विराटनगर/सुन्दरी प्रतियोगिताहरु संचालन गर्दै प्रतियोगिबाटै रकम लिएर नतिजा घोषणा गर्ने गरेको आरोप लागेपछि स्थानीय प्रशासनको निर्देशनमा विराटनगरको जय मिडिया म्यानेजमेन्टमाथि प्रहरीले छानविन थालेको छ ।
विगतदेखिनै यस प्रकारको अनियमितता गरेको गुनासो आइरहेको जय मिडिया विरुद्ध मंगलवार पीडितहरुले लिखित उजुरी दिएपछि प्रशासनले सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
मिस कोशी प्रतियोगिता आयोजना गरेको जय मिडियाले फागुन ७ गते प्रतियोगिताको फाइनलमा तुलनात्मक कम क्षमता प्रदर्शन गरेकी सुजना खड्का बिजय हुने निश्चित भएको कुरा अघिल्लो दिन नै सार्वजनिक भइसकेको थियो ।
७ गते शनिवार भएको फाइनल प्रतियोगितामा सोही अनुसार नतिजा आएपछि अन्य प्रतियोगिहरु आक्रोशित हुँदै रकम लिएर नतिजा घोषणा गरेको दावी सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । प्रतियोगितामा भाग लिएकी काठमाण्डौकी रिया चन्दको अगुवाईमा जय मिडियाको ठगी धन्दा विरुद्ध उजुरी दर्ता भएको हो ।
उनलाई अन्य १४ जना प्रतियोगिले पनि साथ दिएका छन् । आयोजक संस्थाका कर्मचारी अविजित बुढाथोकी मार्फत प्रतियोगिहरुसंग रकम माग गरेको र आफुसंग पनि १० लाख रुपैंया दिने भए बिजेता बनाइदिने प्रस्ताव पटक पटक आएको चन्ले जानकारी दिइन् ।
उनले भनिन् ‘निष्पक्ष प्रतिष्पर्धा हुन्छ भने मात्र सहभागि हुने आफ्नो शर्त स्वीकार गरेपछि मात्र म भागलिन गएकी थिएँ तर मैसंग पैसा मागियो, पहिले १० लाख भने पछि ७ लाखसम्म दिए बिजयी बनाइदिने आश्वासन दिए तर मैले ५ लाख रुपैंया भए मजाले बिबिए अध्ययन सक्ने जवाफ फर्काइदिएँ ।’ रकम नदिएकै कारण अन्य प्रतियोगिको तुलनामा कम क्षमता प्रदर्शन गरेकी खड्कालाई बिजयी घोषणा गरिएको आरोप अन्य प्रतियोगिको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा प्रतियोगिता संचालनकालागि अनुमति माग गरेपछि प्रशासनले मिस कोशी सञ्चालनकालागि अनु्मति दिएको थिएन । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले गलत तरिकाले काम गर्ने संस्थालाई छानविनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको र अबदेखि यस प्रकारको काम गर्न रोक लगाउने गरी निगरानी बढाएको बताउनुभयो ।
चन्द लगायतका पीडितहरुले रकम माग गरेको कुरा कतै उजुरी गरे वा पत्रकारसम्म पु¥याए जे पनि हुन सक्ने भन्दै धम्कि दिएको तथा रकम मागेको भ्वाइस क्लिप्स् र टेक्स्ट म्यासेजहरु प्रमाणको रुपमा पेश गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बुधवार जय मिडियाका सञ्चालक जयराज रायलाई झिकाएको छ ।
आफ्ना सबै कागजपत्र तथा प्रतियोगिताको पूर्ण सूचि पेश गर्न भनेपछि रायले कागजपत्र बुझाएका छन् । पीडितहरुका अनुसार विभिन्न उपाधिकालागि १ लाख देखि १० लाख रुपैंयासम्म आयोजकले माग गरेका थिए । तर आफुमाथि लागेको आरोप झुठो भएको र निष्पक्ष निर्णय निर्णायकबाट भएको रायले दावी गरे ।
उनले भने ‘कसैले उचालेर पराजित प्रतियोगिलाई उजुरी दिन लगाइएको हो हामीले गल्ती गरेका छैनौं ।’विगतमा यस प्रकारको प्रतियोगिता गर्न जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृती लिनु पर्ने व्यवस्था भएपनि अहिले भने त्यस्तो व्यवस्था छैन ।
सहायक प्रजिअ पौडेलले भन्नुभयो ‘कानुन अनुसार कुनै कार्य गर्ने उद्देश्य राखेर स्थापना भएको संस्थालाई फेरी त्यही काम गर्न अनुमति दिनु उचित नहुने भएकोले अनुमति दिने काम बन्द गरिएको हो तर त्यसो भन्दैमा गलत काम गर्न पाइदैन भन्ने आयोजकले बुझ्नु पर्छ ।
अहिले जय मिडियाको बिषयमा उजुरी आएको छ गलत पाइए कडा कारवाही हुन्छ र उजुरीकर्ताले गलत उजुरी दिएको पाइए उजुरीकर्तामाथि पनि कारवाही हुन सक्छ ।’ उजुरीकर्ता चन्दले गलत उजुरी नदिएको र त्यस्तो ठहरे कारवाही भोग्न तयार रहेको बताउनुभयो ।
यतिबेला सुनसरी, झापा, र मोरङमा यस प्रकारको कम्तिमा पनि पाँच प्रतियोगिताहरु सञ्चालनकै क्रममा छन् । मोरङमा भएको पछिल्लो घटनाले सुन्दरी प्रतियोगिताको नाममा हुने विकृतीलाई उजागर गरिदिएको छ ।
यसबाट अन्य जिल्लाका आयोजकहरु पनि आशंकाको घेरामा परेका छन् । गत वर्ष विराटनगरमा जय मिडियाले नै यस्तै हर्कत गरेको कुरा वाहीर आएको थियो भने झापामा पनि विवाद चुलिएको थियो । यस्तो प्रवृतिलाई निरुत्साहित गर्न अब जिल्ला प्रशासनले आवश्यक कदम चाल्ने तयारी गरेको सहायक प्रजिअ पौडेलले बताए ।