धरान/नेपाली र भारतीय समाजबीच थुप्रै समानता छन् । तिनै अनेकमध्ये सांस्कृतिक समानता पनि एक हो र यो समानतालाई धराने दर्शकले आइतबार एउटै मञ्चमा नियाल्ने मौका पाए । शहरका थोरै तर गम्भीर र सुसंस्कृत दर्शकबीच नेपाली र भारतीय लाकारहरूले आ–आप्mनो देशका आदिवासी जनजाति समुदायका लोक नृत्यहरू प्रस्तुत गरेका थिए । धरान गीत–सङ्गीत र संस्कृतिप्रति हुरुक्क हुनेहरूको शहर हो । पप र ¥याप कन्सर्टहरूमा पनि यहाँ उत्तिकै भीड उर्लिन्छ । आइतबारको सांस्कृतिक कार्यक्रममा पनि उनीहरू शुरुदेखि अन्त्यसम्म धैर्यपूर्वक बसेका थिए ।
फरक के मात्र थियो भने कन्सर्टहरूमा चर्को स्वरमा कराउने धराने दर्शकहरू त्यहाँ भने कार्यक्रम अवधिभर शान्त थिए । भारतीय सांस्कृतिक केन्द्रको आयोजनामा कार्यक्रम भएको हो । ‘नमस्ते नेपाल’ नाम दिइएको सो सांस्कृतिक उत्सवमा उत्तर–पूर्वी भारतमा बसोबास गर्ने आदिवासी जनजाति समुदायमा प्रचलित लोकनृत्यहरू प्रस्तुत गरिएका थिए । मिजोरमको ‘लिली भेङ्ग कल्चरल एन्ड ड्रामा क्लब’ ले गरेको प्रस्तुतिमा मिजोरममा बसोबास गर्ने जनजाति समुदायमा प्रचलित तीन र आसाममा बसोबास गर्ने जनजाति समुदायका दुई लोकनृत्यहरू प्रस्तुत गरिएका थिए । मिजोरमका सोलाकिया, चौलाजन र चेरो तथा आसामका बिहु र लेवातना नृत्य प्रस्तुत गरिएका थिए । धरानको गरिमा डान्स सेन्टरले लिम्बू समुदायको च्याब्रुङसहित सन्थाल र राउटे जातिका लोकनृत्यहरू प्रस्तुत गरेको थियो । गरिमाले भ्mयाउरे भाकाको एउटा गीतमा पनि लोकनृत्य प्रस्तुत गरेको थियो । नेपाली र भारतीय लोकगीतका लय तथा नृत्यका भावभङ्गिमा र चालमा निकै समानता भएको दर्शकहरूले स्पष्ट देखे ।
कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम मेहताले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक समानता रहेको बताएका थिए । कार्यक्रमको स्थानीय व्यवस्थापन गरेको नेपाल–भारत मैत्री सङ्घका सुनसरी अध्यक्ष मुकुल कायस्थले पनि यही भनाइ दोहो¥याए । उनले भने, ‘यो कार्यक्रमले आपसी सम्बन्धलाई अभै प्रगाढ बनाउने विश्वास लिएको छु ।’ सङ्घका सुनसरी उपाध्यक्ष कृष्णकुमार अग्रवालले पनि स्वागत मन्तव्यको क्रममा नेपाली र भारतीय जनताका रहनसहन, खानपान, भेषभूषालगायतमा समानता रहेको बताएका थिए ।
कार्यक्रममा भारतीय दूतावासका प्रतिनिधि एस गोपाल कृष्णन र सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले पनि बोलेका थिए ।नेपाल र भारतका कलाकारहरूको प्रस्तुतिमा पनि यो समानता स्पष्टरूपमा झल्किएको थियो । दुवै देशका नागरिकहरूको जीवन मुख्यतः कृषिमै आश्रित छ । दुवै देशका युवायुवतीले प्रणय भाव प्रदर्शन गर्ने शैली पनि एउटै छ ।
चाडपर्व मनाउने वा हर्ष–विस्मात् प्रदर्शन गर्ने तरिका पनि उस्तै छन् । दुवै देशका कलाकारहरूले मञ्चमा पनि यस्तै भावहरू प्रस्तुत गरेका थिए । गरिमा डान्स सेन्टरको आकर्षक च्याब्रुङ नृत्यबाट प्रारम्भ भएको प्रस्तुति उसकै लोकनृत्यबाट समापन भएको थियो । भारतीय दूतावासअन्तर्गत भारतीय सांस्कृतिक केन्द्रले अहिले नेपालका मुख्य नौवटा शहरमा यो सांस्कृतिक उत्सव प्रस्तुत गरिरहेको छ ।