अविवाहित केकीसँग बिहेको प्रस्ताव गर्ने फ्यान कति छन् कति । तर, केकी भने सबै फ्यानसँग रमाइलो ढंगले प्रस्तुत हुने गरेको बताउँछिन् । उनले कलाकारिता सुरु गरेका दिनदेखि अहिलेसम्म सम्झने केही फ्यान यस्ता छन्ः
रगतले चिट्ठी लेख्ने फ्यान म यस क्षेत्रमा प्रवेश गर्दा सामाजिक सञ्जालमा मानिसको पहुँच पुगेको थिएन । त्यस समयमा मलाई धेरै फ्यानको पत्र आउँथ्यो । मेरा सुरुवातका दिनमा चिट्ठीपत्र आउनु मेरा लागि नौलो कुरा थियो । त्यसवेलामा म त्यति धेरै फ्यानसँग परिचित भइसकेकी थिइनँ । तर, त्यसवेलामा कस्तो प्रतिक्रिया आउँछ होला भन्ने खुल्दुली भने मनमा भइरहेको हुन्थ्यो । एकजना महेश नामको फ्यान हुनुहुन्थ्यो, उहाँको थरचाहिँ बिर्सिएँ । उहाँले मलाई रातो रङले चिट्ठी लेखेर पठाउनुभएको रहेछ । उहाँले ‘हेर्नुहोला महेश’ भन्ने शीर्षक राखेर मलाई पत्र लेख्नुभएको थियो । त्यसमा शुभकामनाका कुराहरू व्यक्त गर्नुभएको थियो । उहाँको पत्र मैले पढ्दै गएँ । अन्त्यमा उहाँले यो मेरो रगतले लेखेको चिट्ठी हो भन्नुभएको रहेछ । त्यस्तो लेखेको देख्दा मलाई डर लागेको थियो । त्यसपछि भने उहाँका पत्रहरू आएनन् । फेसबुकमा धम्की दिने फ्यान एकजना फ्यान हुनुहन्थ्यो । म उहाँको नाम लिन चाहन्न । तर, उहाँले एकदमै बढी अश्लील शब्दहरू प्रयोग गर्नुहुन्थ्यो । मैले एकपटक एसिड काण्डको विषयमा कसैको माया स्वीकार नगर्दैमा यति ठूलो आपराधिक क्रियाकलाप गर्नु उचित होइन भन्ने दृष्टिकोणबाट लेख लेखेकी थिएँ । उहाँले ‘कसैको माया नबुझ्दा यस्तै कुराहरूको सामना गर्नुपर्छ । यो मामिलामा तिमी पनि पर्न सक्छ्यौ, होसियार !’ भन्नेजस्ता कुरा लेखेर कमेन्ट गर्नुहुन्थ्यो । साथै उहाँले ‘मलाई तिम्रो सुटिङ भएको ठाउँमा म जतिवेला पनि आउन सक्छु ‘बी केयरफुल’ भन्नेजस्ता धम्की पनि दिनुहुन्थ्यो । यसले मलाई धेरै चिन्तित बनायो । त्यस्ता धम्की आएपछि चिन्तित हुनु स्वाभाविक नै थियो । तर, यसरी फेसबुकमा धम्की दिने ब्यक्तिहरु गन्न सकिने मात्र हुनुहुन्छ । अरू फ्यानले मलाई शुभेच्छा तथा शुभकामना व्यक्त गर्नुहुन्छ । मेरो नयाँ कुरा आउनेबित्तिकै फेसबुकमा पोस्ट गर्ने फ्यान सोह्रखुट्टे बस्ने अनिता भन्ने एकजना फ्यान हुनुहुन्थ्यो । उहाँले मेरो नयाँ–नयाँ कुराहरू जे आए पनि सबैभन्दा पहिला फेसबुकमा सेयर गर्ने गर्नुहुँदो रहेछ । उहाँ अहिले पनि मलाई भेटिरहन रुचाउनुहुन्छ । मैले उहाँलाई दुईपटक भेटिसकेँ । मसँग भेट्दा उहाँ निकै भावुक हुनुभयो । जसले मलाई पनि छोयो । म अरूजस्तो बोल्न अनि फ्यानहरूलाई भेट्न त्यस्तो कुनै गाह्रो मान्दिनँ । मलाई कोही शुभचिन्तकले भेट्न आग्रह गर्नुभयो भने मैले समय