धरान/पूर्वका मगर जातिले नाँचिने हुर्रा धनकुटा भेडेटार र नाम्जेको पहिचानको रुपमा विकास भइरहेको छ । विशेषगरी कात्तिके औशीदेखि पूर्णिमाको १५ दिनसम्म नाँचिने हुर्रा पछिल्लो समय नाम्जे क्षेत्रको पहिचानको रुपमा विकास भइरहेको हो । धनकुटाको मुडेबास गाविसबाट हुर्राको प्रारम्भ भएको विश्वास मगर बुढापाकाहरुको छ । करिव ९० वर्ष अघि त्यहाँका वुढापाका र युवाहरु समुहमा नाच्दै हिड्दा हुर्रे हर....रे..भन्दै हिँड्ने क्रममा हुर्रा नामकरण भएको विश्वास गरिन्छ । मगर जातिले आफ्नो साँस्कृतिक पहिरन लगाएर हुर्रा नाँच्दा को बुढा, को तरुनी त्यसको हेक्का हुँदैन । यो नाँच संस्कृति र मौलिक परिवेशलाई सम्बोधन गरेर नाचिने लिम्बू जातिको पालाम, राईको साकेला, तामाङजातिको सेलो जस्तै मगर जातिको हुर्रा संस्कृति र मौलिक परिवेशलाई सम्बोधन गरेर नाचिने नाच भएको नेपाल मगर संघका केन्द्रीय सदस्य शारदा मगरले बताइन् । उनका अनुसार बाँसुरी, झ्याम्टा र मादल बजाएर हात समातेर गोलो घेरा हाली लोक भाकाको एकखालको ताललाई पछ्याए एकपाथी मकै दुईपाथि भयो कुटेले गोडेर .......देशै रमाइलो ...यस्तै–यस्तै भाकामा नाचिने गरिन्छ । हुर्रा नाँच्दा देशको एकता र संस्कृति संरक्षणका बारेमा गीतमार्फत् सन्देश प्रवाह गरिने गरिएको छ । धनकुटाको भेडेटारदेखि ४ किलोमिटर पूर्वोत्तरमा रहेको नाम्जे बजारमा यो नाच आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागतार्थ नाचिन्छ । नाम्जेलाई पर्यटन क्षेत्र घोषणा गरिएसँगै पर्यटकीय क्षेत्र बनाउनको लागि होटल एशोसिएसन अफ भेडेटार, नाम्जे पर्यटन प्रवद्र्धन समिति, थुम्की सिंचाई थली, नाम्जे व्यबस्थापन समिति, ग्रामिण माविलगायत संघ–संस्थाहरु लागिपरेका छन् । होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष लीलाराज लावतीले मगरबासीमात्र नभएर सबैको एकता र मेलमिलापको लागि हुर्रा नाँच नाचिने गरिएको बताए । मगर जातिको बाहुल्यता रहेको नाम्जेमा मगरले मात्रै होइन राई, लिम्बु, तामाङ, क्षेत्री ,बाहुनलगायत सबै जातजातिहरुले हुर्रा नाच्ने गरेका छन् । आजभोली हुर्रा नाचको विकाससँगै साँस्कृतिक विचलनसमेत आउन थालेको अध्यक्ष लावतीको भनाइ छ । सिएनएनले उत्कृष्ट १० मा नाम्जे परेसंगै पर्यटनमाझ हुर्राको आक्रर्षण थप बढेको छ । नाम्जेमा १९ वटा घरमा होम स्टे (पाहुनाघर) को व्यवस्थासमेत गरेका छन् । पछिल्लो समयमा सहरियाहरु गाउले परिवेश नियाल्न,कुहिरोसँग लुकामारी खेल्न, गर्मीको समयमा गर्मी छेक्नका लागि पनि आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेको स्थानीय तीर्थराज मगर बताउँछन् । गाइडबुक तथा टभल वेबसाइट कम्पनीहरुको नेपाल भ्रमण गर्नु पर्ने संसारका उत्कृष्ट देशहरुको सुचीमा नेपाल अग्रपंतीमा पर्नु पनी हामे लागी अवसरको कुरा हो । पर्यटन प्रर्वद्रनमा होटल एशोसिएसन जति लागिपरेको छ, त्यसरी नै सबै लागिपर्ने हो भने हुर्रा नाँचले आन्तरिक मात्रै हैन, बाह्य पर्यटकहरुलाई पनि तान्ने थियो । यसका लागि स्थानीयवासीहरुले नै बढीभन्दा बढी जोड दिन आवश्यक छ ।