धरान–१६ की एक किशोरीलाई अभिभावकले काठमाडौंको एक सुधारगृहमा तीनमहिना राखेर केहीदिनअघि मात्र घर ल्याए । सानैदेखि अलि मोटो जिउ भएकी उनलाई साथीहरुले स्लिम हुन ‘नाइट्रोजेपाम’(ट्याब्लेट) खाने सल्लाह दिए ।
साथीहरुको सल्लाह बमोजिम नाइट्रोजेपाम (ट्याब्लेट) खान थालेकी उनको ज्यान घटेन, उनी थाहै नपाई कुलतमा फसिन् । छोरीको व्यवहारमा परिवर्तन हुँदै गएको देखेपछि अभिभावकले सोधिखोजी गरेपछि छोरी कुलतमा फसेको थाहा पाएर काठमाडौंको नामी सुधारगृहमै राखिएकी उनी अहिले फर्किएकी छिन् ।
धरानको एक सुधारगृहमा भेटिएका १८ वर्षीय किशोर अन्य साथीहरुको तुलनामा अलि मोटै छन् । मोटोपन घटाउन उनले जानेसम्मको प्रयास गरे तर पार लागेन । उनलाई पनि साथीहरुले नाइट्रोजेपाम खाने सल्लाह दिए । उनका केही साथीहरुले पनि ‘नाइट्रोजेपाम’ (ट्याब्लेट)खाएर स्लिम भएको सुनाए ।
साथीहरुको सल्लाह मानेर उनले ट्याब्लेट खान थाले । उनी पनि कुलतमा फसे । पढाइ बिग्रन थाल्यो, कलेजमा पनि उनको गतिविधि अलि फरक हुँदै गएपछि शिक्षकहरुले अभिभावकलाई सुनाए । शिक्षक र अभिभावकले कलेजकै छतमा ट्याब्लेट खाँदै गर्दा फेला पारे, उनी अहिले सुधारगृहबाट निस्कन लागेका छन् । यी घटनाहरुले एउटा नराम्रो सङ्केत गर्दैछ । अहिलेका किशोर किशोरीहरु स्लिम बन्ने धुनमा कुलतमा फसिरहेको पुष्टि यी घटनाहरुले गर्दछ ।
खासगरी कलेज पढ्ने किशोर–किशोरी तथा युवतीहरूले मोटोपन घटाएर स्लिम बन्ने भ्रमका कारण ‘नाइट्रोजेपाम’(ट्याब्लेट) नामक लागुऔषध प्रयोग गर्न थालेका छन् । ‘सुरुमा त मलाई विश्वास लागेन, पछि साथीको वेट घटेपछि मैले पनि खान थालेँ तर मेरो वेट घटेको छैन, एकदिन खाएन भने जिउ काम्न थालेको थियो’ सुधारगृह बसेर आएकी किशोरीले भनिन् –‘मेरा साथीहरु अहिले पनि ट्याब्लेट खाइरहेका छन् ।’ उनकाअनुसार यो औषधि खान थालेपछि एकोहोरिने र आलश्यता छाउने समस्या सुरु हुन्छ ।
पूर्व लागुऔषध प्रयोगकर्ता दिनेश राईका अनुसार नाइट्रोजनले मोटोपन घटाउने र गोरो बनाउने भ्रम हो । ‘मैले पनि नाइट्रोजन खाँदा आफूलाई गोरो र स्लिम देख्थेँ तर त्यस्तो चाहिँ हुँदैन, अरुको कुरा सुनेर कुनै पनि औषधि प्रयोग नगर्न आग्रह गर्छु’ उनले भने, ‘युवाहरूमा यो उमेरमा सुन्दर र आकर्षक देखिने चाहना हुन्छ, यही कारण पनि उनीहरु यस्ता भ्रममा परिरहेका छन् र आफूलाई कुलतमा फसाइरहेका छन् ।’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा. रविन भण्डारीकाअनुसार लागुऔषध प्रयोगबाट स्वास्थ्य समस्या उत्पन्न भएपछि उपचार गर्न आउनेहरु पनि छन् । डाक्टर भण्डारीका अनुसार नाइट्रोजेपाम ट्याब्लेट खासगरी निद्रा लगाउन बानी पार्ने औषधिका रुपमा प्रयोग गरिने जानकारी दिए ।
‘यो औषधिले मोटोपन घट्छ भन्नु भ्रम मात्र हो, मोटोपन घटाउन स्वस्थकर खाना, नियमित व्यायाम नै हो’ –उनले भने । डा.भण्डारीका अनुसार मोटोपन अस्वस्थ र अनियमित खाना, नियमित रुपमा व्यायामको अभाव र वंशाणुगत प्रभावबाट हुने गर्छ । मोटोपनलाई कुनै ट्याब्लेटले स्लिम बनाउन सक्दैन । यसको प्रयोग नगर्नु नै बुद्धिमानी हो ।
लामो समयदेखि लागुऔषध नियन्त्रणको क्षेत्रमा कृयाशील किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्र धरानका निर्देशक कमल तिगेलाका अनुसार अहिले यो समस्या अधिकांश युवतीहरुमा देखिएको छ । ‘नाइट्रोजेपाम ट्याब्लेटले जीवन अस्तव्यस्त बनाउँछ । जीवन अस्तव्यस्त भएपछि मान्छे दुब्लाउँछ, यसलाई स्लिम भएको भन्ने भ्रम छ’ तिगेलाले भने, ‘यस्ता भ्रम हटाउन विद्यालयस्तरमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ । यस्तै भ्रमका कारण कुलतमा फसेकाहरुलाई परामर्श दिन तथा सुधारका लागि सुधारगृहमा राखिने गरिएको छ ।’
‘अहिले यो समस्या निकै जटिल रुपमा आएको छ, हामीले लागु औषध प्रयोग गर्ने महिलाहरुको काउन्सेलिङको क्रममा यो कुरा बुझेका छौं, बेलैमा यसतर्फ ध्यान दिनु जरुरी छ’–उनले थपे ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले डाक्टरको सिफारिस बिना कुनै पनि प्रयोजनमा नाइट्रोजेपाम लगायतका औषधि प्रयोग गर्नु गैरकानुनी भएको बताए । उनले भने, ‘यदि यस्तो फेला परेमा कानुनी कारबाही गर्ने वा सुधारगृहमा पठाउँछौँ, घटना हेरी कारबाही प्रक्रिया अगाडि बढ्छ ।’