झापा / झापा शान्तिनगरका झविन्द्र भट्टराई पुरुष हुन्। तर, उनको आवाज भने केटीको झैँ थियो। बाल्यकालमा बोली फुटेदेखि २६ वर्षको उमेरसम्म उनी केटीको झैँ आवाज लिएर बसे। उनको बोली सुनेर धेरैले जिस्काए। कत्तिले ‘केटा भएर पनि केटीको स्वर’ भन्दै उल्याए। साथीभाइसँग खेल्दा होस् वा विद्यालयमा पढ्दा उनको बोलीलाई लिएर जिस्काउने मात्र हुन्थे। तर, उनलाई माया गर्ने आफन्त पनि धेरै थिए।

आवाज केटीको झैँ भएकै कारण उनले धेरै ठाँउमा जागिर पाएनन्। जागिरका लागि निवेदन दिँदा कागजपत्र हेरेर खुसी भएकाहरु अन्तर्वार्ताका क्रममा बोली सुनेपछि बोलाउँदैन थिए। उनको दुःख यत्तिसम्म थियो कि नयाँ मासिनहरु बोल्ने क्रममा सुरुमै फिस्स हाँसिदिन्थे। भन्छन्, ‘कुराकानीको सुरुमै नाम सोधिन्थो अनि म नाम भन्थेँ, तर मेरो बोली सुन्ने बित्तिकै उनीहरु फिस्स हाँसिहाल्थे। त्यसपछि मलाई असैह्य हीनताबोध हुन्थ्यो।’ आवाजकै कारण उनको ‘कन्फिडेन्स लेभल’ घटेर झन्डै शून्यमा आइसकेको थियो। तर अहिले उनको बोली फेरिएको छ। उनले पुरुषकै स्वर पाउन २६ वर्ष कुरे। पुरुषकै स्वर आएपछि उनको कन्फिडेन्स लेभल बढिसकेको छ। जीवनमा केही नयाँ र ठूलो गर्ने हिम्मत बढेको छ।

उनलाई पुरुषको आवाज फर्काउने काम सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालका चिकित्सकहरुको टिमले गरेको हो। दुई वर्षअघि उनको घाँटीको सफल शल्यक्रियापछि उनले पुरुषकै आवाज पाउन सकेका हुन्। अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा. तोरण केसी र डा. सुजनसिंह क्षेत्रीको टिमले उनको शल्यक्रिया गरेका हुन्। झविन्द्र केएमसी अस्पतालको क्यान्टिनमा काम गर्थे। एकदिन विभागीय प्रमुख डा. केसीले झविन्द्रको आवाज सुने र तुरुन्तै भने, ‘झविन्द्र तिम्रो आवज केटाको झँै बनाउन मिल्छ। म उपचार गरिदिन्छु,’ झविन्द्रले दुई वर्षअघिको कुरा सम्झँदै भने, ‘सुरुमा त मलाई होइन जस्तो लागेको थियो। तर पछि उहाँले समस्याबारे विस्तृत रुपमा बताएपछि उपचार गर्न तयार भएँ।’ उपचार गर्नुअघि झविन्द्र निकै डराएका थिए। मनमा अनेकथरि कुरा खेल्थे। उनले सम्झिए, ‘भएको आवज पनि गुम्छ कि वा विकृत आवाज पो आउने हो कि भन्ने डरले सताउँथ्यो।’ तर, उनको उपचार सम्भव भयो।

जब पहिलो पटक केटाको आवाज आयो

डा. तोरण, डा. सुजनसिंह लगायतको टिमले झविन्द्रको उपचार ०७१ माघ २७ गते गरेका हुन्। करिब दुई घण्टाको शल्यक्रियापछि झविन्द्रलाई पोस्टअप वार्डमा ल्याइयो। त्यति नै बेला डा. तोरणले झविन्द्रलाई बोलाए। झविन्द्रको मुखबाट आवाज निस्कियो ‘हजुर’। खुसीको सीमा नै रहेन। किनकि झविन्द्रको मुखबाट पहिलो पटक केटाको आवज निस्किएको थियो।

डा. तोरण भन्छन्, ‘आफ्नो आवाज सुनेपछि झविन्द्रको अनुहारमा खुसीको चमक देखियो।’ त्यसपछि डा. तोरणले झविन्द्रलाई केही दिन ‘भोइस रेस्ट’ (कम बोल्न) सुझाएर बाहिर निस्के।

डा. तोरणको सल्लाह अनुसार झविन्द्रले पनि केही दिन कम बोले। अस्पतालमा झविन्द्रसँग उनका भाइ थिए। भाइले सबैतिर खबर गरे ‘दाइको आवज केटाको जस्तै भयो।’ उनी भाइसँग केही कुरा गर्थे। त्यसपछि उनलाई क्रमशः आफन्त, साथीभाइले फोन गर्न थाले। फोनमा सबैले बोली सुनेपछि अचम्म मान्थे। कतिपयले त नयाँ आवज चिन्न नसक्दा झविन्द्रलाई दिनुहोस् न समेत भने।

डा. तोरणका अनुसार उपचारअघि झविन्द्र मानिसहरुसँग धेरै नबोन्ने, पछाडि बस्ने, नहाँसी बस्ने गर्थे। ‘एक हिसाबले उनी डिप्रेसनमा नै पुगेको झैँ भएको थियो,’ उनले भने, ‘तर अहिले उनी निकै खुसी छन्।’

