धरान/फुटबलको चर्चा गर्दा धरानको नाम अग्रपंक्तिमा आउँछ । जसलाई ‘मिनी ब्राजिल’ ले पुकारिन्थ्यो । यहाँबाट राष्ट्रिय खेलाडीहरु प्रसस्तै उत्पादन भए । जसले राजधानीको नेतृत्व ग¥यो । पूर्वको झापा, मोरङ र सुनसरी कै खेलाडीहरुले राजधानीलाई ढाक्थ्यो । तर, अहिले परिस्थिति फरक छ । पूर्वको फुटबलले मात्रै काठमाडौंलाई नेतृत्व गरिरहेको छैन्, पश्चिमको फुटबलले काठमाडौंलाई सिञ्चित गरिरहेको छ । गोल्डकपको पार्दुभाव जसरी पूर्वमै भयो । त्यो अनुपातमा खेलाडी उत्पादन हुन नसकेको एस कलेजमा प्रशिक्षक गरिरहेका पूर्व राष्ट्रिय खेलाडी मिलन श्रेष्ठ बताउँछन् । ‘गोल्डकप जहीतहीँ हुन्छ । खेलाडीको विषयमा सोचेजस्तो खेलाडीहरु उत्पादन हुन सकेको छैन् ।’ उनी फोनमा भन्छन् । विराटनगरमा राजा महेन्द्र साहको नाममा राखिएको महेन्द्र गोल्डकप नै पूर्वको मात्रै नभई देशकै पहिलो गोल्डकप हो । २०१२ सालमा स्थापित उक्त गोल्डकपको निरन्तरता २०६९ देखि पुनरावृति भएको छ । महेन्द्र सिल्डलाई गोल्डकपको नाममा ल्याइएको कारण पनि पूर्वमा गोल्डकपको नेतृत्व धरानको बुढासुब्बालाई नै लिने गरिन्छ । ‘बुढासुब्बा पूर्वको प्रतिष्ठित मात्रै हैन, यो देशकै प्रतिष्ठित खेल हो ।’ नेपाल पुलिस क्लवका सहायक प्रशिक्षक एवं पूर्व राष्ट्रिय खेलाडी अनन्त थापा मगर भन्छन् । २०५५ सालदेखि सुरु भएको बुढासुब्बाले अनन्त जस्ता खेलाडीहरु जन्मायो । बुढासुब्बा हुँदा देशमा अन्य गोल्डकपको नामोनिशान थिएन् । थियो त केवल बुढासुब्बा । त्यसअघि लिग खेलहरु मात्रै हुन्थे । अखिल नेपाल फुटबल संघ (एन्फा) को तालिकामा नपरे पनि एन्फाले हरेक वर्ष बुढासुब्बालाई सहयोग गर्ने गरेको थियो । सिजनको अन्तिममा हुने बुढासुब्बाले खेलाडीहरुलाई प्लेटफर्म मात्रै सिर्जना गरेन । गोल्डकपको नेतृत्वसमेत गर्यो । ‘एन्फाको सहयोगमा गोल्डकप हुने त्यो बेलाको बुढासुब्बा नै हो ।’ प्रशिक्षक श्रेष्ठ भन्छन् । पूर्वको फुटबललाई नेतृत्व गरिरहेको धरान पछिल्लो समय खस्किएको अनुभूति पूर्व खेलाडीहरुको छ । यहाँ खेलाडी उत्पादनको हिसावले पनि न्युन छ । खेलाडीहरु पैसा र म्याच केन्द्रीत भइरहेका छन् । जसका कारण झापाले मात्रै पूर्वको फुटबललाई नेतृत्व गरिरहेको आभाष प्रशिक्षक श्रेष्ठले गरेका छन् । ‘झापा एभरेजमा राम्रो छ ।’ श्रेष्ठ भन्छन्, ‘मोरङ, सुनसरीमा त्यस्ता खेलाडीहरु छैनन् ।’ बुढासुब्बाले गोल्डकप उत्प्रेरित गर्नुमा जति भूमिका खेलेको छ अन्य प्रतियोगिताहरुले त्यस्तो भूमिका खेल्न सकेको छैन् । बुढासुब्बा सुरु भएपश्चात नै पूर्व तथा पश्चिमहरुमा गोल्डकपमा उभाँर आउँन थालेको हो । एन्फा क्यालेण्डरमा नपरे पनि पूर्व र पश्चिम गरी झण्डै आधा दर्जन प्रतियोगिताहरु हुने गरेका छन् । पूर्वको बुढासुब्बा, विराट गोल्डकपसहित सिमरा गोल्डकप, आहा रारा, खप्तड गोल्डकप पर्न थालेका छन् । त्यसो त, २०३२–३३ सालमा सुनसरीको दुहवीमा दुगड कप हुने गरेको थियो । त्यस्तै २०५० सालमा लुनकरण–गंगादेवी कप हुने गरेको थियो । जसको प्रयोजन दुगड र चौधरी गु्रपले गरेको थियो । तर, त्यसले निरन्तरता पाउन सकेन । जसका कारण खेलाडीहरु उत्पादन हुने भरपर्दो माध्यम हुन सकेन । धरानको गोल्डकप मोफसलमा मात्रै हैन, राजधानीलाईसमेत प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको एन्फाका केन्द्रीय उपाध्यक्ष एवं धरान फुटबल क्लवका अध्यक्ष किशोर राई बताउँछन् । धरानकै कारण सबैतिर गोल्डकप गर्ने स्तर बढेको उनी बताउँछन् । धरान खेलाडीको लागि मात्रै फुटबलकै नेतृत्व गरिरहेको कुरालाई उनी नर्कादैनन् । तर, खेलाडी उत्पादनको हिसावले ठूला गोल्डकपहरु भन्दा वडा स्तरका प्रतियोगिता तथा लिग खेलहरुबाट उत्पादन बढ्ने गरेको छ । ‘स्थापित खेलाडीहरुको लागि ठूला प्रतियोगिता हुनु राम्रो हो ।’ पूर्व खेलाडी दीपक राई भन्छन्, ‘लिग र वडा खेलहरु भए मात्रै खेलाडीको स्तर विकास हुन्छ ।’ खेलाडी उत्पादनको दृष्टिकोणले वडा स्तरका खेलहरु र लिग खेलहरु माइस्टोन बन्न सक्छन् । तर, अहिले पनि खेलाडी उत्पादनका दृष्टिले पूर्व पहिलेको तुलनामा केही खस्किएको अनुभूति पूर्व खेलाडीहरु गरेका छन् । केही गर्छु भन्ने युवा खेलाडीहरुको खाचो छ यतिखेर । क्षणिक फाइदाका पछाडी कुद्ने प्रवृतिका कारण ‘डेलिगेटेड’ खेलाडीको खाँचो रहेको छ । तीनवर्ष यतादेखि राष्ट्रिय लिग खेलहरु हुन सकेको छैन् । जसका कारण खेलाडी उत्पादन हुन सकेको छैन् । ‘पूर्वले समग्र नेपाली फुटबललाई धानेको छ भन्दा फरक पर्दैन ।’ खेल क्षेत्रमै कलम चलाइरहेका पत्रकार राजु घिसिङ भन्छन् । उनका अनुसार नेपालमा एक लाख रुपैया भन्दा बढीका गोल्डकपहरु सबैभन्दा धेरै पूर्वमै हुने गरेकोे छ । जसका कारण पूर्वको फुटबलले समग्र नेपाललाई नै नेतृत्व गरिरहेको छ । -साप्ताहिक ब्लाष्टखबरबाट