धनगढी/  “मुम्बइमा बसेका बेला साथीभाइको लहलहैमा लाग्दा एचआइभी सङ्क्रमित भइछ, थाहै भएन ।”

झन्डै १४ वर्ष मुम्बइमा काम गरेर फर्किएका कैलालीको गोदावरी गाविसका दिलबहादुर ओडले निसङ्कोच यस्तो जवाफ दिए । बिरामीले थला परेको खबर पाएपछि गएकी श्रीमती बिन्द्राले घर फिर्ता ल्याएर रगत जाँच गराउँदा उनमा एचआइभी सङ्क्रमित भएको पत्ता लाग्यो । लगत्तै श्रीमती बिन्द्रालाई समेत सङ्क्रमित भएको पत्ता लाग्यो । सन्तान नभएका ओड दम्पती हाल नियमित रुपमा रोगको प्रतिरोधी क्षमता बढाउने एआरटी औषधि खाइरहेका छन् ।

एकपछि अर्को गर्दै गोदावरी क्षेत्रमा एचआइभी सङ्क्रमित बढ्न थालेपछि उनीहरुको हकहितका साथै रोगको रोकथामका लागि केही काम गर्ने उत्प्रेरणा सो क्षेत्रका सङ्क्रमितमा जाग्यो र फलस्वरुप गोदावरी प्लस नामको सङ्क्रमितको संस्था स्थापना भयो ।

“सङ्क्रमित बढ्न थालेपछि संस्थामार्फत पहिले आफू खुल्ने, त्यसपछि अरु सङ्क्रमितलाई पनि खुलाउने अभियानमा लागेका छौँ,” संस्थाका अध्यक्षसमेत रहेका ओडले भने – “यसले गर्दा सङ्क्रमण भएपछि लुकाएर राख्ने प्रवृत्ति हट्न थालेको छ ।”

सङ्क्रमितहरुको स्वास्थ्य अवस्था बुझेर गाउँमा रोग रोकथाम र सङ्क्रमितको उपचारको बारेमा समूह बनाएर नै छलफल गर्ने, लुकेर बसेकाहरुको खोजी गरी उनीहरुलाई औषधि नियमित रुपमा खान सल्लाह दिने लगायतका क्रियाकलाप संस्थाले गर्दै आएको छ ।

जिल्लामा गठन गरिएको यो संस्थासहित छिमेकी अर्को गाविस मालाखेतीमा समेत गठन गरिएको ‘मालाखेती प्लस’ सङ्क्रमितहरुको स्वास्थ्य उपचारमा सक्रिय रहँदैआएको छ । गोदावरी प्लसमा १५२ जना र मालाखेती प्लसमा झण्डै ४० जना सङ्क्रमितहरु सदस्य छन् ।

चुरे पहाडको फेदमा जिल्लाको पश्चिमी सीमाको गाविस गोदावरीमा एचआइभी एड्सको समस्या बढ्दै गएको देखिएपछि रोकथामका लागि अभियान थाल्नुपर्ने चेतना जागेको सङ्क्रमितहरुको भनाइ छ ।

गोदावरीमा मात्रै करिव पाँच सय सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको अनुमान गरिएको छ । तर यसको आधिकारिक तथ्याङ्क भने कसैसँग छैन ।

रोगका बारेमा गोदावरी प्लस लगायतका संस्थाले सञ्चालन गरेको चेतनामूलक अभियान सँगै रोग लुकाएर राख्नेहरु पहिले भन्दा खुल्न थालेको स्थानीय युवक सुरेश कुँवरले आफ्नो अनुभव सुनाउए ।

“अधिकांश सङ्क्रमित युवा कामको खोजीमा तीन-चार महिनाका लागि औषधिको जोहो गरेर भारत जान्छन्,” कुँवरले भने – “यसले गर्दा गाउँमा युवा उमेरका मानिस भेटाउन गाह्रो भएको छ ।” यसरी भारत जानेहरुले औषधि सकिएपछि पुनः औषधि लिन घर फर्किने गरेको बताए।

