काठमाडौं/ नयाँ शैक्षिक सत्रको लागि झन् धेरै पाठ्यपुस्तकको अभाव हुने भएको छ । यसैपनि आवश्यक सबै पाठ्यपुस्तक चैतभरिमा छाप्न नसक्ने भएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले नै स्थानीय चुनावको मतपत्रपनि छाप्नुपर्ने भएकाले पाठ्यपुस्तक झनै अभाव हुने भएको हो ।

६ देखि १० कक्षासम्मका २ करोड एक लाख पाठ्यपुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ५ लाख मात्र छापिसकिएको छ । केन्द्रका निर्देशक कपिलदेव पोख्रेलले चैतभरिमा १ करोड ५० लाख पाठ्यपुस्तक मात्र छाप्न सकिने र ३० लाख पाठ्यपुस्तक साझा प्रकाशन गृहलाई छाप्न दिने तयारी रहेको जानकारी दिए ।

मतपत्रको काम पनि आएपछि केन्द्रसँग रहेका १४ वटा मध्ये ३ वटा छपाई मेसिन मतपत्र छपाईको लागि प्रयोग गर्ने तयारी गरिएको उनले जानकारी दिए । निर्वाचन आयोगले जनशक्ति, प्रेस तथा सुरक्षाका हिसाबले उपयुक्त रहेकाले मतपत्र छपाइको काम जनक शिक्षालाई केन्द्रलाई नै दिने निर्णय गरेको छ ।

केन्द्रले एक करोड ५० लाख मतपत्र वैशाख पहिलो हप्ताभित्र छापिसक्ने योजना बनाएको छ । केन्द्रले चैतको पहिलो हप्तादेखि छाप्न सुरु गरेर ३५ दिनभित्र सबै मतपत्र छाप्ने तयारी गरेको केन्द्रका निर्देशक पोख्रेलले जानकारी दिए ।

उनका अनुसार आयोगले उपलब्ध गराएको ४ वटा मेसिनसहित केन्द्रको ३ वटा मेसिनबाट मतपत्र छपाईको काम हुनेछ । विसं २०३६ सालको जनमत सङ्ग्रहदेखि अहिलेसम्मका सबै चुनावको मतपत्र केन्द्रले नै छाप्दै आएको छ ।