नामः सकुन श्रेष्ठ
पेशाः नर्स
उमेरः ३३ वर्ष
रोगः पेटको क्यान्सर (चौथो चरण)
लेख्न थाल्दै कति नमिल्दा लागिरहेका छन् यी वाक्य। किनभने अरुको स्वास्थ्यको ख्याल गर्ने पेशामा रहेकी व्यक्तिले आफ्नो ज्यानको देखभाल गरिनन् होला र? न यस्तो बिरामका लागि उमेर नै जोखिमको घेरामा पुगेको हो। तर, उनी अहिले त्यही अवस्थामा छन्, जुन हामीलाई लेख्न मन छैन र सायद तपाईंलाई पढ्न।
तर, लेख्नै पर्नेछ। किनकि चौथो चरणमा पुगेको क्यान्सरसँग विगत १० महिनादेखि जुधिरहेकी उनको इच्छा छ, लेखियोस्। उनलाई लागेको छ, ‘म यो अवस्थामा पुग्नुका कारणहरु थाहा पाएर अरु सचेत हुन्। यस्तो अवस्थाका बिरामीका लागि अस्पताल, डाक्टर र राज्यले गर्ने व्यवहार सुनाएँ भने नीति निर्माणमा अर्थ राख्ला।’ आफूले जस्तै गरी अरुले दुःख नपाउन् भन्ने भावनाका कारण पनि पीडादायी जीवनका केही पल सुनाउन चाहेकी हुन् उनले।
उनी यो अवस्थामा पुग्नुमा के–के कुराले ‘भिलेन’ खेलेका छन्। ती सुनाउन चाहन्छिन् उनी। त्यसमा नेपालका अस्पतालको उपचार प्रणाली, आमनेपालीमा रहेको ‘भोलि’ मानसिकता, चिकित्सकमा रहेको ‘इगो प्रोब्लम’, एउटा कर्मचारीमाथि संस्थाले गर्ने व्यवहार लगायत धेरै थोक जोडिएका छन्।
पाटन अस्पतालमा कार्यरत स्थायी नर्स हुन् सकुन। उनी अस्पतालकै फरासिली, मिलनसार र सहयोगी नर्सका रुपमा परिचित छिन्। जस्तोसुकै अवस्थामा पनि हाँसेर बोल्ने उनको स्वभाव।
भक्तपुर क्यान्सर अस्पतालको बेडमा बायाँ हातबाट लिइरहेको केमोले उनलाई क्यान्सर भएको जनाउ दिन्छ। उनलाई भेट्न पुग्ने जोकोहीसँग अहिले पनि हाँसेर प्रस्तुत हुने बानीले लाग्छ, उनलाई केही भएकै छैन।
कुनै पनि कुरामा हटी हिँड्ने होइन, डटी लड्ने बानी छ उनको। क्यान्सरसँग पनि त्यसैगरी डटिरहेकी छिन्। उनको हिम्मत देखेर उपचारमा संलग्न डाक्टर चकित छन्। चौथो स्टेजको क्यान्सर देखिएपछि डाक्टरले उनको जीवनको समयसीमा ६ महिनासम्मको अनुमान गरेका थिए तर १० महिना कटिसक्यो। उनलाई एकदिन डाक्टरले मुखै खोलेर भने, ‘तपाईं आफ्नै हिम्मत र सकारात्मक सोचले जीवन लम्ब्याइरहनुभएको छ, यही पक्ष तपाईंको उपचारमा मजबुत छ।’
यी मेडिकल साइन्स र डाक्टरका कुरा हुन्। क्यान्सरले कतिसम्म असर पार्छ उपकरणले थाहा दिन्छ। जीवनप्रतिको सकारात्मक सोच र हिम्मतले त्यसलाई कति परास्त गर्न सक्छ, जाँच्ने उपकरण बनेको छैन। त्यसैले डाक्टरले कसैको जीवनको अन्तिम दिन तोक्न सक्दैनन्।
उनी भने यतिबेला बाहिरबाट लिइरहेको केमो र भित्र साँचेको साहस दुइटैलाई घोलेर कम्तिमा १० वर्षभन्दा बढी जीवन लम्ब्याउने योजना बुनिरहेकी छिन्। भन्छिन्, ‘ साढे तीन वर्षको छोराका लागि बाँच्नुपर्नेछ । सँगसँगै चेतना अभावका कारण क्यान्सर भएर जीवन गुम्ने खतरामा पुगेकाहरुका लागि बाँच्नुपर्नेछ।’
अहिलेसम्म त केमो दिने रकम जसोतसो जुटाइन् उनले। आफैँले ७ वर्ष जागिर गर्दा जोगाएको केही रकम थियो। साथीभाइले सहयोग गरे। आफन्तले मन ठूलो गरे। अब उनको पीर छ, ‘एकदिन बाहिरको केमो दिने आर्थिक अभाव भयो भने भित्रको साहस त आफैँ गल्दै जाला कि।’
त्यो दिन आउन नदिन सहयोगी हातहरु बलिया हुनुपर्नेछ। ती हातमा हात, तपाईं, हामी र जोकोही मिलाउन सक्छौँ। ज्यानमा ऊर्जा रहुन्जेल अरुको सेवामा समर्पित र फेरि पनि सेवामै समर्पित हुन चाहने एक साहसी नर्सको जीवन रक्षा गर्नु राज्यको र त्यो राज्यका नागरिकको कर्तव्य पनि हुनेछ कि?
