्धमा देहाय बमोजमि हुनेछ ।४.१ सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोशाक/एप्रोन तथा परिचय पत्र लगाएर कार्य गर्नुपर्नेछ।
४.२ OPDको टिकट काउन्टर अगाडी सबैले देख्ने गरी सम्पूर्ण डाक्टरहरुको OPDसेवा दिने दिन र समय स्पष्ट रुपमा देखिने गरी राख्नुपर्नेछ ।
४.३ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ (दफा ५२-६७) मा उल्लेखित आचरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्दै विरामी तथा कुरुवाहरुलाई शिष्ट नम्र तथा उत्तरदायी व्यवहार गर्ने कुराको सुनिश्चित गर्नुपर्नेछ ।
४.४ अस्पतालमा लाईन (Queue) व्यवस्थापन गर्न Digital Queue management System अबलम्बन गर्नुपर्नेछ ।
४.५ अस्पताल परिसर, ट्वाईलेट, खानेपानीको धाराको पूर्ण सरसफाईको व्यवस्था मिलाउनुपर्नेछ ।
सम्बन्धित स्वास्थ्य संस्थाको सेवा प्रवाह सम्बन्धमा स्थानीय सेवाग्राहिको कुनै गुनासो भएमा जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालयमा गुनासो दर्ता गर्न सकिनेछ। गुनासो दर्ता गर्नको लागि उल्लेखित निकायले गुनासो सुन्ने अधिकारीको नाम र फोन नं. Website मार्फत वा अन्य माध्यमबाट सार्वजनिक गर्नुपर्नेछ ।
उपरोक्त बमोजिमका व्यवस्थाहरु सबै स्वास्थ्य संस्थाहरु बाट कार्यान्वयन गर्नुपर्नेछ । अन्यथा भएमा प्रचलित कानून बमोजिम कारवाहि हुनेछ ।