निकालेर भेट्ने गरेकी छु । म उहाँहरूसँग भेटेपछि बोल्न  गाह्रो पनि मान्दिनँ । उहाँहरूसँग खुलेर कुराकानी गर्छु । उहाँहरूको जिज्ञासा मेटाउने गर्छु । जे होस्, उहाँहरूलाई भेट्दा म पनि फ्रेस हुन्छु । मलाई भेट्न सास्ती खेप्ने दार्जिलिङका फ्यान ‘बितेका पल’ सकिसकेपछि म दार्जिलिङ गएकी थिएँ । त्यहाँ विशेष सोहरू भए । त्यहाँ मेरा निकै डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । त्यसमा पनि एकजना फ्यान म दार्जिलिङ आउँदै छु भन्ने थाहा पाएर मलाई नै भेट्न भनी धेरै टाढाबाट आउनुभएको रहेछ । उहाँ त्यहाँसम्म आउनका लागि यातायातको राम्रो सुविधा नहुँदानहुँदै पनि दुःख गरेर भेट्न आउनुभएको थियो । मैले अभिनय गरेको चलचित्र ‘बितेका पल’ उहाँले हेर्नुभएको रहेछ । उहाँलाई त्यो फिल्म असाध्यै मन परेछ । त्यसपछि मलाई भेट्न अति मन लागेछ । मसाग भेटे भएपछि उहाँ भावुक हुनुभयो । उहाँ मलाई भेट्न आउँदा उहाँले खेप्नुभएको सास्ती सुन्दा म पनि भावुक भएकी थिएँ । सुटिङको वेला फोटो खिच्न आउने फ्यान ‘लभसाशा’कै सुटिङको क्रममा पोखराको एउटा कोलोनीको घरमा हामीले सुटिङ गरिरहेको थियौँ । त्यस घरकी घरबेटी दिदी एकदम उत्साहित हुनुभएको थियो । उहाँ पनि मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँको नाम मलाई ठ्याक्कै याद भएन । उत्साही भएर हामीले उहाँको घरमा फिल्म सुटिङ गर्न लागेको गाउँभरि सबैलाई भन्नुभएछ । त्यहाँ अरू पनि मेरा डाइहार्ट फ्यान हुनुहुँदो रहेछ । म आएको भन्ने थाहा पाएपछि उहाँहरू मलाई भेट्न आउनुभयो । मलाई भेटेर फोटो खिच्ने मनसायले कपडा पनि त्यस्तै लगाएर आउनुभएको थियो । उहाँहरूलाई मसँग बसेर फोटो खिच्न धेरै मन रहेछ । मैले उहाँहरूको इच्छा पूरा गरेँ । जुन वेला म पनि निकै उत्साही भएकी थिएँ । आलु उसिनेर खुवाउने फ्यान गत वर्ष भूकम्पपछि सुटिङका लागि विभिन्न भूकम्प प्रभावित क्षेत्रमा गएकी थिएँ । जुन वेला मैले फ्यानहरूलाई भेट्ने अवसर पाएँ । ती ठाउँमा जाँदा बुढेसकाल लागेका बुवाआमाहरू पनि मेरा डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँहरूले मलाई टिभीमा मात्र देखेकाले प्रत्यक्ष देख्न पाउँदा खुसी व्यक्त गर्नुभएको थियो । गोरखामा जाँदा त एकजना बूढीआमाले ‘नानीलाई टिभीमा मात्र देखेको आज मेरै आँखाअघि देख्न पाएँ’ भन्दै मलाई अँगालो हाल्नुभयो । भूकम्पले घरहरू भत्किएर रासन सबै पुरेको थियो । तर, पनि आतिथ्य सम्मानका लागि उहाँले हामीलाई आफूले नखाइनखाई पनि आलु उसिनेर ल्याइदिने, मकै–भटमास भुटेर दिने गर्नुहुन्थ्यो । उहाँको अहिले पनि सम्झना आउँछ । स्कुल–कलेजका विद्यार्थी मेरा फ्यान मैले आफ्नो