दौडिनु स्वास्थ्यको लागि फाइदाजनक त हुँदै हो । त्योसँगै यो एउटा खेल पनि हो । एथलेटिक्सभित्र पर्ने दौडलाई नै ‘प्यासन’ बनाएर विश्वभर चिनाउनेहरु थुप्रै छन् ।

नेपालकै कुरा गर्ने हो भने २०२८ सालदेखि दौडमा पाइला हालेका वैकुण्ठ मानन्धर नेपाली दौडका ‘शान’ हुन् । नेपालबाट ओलम्पिकमा चारपटकसम्म सहभागी हुने एक्लो नेपालीसमेत हुन् । सायद पाँचौंपटक ओलम्पिकमा सहभागी भएका भए उनले आफ्नो नाम ‘गिनिज बुक’ मा लेखाउने थिए । तर, त्यो हुन सकेन । उनले ४१ वर्ष दौडमा एकछत्र राज गरे । त्यति मात्रै हैन, दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक दिलाउने उनले भारतको कोलकत्तामा सम्पन्न तेस्रो साफमा बनाएको २ घण्टा १५ मिनेटको रेकर्ड हालसम्म कसैले पनि तोड्न सकेको छैन । यही नै उनको दौडको वास्तविकता हो ।

दौडको कुरा आउँदा अहिले विश्वमा चर्चित उसेन बोल्टको नाम पनि अग्रपंक्तिमा आउँछ । जसलाई चितुवाको संज्ञा दिइन्छ । जसले आफ्नै रेकर्ड तीनपटकसम्म तोड्दै आएका छन् । नेपालकै अल्ट्रा धाविकाको रुपमा मीरा राईले विश्वभर चिनाउँदै छिन् । दौडलाई सामान्य रुपमा हेर्दा स्वस्थ बन्नको लागि गरिने गतिविधिमा पर्छ भने ‘प्यासन’ को रुपमा लिने हो भने वैकुण्ठ र मीरा जस्ता धावक–धाविकाको उदाहरण बन्न सक्नेछन् । नेपालमा दौडको प्रशस्तै सम्भावना रहेको कुरालाई अल्ट्रा धाविका मीराले नकारेकी छैनन् । सम्भावनालाई अवसरमा बदल्नु पर्ने कुरालाई उनले बारम्बार दोहो¥याउँदै आइरहेकी छिन् ।

दौडको कुरा गर्दा धरानले २०६८ सालदेखि निरन्तर रुपमा दौडिन थालेको छ । धरान रन समूहले हरेक शनिबार दौडाउने दौडको पहिचान अहिले देशभर छ । जसले वर्षको एकपटक ८ किलोमिटरको ‘नेवा च्यारिटी ८ के रन एण्ड वाक’ गराउने गरेको छ । च्यारिटी फण्डका लागि गरिने यो प्रतियोगिता देशभर प्रख्यात हुँदै गएको छ । जहाँ सबैभन्दा बढी धावकधाविकाहरुले स्पर्धा गर्दछन् । विभिन्न उमेर समूहमा दौडाउने यो प्रतियोगितामा बच्चादेखि भेट्रानसम्म दौडिन्छन् । र, त्यहीअनुसारको पुरस्कारको व्यवस्था पनि गरिन्छ ।

हरेक शनिबार यलम्बर पार्कमा ३ दशमलव ५ किलोमिटर दौडाउने समूहमा झण्डै ७ हजारभन्दा बढीले सदस्यता लिएका छन् । सदस्यता लिएकाहरुमध्ये केही संख्यामा दौडनका लागि सहभागी हुन्छन् । जसले २० हप्ता पूरा गर्छ, उसलाई टिसर्ट दिएर प्रोत्साहन गरिन्छ । ‘यो कार्यक्रमको उद्देश्य स्वस्थ बनाउने मात्रै हैन, दौडप्रति जागरण ल्याउने पनि हो’ संस्थाका अध्यक्ष रमु राई भन्छन्, ‘यहाँका उत्पादनहरु देशका ठूला–ठूला प्रतियोगिताहरुमा सहभागी होउन भन्ने हो ।’ २०६८ सालमा युकेमा बस्दै आएका सन्तोष राईले धरान रनको अवधारणा ल्याएका थिए । त्यो अवधारणालाई मूर्तरुप दिन धरान रन समूह लागिपरेको छ ।

हालसम्म समूहले ३ सय हप्ता रन गराइसकेको छ । धरान रनमा दौडिनेहरु विभिन्न प्रतियोगिताहरुमा सहभागीसमेत भएका छन् । कतिपय खेलाडीहरु आफ्नै किसिमले जाने गरेका छन् भने कतिपयलाई समूहको नै प्रतिनिधित्व हुने गरी पठाउने गरेको छ । विशेषगरी  पूर्वको इटहरी, विराटनगर, दमक, ताप्लेजुङ, तेह्रथुमलगायतका प्रतियोगितासँगै काठमाडौंमा हुने म्याराथुनमासमेत जाने गरेका छन् । यो पटकको ८ के नेवामा २१ सय बढी धावकधाविकाहरु दौडिँदै छन् ।

‘स्वास्थ्य धरान, स्वस्थ धरान’ को नाराले सुरु भएको यो धरान रन नियमित हुने रन हो । ‘पाँचौं नेवा च्यारिटी ८ के रन’ ले दौडिने मात्रै काम गर्दैन । सामाजिक कार्यमा खर्चिनेसमेत गरेको छ । अपाङ्ग, असहाय, तथा गरिब विपन्न परिवारहरुलाई राहत प्रदानसमेत गर्ने गरेको छ । यो पटक विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि फण्ड जम्मा गर्ने उद्देश्य राखेको संस्थापक सन्तोष राई बताउँछन् ।

फण्डमा सङ्कलित रकमको ब्याजले विपन्न तथा गरिब परिवारसँगै असहाय विद्यार्थीहरुलाई प्रत्येक वर्ष शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य राखेको छ । यसअघि साहित्यकार लक्ष्मी राईलाई पहिलो नेवा च्यारिटी ८ के रनमा सहयोग गरेको थियो भने दोस्रोमा दृष्टि होमद्वारा सञ्चालित ह्याप्पी होमको लागि फण्ड सङ्कलन गरेको थियो ।

तेस्रोमा धरान पोजेटिभ समूहमा रहेका एचआइभी सङ्क्रमित बालबालिकाहरुको लागि खर्चेको थियो भने चौथो च्यारिटी रनमा अपाङ्ग, असहाय परिवारहरुलाई सहयोग गरिएको थियो । यो पटक भने फण्ड सङ्कलन गरेर कोष खडा गर्ने लक्ष्य राखेको छ । ‘पैसा दिएर मात्रै नहुने रहेछ, त्यसैले यसपटक हामीले कोष खडा गरेर त्यो बापत आएको ब्याजले सहयोग गर्ने लक्ष्य राखेका छौं’ –उपाध्यक्ष लोक लिम्बूले बताए ।

धरान रन देशमै सबैभन्दा बढी रनरहरु दौडाउने एकमात्रै संस्था हो । जहाँ १५ सयभन्दा बढी धावकधाविकाहरु दौडिने गर्दछन् । यसलाई निरन्तरता दिनको लागि समूह दत्तचित्त भएर लागेको छ । यो रनको लक्ष्य स्वास्थ्यसँगै नयाँ दौडमा नयाँ पिँढी उत्पादन गर्ने हो । त्यसैले हरेक हप्ता दौडिन्छ धरान ।