हरेक वर्षकाे फेब्रुअरी १४ का दिन प्रणयदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाइने परम्परा बसेको छ । भ्यालेन्टाइन डे लाई युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा मनाउन गर्छन् । तेस्रो शताब्दीको अन्त्यमा रोमबाट भ्यालेन्टाइन डे मनाउन थालिएको इतिहास भेटिन्छ । इतिहासमा उल्लेख भएअनुसार रोमका राजाले आफ्ना सैनिकहरुले नारीसँगको प्रेमसम्बन्धका कारण गोप्य कुराहरु बाहिर जानसक्ने डरले आफ्नो राज्यभरि प्रेम र विवाहमा रोक लगाउने आदेश दिएका थिए । राजाको आदेश विपरीत एकजना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए । तर राजालाई यो कुरा पचेन र ती भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फेब्रुअरीमा संसारभर ‘भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको आरम्भ भएको हो । यसलाई प्रेम गर्नेहरुको जितको दिनको रुपमा पनि मनाउने गरिन्छ । तर अहिले भ्यालेन्टाइन डे को नाममा भड्किलो र उत्ताउला गतिविधिहरु हुनथालेका छन्, जसका कारण भ्यालेन्टाइन डे को सार्थकता घट्न थालेको छ ।
विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामासमेत जरो गाडिसकेको छ । देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवामाझ भड्किलो भ्यालेन्टाइन डे को लोकप्रियता बढेको छ । प्रेमीप्रेमिकालाई मन पर्ने उपहार, फूल, कार्ड आदान–प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा भ्यालेन्टाइन डे लाई लिइन्छ । भ्यालेन्टाइन डे मा फूल तथा कार्ड व्यवसायीहरु आफ्नो वर्षकै राम्रो कमाइ हुने दिनका रुपमा पनि लिन्छन् । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत सागर निरौलाको प्रेमदिवसबारे सकारात्मक धारणा छ । ‘भ्यालेन्टाइन डे’ एउटा पर्व हो, हरेक वर्Èको आफ्नैै महत्व छ, उनी भन्छन्, ‘भ्यालेन्टाइन डे को दिन धेरै नयाँ सम्बन्धहरु बन्छन् ।’ रेडियो कार्यक्रम प्रस्तोता (आर.जे. ) आयुष्मा लिम्बू तेस्रो शताब्दीदेखि चल्दै आएको पर्वलाई मर्यादित भएर मनाउनु पर्ने बताउँछिन् । उपहार आदान–प्रदान गर्नु राम्रो चलन भए पनि भ्यालेन्टाइन डे को खास उद्धेश्य विपरीत हुन थालेको उनी बताउँछिन् । यस्ता भड्किला र उत्ताउला कार्यहरुलाई युवाहरुले नै हटाउनु पर्ने उनको बुझाइ छ । पर्पोज गर्नु र गिफ्ट दिनु सामान्य कुराको रुपमा लिए पनि खासगरी युवतीहरुलाई प्रेमप्रस्ताव राख्ने र जबर्जस्ती डेटिङ जानुपर्ने भन्दै तनाव पनि दिने गरिएको छ । केहीवर्ष अगाडि धरानमा एकजना युवतीलाई जबर्जस्ती फूल दिएकै कारण युवाहरुको एउटा जमातलाई प्रहरीले पक्राउ गरी कारबाही पनि गरेको थियो । यति मात्र हैन, भ्यालेन्टाइन डे का दिन डेटिङ लगेर बलात्कार गरिएका घटनाहरु पनि सार्वजनिक हुने गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयमा स्नातकोत्तर तह अध्ययनरत केदार मिश्रको विचारमा ‘भ्यालेन्टाइन डे’ ले नेपाली संस्कृतिमाथि अतिक्रमण गरेको छ । उनका अनुसार यसदिनको प्रभावले वसन्त पञ्चमीको आकर्षणलाई कम गरेको छ । सञ्चार माध्यमले पञ्चमीको दिनलाई प्रेमदिवसको रुपमा प्रचार गरे यसको महत्व बढ्ने उनको धारणा छ । पाल्पाको रानीमहल, काठमाडौंको रानीपोखरीलाई पनि प्रेमको प्रतीकका रुपमा लिइन्छ । फागु पूर्णिमालाई प्रेम, सद्भाव बाँड्ने पर्वको रुपमा लिइन्छ तर यी सबैलाई ओझेल पारिएको उनको आरोप छ । ‘भ्यालेन्टाइन डे’ मनाउनुमा अप्ठेरो छैन तर हाम्रो संस्कृतिको संरक्षणमा समेत ख्याल राख्नुपर्छ’ मिश्र भन्छन् ‘भ्यालेनटाइन डे को पनि आफ्नो विशेषता छ, त्यसलाई त्यो विशेषता जानेकाहरुले नै मनाउनु पर्छ । अहिले भ्यालेन्टाइन डे को अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ, कतिपय कार्यक्रम राम्रै हुन्छन् भने कतिपयमा मदिराको व्यापार बढ्छ । यसले युवापिँढीलाई कुलततर्फ पनि लगिरहेको छ भन्दा फरक नर्पला ।’ ‘भ्यालेन्टाइन डे’ मा प्रेमीप्रेमिकाबीच सबैभन्दा धेरै रातो रङको गुलाबको फूल आदान–प्रदान हुन्छ । यो दिन विश्वभरि करोडौं डलरको गुलाबको फूलको व्यापार हुने गर्दछ । नेपालमा भारतबाट चार करोडको रातो गुलाब भित्रिएको समाचार पनि आएका छन् । अन्य गिफ्ट आइटमको पनि राम्रो कारोबार हुने व्यापारीहरु बताउँछन् ।