खाने कुराको मामिलामा हामी उतिसाह्रो ध्यान दिँदैनौँ । खास भन्नुपर्दा बिरामी नपरी खानेकुराको विषयमा धेरैले वास्ता गर्दैनन्।

के हामीले खाइरहेको खानेकुरा सन्तुलित छ ? पोषणयुक्त छ ? पौष्टिक तत्व छ कि छैन ? कस्ता खानेकुरा कसरी खानेरु यस्ता प्रश्नले धेरै मानिसलाई छुँदैन। बस, खान पाए पुग्छ।

तर, आहार विज्ञानले खाने कुरालाई त्यति सामान्य मान्दैन। खानाको सन्तुलन र शरीरको सन्तुलन एकआपसमा जोडिएको हुन्छ। खानामा तालमेल नमिल्दा शरीरको तालमेल पनि बिग्रिन्छ।

त्यसैले खाना कतिको सन्तुलित छरु पौष्टिक र पोषणयुक्त खाना खाइरहेका छौँ कि छैनौँरु बिरामी हुँदा खानेकुरामा कसरी ध्यान पुर्‍याउने ? स्वस्थ भोजन कसरी बनाउनेरु जस्ता विषयमा ध्यान पुर्‍याउनुपर्छ।

चिकित्सा शास्त्रअन्तर्गत आहार विज्ञानमा यिनै प्रश्नहरुको खोजी र समाधानका लागि अध्ययन–अध्यापन गराइन्छ। आहार विज्ञानले दैनिक जीवनमा स्वस्थ भोजन र उपयुक्त पोषणबारे सक्षम बनाउने ज्ञान दिन्छ।

शिल्पी कुमारी, डायटिसियन

आहार विज्ञान पढेका आहारविद (डायटिसियन) को मानव स्वासथ्यमा ठूलो भूमिका छ। डाइटिसियनले खानाको तयारी, सेवामा निरीक्षण, परिमार्जित आहारको विकास, अनुसन्धान र राम्रो पोषण बानीमा व्यक्तिहरू र समूहलाई शिक्षा दिन्छन्।

चिकित्सा क्षेत्रमा पोषण सम्बन्धी सहयोग प्रदान गर्नु, सुरक्षित खाना तयार गर्नु, बिरामीसँगसँगै सामान्य मानिस र समुदायका लागि आकर्षक र पौष्टिक खानाबारे सल्लाह दिनु डायटिसियनको काम हो। डायटिसियनले आहारका कारण उब्जिएका चिकित्सकीय समस्यालाई सम्बोधन गर्नुका साथै आहार संशोधन पनि गर्छन्।

उदाहरणका लागि, चिकित्सक र स्वास्थ्य हेरविचार प्रदायकसँग परामर्श गरी डायटिसियनले सामान्यतया खाना उपभोग गर्न असमर्थ बिरामीलाई विशिष्ट कृत्रिम पोषण आवश्यकता सम्बन्धी परामर्श र खाना प्रदान गर्छन्।

आहारविद् (डायटिसियन) र पोषणविद् (न्युट्रिसनिस्ट):

डायटेटिक्स भनेको पोषणको विज्ञान हो। जसले मान्छेको खाना र जीवन शैली व्यावहारिक रुपमा छनौट गर्न सिकाउँछ। साथै स्वास्थ र रोगी दुवैका लागि पोषणको व्याख्या र सञ्चार गर्छ। डायटेटिक्सको पाठ्यक्रममा अस्पताल र समुदाय दुवैलाई समेटिएको हुन्छ ।

डायटिसियनले स्वास्थ्य सम्बन्धी हेरचाह गर्ने, पोषणको अध्ययन तथा अनुसन्धान गर्ने गर्दछन्। पोषणविद (न्युट्रिसनिस्ट) हरुले भने खानामा भएका पौष्टिक तत्वहरु, शरीरमा पौष्टिक तत्वले गर्ने काम र आहार, स्वास्थ्य र रोगहरुको सम्बन्धबारे अध्ययन गर्छन्।

पोषणविदहरु एउटा भोजनमा केन्द्रित भई त्यसले मानिसमा गर्ने असरबारे अध्ययन गर्छन् भने आहारविदहरु मानव र मनाव स्वास्थ्यलाई खानाले कसरी प्रभाव पर्छ भन्ने कुरामा केन्द्रित हुन्छन्।

डायटिसियनको महत्व

आहारविदको स्वास्थ्य वातावारणीय हेरविचारमा उल्लेखनीय भूमिका रहन्छ। स्वास्थ्य वातावरणमा भइरहेको परिवर्तन र जीवनशैली सम्बन्धी रोगहरुबारे डायटिसियनले अनुसन्धान गरिरहेका हुन्छन्। डायटिसियनले धेरै क्षेत्रमा काम गर्न सक्छन्।

डायटिसियनले विभिन्न भूमिकामा रहेर मानव स्वास्थ्य र जीवनशैलीबारे उपयुक्त सल्लाह र सुझाव दिन सक्छन्। जस्तैः चिकित्सकीय डायटिसियन, सामुदायिक डायटिसियन, डायटिक शिक्षक, फुड सर्भिस डायटिसियन, सार्वजनिक स्वास्थ्य डायटिसियन, अनुसन्धान डायटिसियन।

बिरामी र डायटिसियन

अस्पतालमा बिरामीको सङ्ख्याको अनुपातमा डायटिसियन मिलाउनुपर्छ। बिरामीहरु अस्पतालले दिने खानामाथि विश्वस्त हुन्छन्। तर, सन्तुलित भोजनको व्यवस्थाका लागि अस्पतालहरुमा विरामीको संख्याका आधारमा डायटिसियन हुनु जरुरी छ। पोषणयुक्त सन्तुलित भोजनको योजना गर्ने डायटिसियन र रोगीको अनुपात मिलाउन सकियो भने बिरामीको हेरबिचारमा एउटा ठूलो सफलता मिल्न सक्छ।

भारत नयाँ दिल्लीस्थित स्वास्थ्य सेवा निर्देशनालयको सुझाव अनुसार सात सय ५० वेड संख्या भएको अस्पतालमा एक जना प्रमुख डायटिसियन, एक जना वरिष्ठ डायटिसियन, एक जना डायटिसियन र ६ जना सहायक डायटिसियन आवश्यक पर्छ।

यसरी बिरामीलाई जतिसक्दो चाँडो स्वस्थ बनाउन खानपानको महत्व अत्यन्तै हुने भएकाले त्यसको व्यवस्थापन र गुणस्तर कायम गर्न सक्ने आहारविदको महत्वलाई सबैले बुझ्नु जरुरी हुन्छ ।