उनले काम गरिरहेको पाटन अस्पतालले आफ्ना कर्मचारी बिरामी हुँदा उपलब्ध औषधी र मेडिकल सामाग्री सहयोग गर्छ कर्मचारीलाई। केही समयसम्म त उनका लागि पनि त्यो सहयोग उपलब्ध भयो। तर, मंसिरदेखि अस्पताल प्रशासनले रोकिदिएको छ। आफूले खाईनखाई बिरामीको सेवा गरेको अस्पतालले क्यान्सरको चपेटामा परेर निरीह भएको अवस्थामा त्यसो नगरेको भए हुन्थ्यो जस्तो लागेको छ उनलाई।
अस्पतालमा ड्युटी गर्दागर्दै बिरामी भएर ढलेकी हुन् सकुन। आफ्नो कर्मचारी जीवन–मरणको लडाइँमा रहेका बेला तलब रोकिदिने, बिदा नदिने र उपलब्ध सेवा कटौती गर्ने अमानवीय काम अस्पतालका उच्च पदस्थ पदाधिकारी पक्कै नगर्लान्। यसै पनि, आज सकुनलाई परेको मर्का, के थाहा भोलि जसलाई पनि पर्न सक्छ ।
अस्पतालका अधिकारीहरुको मानवीय संवेदना मरेको छैन भने उनले पूर्ववत् रुपमै सेवासुविधा पाउलिन्। खासमा संस्थाका नीति नियम त परिवर्तनशील हुन्छन् र परिआउँदा त हो परिवर्तन गर्ने पनि।
सकुनको जीवन अघिल्लो वर्षको चैतसम्म हराभरा थियो। २०७२ चैत महिनाको पहिलो हप्ता श्रीमान् र साढे दुई वर्षको छोरासँगै पोखरा घुम्न जान अस्पतालबाट १५ दिनको छुट्टी लिइसकेकी थिइन्। उनको योजना थियो, एक हप्ता पोखरा घुम्ने र एक हप्ता माइती बस्ने।
लामो समयदेखि प्याप स्मेयर (पाठेघरको क्यान्सर जाँच) गराउन खोजिरहेकी थिइन्। जुन हरेक महिलाले गराउनुपर्छ। त्यसैले उनले सोचिन्, ‘बिदामा बस्नुअघि जाँच गराएर जाऊँ। आउँदा रिपोर्ट आइसक्छ।’
जब उनले जाँच गराइन्। जाँचिरहेकी डाक्टरको अनुहार एकाएक अँध्यारो हुँदै गयो। उनले भनिन्, ‘सिस्टर, तपाईंमा पाठेघर त असामान्य देखिन्छ। चार महिनाको बच्चा जस्तो छ, बच्चा छ हो पेटमा?’ त्यो दिन उनी रजस्वला भएको ६ दिन मात्रै भएको थियो। त्यसैले नभएको जानकारी गराइन्।
अवस्था असामान्य देखिएपछि उनले सिनियर डाक्टरलाई हेराउन चाहिन्। ती डाक्टरको मनसाय पनि त्यस्तै थियो। सिनियर डाक्टरले पनि पाठेघरको क्यान्सर भइसकेको हुन सक्ने जनाऊ दिइन्।
एकछिन अघिसम्म आँखैअघिको उज्यालो संसार एकाएक धमिलो देखिन् उनले। तर, उनी आम मान्छे जसरी क्यान्सरसँग डराइनन्। आफैं स्कुटी चलाएर हुन सक्ने जाँचहरु गराइन्, भेट्नुपर्ने विशेषज्ञ डाक्टर भेटिन्।
घुम्ने जाने योजना मात्रै क्यान्सिल गरिन्। तर, अस्पतालको ड्युटी पूर्ववत रुपमै थालिन्। पाठेघरको क्यान्सर भएको निश्चित भयो। उनले अन्य ठाउँमा क्यान्सर भए\नभएको हेराइन्। विशेष गरी पेटमा छ कि छैन भनेर पाटन अस्पतालमै इन्डोस्कोपी गराइन्। तर, इन्डोस्कोपी गर्ने डाक्टरले पेटमा क्यान्सर नभएको बताए।