कलाकारिता सँगसँगै अध्ययनलाई निरन्तरता दिएको कारणले गर्दा पनि होला मेरा विद्यार्थी फ्यान धेरै हुनुहुन्छ । मलाई हेर्न अनि मेरा कुरा सुन्न विद्यार्थी रुचाउँछन् । त्यसैले मलाई विभिन्न विद्यालय–कलेजले कार्यक्रममा निमन्त्रणा गर्नुहुन्छ । म त्यस्ता विद्यालय, कलेजको कार्यक्रममा जाँदा त्यहाँका धेरैजसो विद्यार्थीको प्रश्न काम र पढाइलाई कसरी सँगसँगै लैजानुभयो ? भन्ने हुन्छ । अनि मैले मेरो मिहिनेतको पाटो बताइदिन्छु । कपनको एउटा विद्यालयमा कार्यक्रममा जाँदा त्यहाँ एकजना सानी बहिनीले पनि मलाई यस्तै प्रश्न गरिन् । म सानी छु, तर मलाई यो क्षेत्रमा अघि बढ्न मन छ । मैले के गर्नुपर्छ ? मलाई पनि यो क्षेत्रमा लागेर तपाईंजस्तै पपुलर बन्ने मन छ, के म बन्न सक्छु ? जस्ता बालमस्तिष्कमा आउने धेरै जिज्ञासा ती बहिनीले व्यक्त गरिन् । अनि मैले उनको त्यस जिज्ञासालाई हौसला प्रदान गर्ने गरी भनिदिएँ । त्यसपछि उनी फुरुंग भएकी थिइन् । फेसबुकमा रिप्लाई नपाएर रिसाउने फ्यान मेरो नाममा धेरै फेक फेसबुक अकाउन्ट छन् । जसले गर्दा साथीहरूले कुनमा मेसेज गर्नुहुन्छ भन्नेमा भर पर्छ । मैले चलाइरहने फेसबुक अकाउन्टमा साथीहरूले गर्नुभएको म्यासेजको व्यस्तताले गर्दा रिप्लाई दिन पाइरहेकी हुन्नँ । जसले गर्दा साथीहरूले तपाईं रिप्लाई गर्नुहुन्न, घमण्डी हुनुहुन्छ कि क्या हो ! भो अब कहिल्यै बोल्दिनँ, कट्टी जस्ता म्यासेज गर्नुहुन्छ । यसरी उहाँहरूले मलाई घुक्र्याउँदा मलाई पनि नमज्जा लाग्छ । बिहे गर्छु भन्ने फ्यान मेरो विवाह नभएको भए म पक्का तपाईंलाई बिहे गर्थेँ भन्ने एकजना फ्यान हुनुहुन्थ्यो । उहाँ विदेशमा हुनुहुन्छ । उहाँको नामचाहिँ मैले बिर्सिएँ । उहाँले तपाईंको बिहे गर्ने वेला भयो होइन ? किन बिहे नगरी बस्नुभएको ? जस्ता प्रश्नहरू घरिघरि गर्नुहुन्छ । उहाँले यदि मेरो बिहे नभएको भए मैले तपाईसँग पक्का बिहे गर्थेँ भन्नुहुन्थ्यो । बिचरा ! उहाँलाई पहिल्यै बिहे गरेर पछुतो लागेको रहेछ । मोटिभेसनल फ्यान मैले फेसबुकमा पोस्ट गरेका स्टाटसहरू हेरेर मोटिभेट गर्ने फ्यानहरू पनि हुनुहुन्छ । मैले आफूलाई ‘लो फिल’ गरेको वेलामा मैले पोस्ट गरेका स्टाटस हेरेर मलाई प्रश्न गर्ने धेरै फ्यान हुनुहुन्छ । उहाँहरूले हिजोआज किन तपाईंको अनुहारमा हाँसो छैन ? किन निराश देखिनुभएको छ ? भन्नेजस्ता साना–साना कुरामा पनि केयर गरेर प्रश्न गर्ने गर्नुहुन्छ । साथै, उहाँहरूले मलाई मोटिभेट पनि गर्नुहुन्छ । कहीँकतै मेरा गल्ती, कमजोरी फेला पर्‍यो भने मलाई भन्ने गर्नुहुन्छ । जसले गर्दा मलाई काम गर्ने हौसलाका साथसाथै कमी–कमजोरीलाई सच्याउने अवसर मिलेको छ ।