गाउँमा ‘नयाँ रोग‘ र ‘बम्बैको रोग’ को नामले एचआइभीलाई चिन्ने गरिन्छ । एचआइभी एड्सकै कारण कसैको मृत्यु भएमा नयाँ रोग वा बम्बैको रोगले मृत्यु भएको भनेर छरछिमेकीहरुलाई खबर गरेर मृतकको अन्तिम संस्कार गर्ने गरिन्छ ।

एड्सकै कारण गोदावरीमा मात्रै अहिले सम्म १४-१५ जना बालबालिकाका बुवाको मृत्यु भएपछि ती बालबालिकाको हेरचाह सङ्क्रमित विधवा आमाले गरिरहेका छन् । यी कतिपय बालबालिकाको शिक्षाका लागि उद्धार नेपाल नामको गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ । तर यस्ता बालबालिकाको उचित शिक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा नियमित रुपमा रेखदेख गर्ने तर्फ कसैको ध्यान नपुगेको बताए ।

सेती अञ्चल अस्पताल धनगढीको परिसरमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा मात्रै जिल्लाका ६२५ जना एचआइभी सङ्क्रमितले हाल एआरटी (एन्टी रेक्टोभाइरल थेरापी) औषधि नियमित सेवन गरिरहेका छन् ।

यो औषधि सेवन गर्नेहरुमा २० देखि ४५ उमेर समूहका व्यक्ति बढी रहेको एआरटी फाँटका प्रमुख लोकराज पनेरुले बताए। असुरक्षित यौन सम्पर्क, लागुपदार्थको दुव्र्यसन, रगत वा अङ्ग प्रत्यारोपण गर्दा यो रोगको सङ्क्रमण हुने गरेको बताए । यस बाहेक सङ्क्रमित आमाबाट जन्मिने बच्चामा समेत यो रोगको सङ्क्रमण हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

एड्सबाट पीडित पुरुषको एआरटी औषधि खान नपाउँदै मृत्यु हुने गरेपछि बढी सङ्ख्यामा तिनका श्रीमती एकल महिलाहरु नै एआरटी औषधि खान आउने गरेको बताए । शरीरको रोग प्रतिरोधात्मक अवस्था पत्ता लगाउन ‘सिडी फोर’ मेसिन र एचआइभी भाइरसको सङ्ख्या पत्ता लगाउने र ‘भाइरल लोड’ मेसिनको व्यवस्था एआरटी सेन्टरमा रहेको छ ।

रोगबारे भएको जनचेतना अभिवृद्धिसँगै सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो पटक घट्दो रुपमा रहेको पनेरुले बताए । यो रोग रोकथाम र उपचारमा कैलालीमा दश भन्दा बढी संस्था कार्यरत रहेका छन् । तर अधिकांश संस्था निस्क्रिय अवस्थामा रहेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी मोहनदेव भट्टले कैलालीमा रोग रोकथाम तथा उपचार कार्यक्रम सुरु भएदेखि हालसम्म एक हजार एक सय जना सङ्क्रमितहरुले टीकापुर र धनगढीमा रहेको एआरटी सेन्टरमार्फत औषधि खाइरहेको जानकारी दिए । सङ्क्रमितमध्ये हाल सम्म २४८ जनाको मृत्यु भएको छ ।

यो रोग रोकथामका लागि नेपालमा सन् २०१६ देखि २०२१ सम्मका लागि ‘फास्ट ट्रयाक टार्गेट’ (द्रुतमार्ग लक्ष्य) सहितको योजना बन्न लागेको कार्यालयका एचाइभी फाँटका प्रमुख महेश चन्दले बताउनुभयो । यो योजना अन्तर्गत ‘९०–९०–९०’ को रणनीति बनाउन लागिएको छ । रणनीतिमा पहिलो ९० अङ्कले अबको शङ्कास्पद जनसङ्ख्याको ९० प्रतिशत जनसङ्ख्यालाई एचआइभीको परीक्षण गराउने भन्ने बुझिन्छ ।

यस्तै दोस्रो ९० अङ्कले एचआइभी सङ्क्रमितमध्ये ९० प्रतिशतलाई एआरटी सेवा उपलब्ध गराउने र तेस्रो ९० अङ्कले एआरटी सेवा लिनेहरुमा भाइरल लोड (जीवाणु दर घटाउने) भन्ने बुझिन्छ ।

-रासस