शिक्षक बन्ने योजना

स्नातकोत्तर अध्ययन गरिसकेका झविन्द्रलाई सानैदेखि शिक्षक बन्ने इच्छा थियो। तर पढाउनका लागि उनलाई आवजले धोका दियो। विद्यार्थीले के सोच्लान, कसरी बुझाउनु, जिस्काउने हुन् कि भन्ने भयले उनले आफ्नो इच्छालाई मनभित्रै दबाएर राखेका थिए। तर, अब उनी आफ्नो इच्छा पूरा गर्ने सोचमा छन्। भन्छन्, ‘अब त मजाले केटाको स्वरमा बोल्न सक्छु। गाँउमा गएर पढाउने योजना छ।’ शिक्षकका लागि चाहिने योग्यता पूरा गर्न उनले शिक्षा विषय लिएर पढ्न थालिसकेका छन्।

आफ्नो समस्या ठिक भएपछि झबिन्द्र बोलीको समस्या भएकालाई पनि उपचार गर्न सुझाउँछन् । ‘यो समस्याका बारेमा धेरैलाई जानकारी नहुँदा विगतमा मैले झैँ धेरैले दुःख झेल्नु परिरहेको छ,’ उनले भने, ‘त्यसकारण समयमा नै उपचारमा आएर समस्या समाधान गर्न आग्रह गर्दछु ।’

के हो झविन्द्रको समस्या ? कसरी हुन्छ उपचार ?

डा. तोरण केसीका अनुसार झविन्द्रजस्तै केटा भएर केटी जस्तो बोली हुने धेरै नेपाली छन्। यस्तै केटी भएर केटाको जस्तो आवाज हुनेहरु पनि धेरै छन्। यस्तो समस्या भएका केटा केटी दुवैको उपचार सम्भव छ। चिकित्सकीय भाषामा केटाको आवाज केटीको जस्तो हुनुलाई पिबोरफोनिया र केटीको आवाज केटाको जस्तो हुनुलाई एन्ड्रोफोनिया भनिन्छ।

‘मानिसहरुमा यस्तो समस्या दुई प्रमुख कारणले हुन्छ। एउटा घाँटीको स्वरबाहिनी नलीमा विभिन्न रोग, ट्युमर तथा दुर्घटनाका कारण नसा काटिने, नसामा प्यारालाइसिस हुने जस्तो समस्याले हुन्छ’ उनले थपे, ‘अर्को भनेको झविन्द्रको झैँ उमेर बढ्दै जाँदा बच्चाबाट किशोर हुने क्रममा आवाज परिवर्तन नभएर हुन्छ। यी दुवैमा शल्यक्रिया गरेर बोली सुधार्ने काम हुन्छ।’

उनका अनुसार सामान्यतया बच्चा बेलामा केटा र केटीहरुको आवाज उस्तै हुन्छ। केटीहरु बढ्दै जाँदा उनीहरुको आवाज हर्मोनको कारणले किशोर र युवती हुँदा पनि उस्तै खालको सानो र नरम हुन्छ। केटाको आवाज चाँहि १३–१४ वर्षमा विस्तारै मोटो हुँदै जान्छ। तर, स्वरनलीको वृद्धि राम्रोसँग नहुँदा, भाइरल तथा विभिन्न कारणले स्वरनली प्यारालाइसिस हुँदा उमेर बढे पनि आवाज भने परिवर्तन हुँदैन। बच्चामा जस्तै सानो र केटीको जस्तै रहिरहन्छ।

‘जसरी गितारको तारलाई तन्काउँदा तिखो र मसिनो स्वर आउँछ अनि तारलाई खुकुलो बनाउँदा मोटो र ठूलो स्वर आउँछ, त्यसैगरी घाँटीमा रहेको स्वर नली पनि तन्काउँदा र खुकुलो बनाउँदा सानो र मोटो आवाज आउँछ,’ डा. तोरणले भने, ‘झविन्द्रको पनि तन्किरहेको स्वर नलीलाई केही खुकुलो बनाएर आवाज मोटो बनाइएको हो।’ उनले केटीहरुमा केटाको र केटाहरुमा केटीको आवाज हुने समस्या धेरैमा रहे पनि जानकारीको अभावमा उपचारमा नआएको बताए।

यसरी स्वर मिलाउने शल्यक्रियालाई ल्यारेन्जर फ्रेमवर्क सर्जरी भनिन्छ। घाँटीमा रहेको दुईवटा स्वर नलीमध्ये कहिलेकाँही एउटा नली विभिन्न कारणले प्यारालाइसिस भएको हुन्छ। त्यस्तो अवस्थमा प्यारालाइसिस भएको नलीलाई इम्प्लान्ट राखेर धकेल्दै अर्को नलीसँगै लगेर जोडिन्छ र आवाजमा सुधार आउँछ। यसका साथै विभिन्न रोग, समस्याको शल्यक्रिया गर्ने क्रममा स्वर नली काटिनु, दुर्घटना जस्ता कारणले पनि मानिसको आवाजमा समस्या आउने उनी बताउँछन्। तर, यी सबै समस्याको उपचार हुने र उपचार खर्च पनि निकै सस्तो रहेको डा. तोरणले जानकारी गराए।

उनका अनुसार यो शल्यक्रियाबाट वास्तविक समस्या भोगेर बसेका महिला तथा पुरुषसँगै लिंग परिवर्तन गरेकाहरुलाई पनि फाइदा पुग्नेछ। सामान्य शल्यक्रिया भएकाले बिरामीलाई बेहोस नबनाई पनि यो शल्यक्रिया गर्न सकिने उनी बताउँछन्।