त्यसपछि उनी आफैँले पाटन अस्पताल र बाहिर आफूले चिनेका डाक्टरलाई भनेर पाठेघरको अप्रेसन गराइन्। क्यान्सरका कारण पलाएको ट्युमर निकालियो। सँगै उनले एपेन्डिक्स पनि निकाल्न लगाएकी थिइन्।
पाठेघरको अप्रेसनपछि डाक्टरको सल्लाहमा उनले आफ्ना रिपोर्ट भारतको हेम्स अस्पताल पठाएकी थिइन्। त्यहाँ डाक्टरले हेरेपछि रिपोर्ट दिए। पाठेघरको अप्रेसन गरेर क्यान्सर ठीक पारेको ठानेकी उनलाई त्यो रिपोर्टले फेरि रिंगाटा छुटायो। रिपोर्टमा क्यान्सर पाठेघरको नभई, अन्यत्र भएको देखायो। उनीहरुले पेटको क्यान्सर हुनसक्ने जनाऊ दिएका थिए।
पछि उनी थप जाँच गराउन भारतको राजिव गान्धी अस्पताल पुगिन्। जहाँ इन्डोस्कोपी गर्नेबित्तिकै उनको पेटको क्यान्सर प्रस्टै देखियो। बायप्सी (क्यान्सरको अवस्था जाँच) गर्दा चौथो चरणमा पुगिसकेको जानकारी पाइन्।
उनलाई क्यान्सर बल्झाउने गल्ती इन्डोस्कोपी गर्ने अस्पतालकै डाक्टरले गरिदिए। उनले इन्डोस्कोपी गर्दा राम्रोसँग हेरिदिएनन्। ‘नर्स भएकाले क्यान्सरबारे थाहा छ। त्यसैले बढी आत्तिएको ठानेर पेटमा क्यान्सर रहे÷नरहेको हेरेजस्तो गरे। केही छैन भने,’ उनी सम्झिन्छिन्, ‘भारतमा इन्डोस्कोपी गराउँदा सुरुमै राम्रोसँग देखियो।’
उनलाई ग्यास्ट्राइटिसबाट अल्सर हुँदै पेटको क्यान्सर भएको रहेछ। ग्यास्ट्राइटिसका लक्षण देखिँदा उनले डाक्टरलाई देखाएकी नै हुन्। उनी सम्झिन्छिन्, ‘सबै नेपालीलाई छ ग्यास्ट्राइटिस, फलानो औषधी खानुहोस्, ठीक हुन्छ भनेर चिकित्सकले गम्भीर रुपमा जाँच गराउन चाहेनन्।’ त्यसपछि उनले तीन महिना ग्यास्ट्राइटिसको औषधी खाइन्। उनलाई अहिले लाग्छ, ‘त्यो बेला नै डाक्टरले गम्भीर रुपमा लिएर जाँचेको भए क्यान्सर चौथो चरणमा नपुग्दै पत्ता लाग्थ्यो कि? मैले भनेकी पनि थिएँ तर उहाँहरुले तपाईं त्यत्तिकै आत्तिनु हुन्छ । तीन करोड नेपालीललाई ग्यास्ट्रिक छ भन्नुभयो।’
कतिपय चिकित्सकले बिरामीको कुरालाई गम्भीर रुपमा नलिइदिने यस्तो प्रचलनबाट अरु पनि पीडित बनेका हुनसक्ने उनको अनुमान छ।
ग्यास्ट्राइटिस त उनको अस्पतालकै कामले भएको हो। उनी अप्रेसन थिएटरकी नर्स हुन्। ‘अस्पतालमा ८ घण्टा वा त्योभन्दा लामो सर्जरी हुने भए पनि एक कप दूधचिया मात्रै खान पाइन्छ। घरबाटै खाएर आउन भ्याइयो भने भ्याइयो नत्र भोकै। धेरै साथीहरुको वाध्यता होला यो,’ उनी भन्छिन्।
बिरामीको चाप अस्पतालमा नर्सको अभावका कारण कुनैबेला उनले १८ घन्टासम्म ड्युटी गरेकी छिन् । बिरामीको सेवा भनेर यसरी खाईनखाई खटेकी सकुन आफ्ना साथी सहकर्मीलाई सचेत हुन आग्रह गर्छिन्, ‘काममा घोटिँदा पनि आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनु है।’
स्वास्थ्य खबर डट कम