धरान/लन टेनिस भन्ने वित्तिकै विदेशी खेलाडीको याद आइहाल्छ । तर, यस्ता खेलाडी पनि छन् । जसले कुनै बेला नेपाली हुनुको ‘शान’ बढाए । भलै उनले देशका लागि खेलेनन् ।
त्यस्ता पात्र जो दार्जिलिङको दालीमा जन्मिए पनि मृत्युवरण गर्न नेपाल आइपुगे । धरान–१५ अमरज्योति पथका कुमार प्रधान जसले लङ्ग टेनिसमा भारतको लागि राम्रै योगदान दिए । उनको योगदानलाई भलै भारतले नसम्झेला । तर, उनी भारतको लागि जीवनभर लन टेनिसमा बिताए । १७ वर्षको उमेरदेखि उनले लन टेनिसमा आफ्नो कौशल प्रदर्शन गरेका थिए । जव उनले खेलमा हात हाले । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन् ।
दार्जिलिङका लागि केही समय खेले । त्यसपछि कलकत्ता गएका उनी त्यहीबाट आफ्नो कौशलका कारण उडिसा राज्यले लामो समयसम्म उनलाई खेलाडी मात्रै हैन, प्रशिक्षकका रुपमासमेत उभ्यायो । जीवनको उत्र्तराद्र्धसम्म उनले उडिसाकै लागि खेले । ४२ वर्षसम्म खेल जीवनमा बिताएका उनी केही वर्ष अघि मात्रै नेपालमा प्रवेश गरेका थिए । तर, त्यो बीचमा उनले ब्रिटिस घोपा क्याम्पमा विदेशीहरुलाई प्रशिक्षण दिए ।
नेपाल आउँदै जाँदै गरेका उनले भारतमा विभिन्न ट्रफीहरु उचाल्न सफल भए । सन् १९६१ मा सिंगल तर्फ श्रीरामपुर च्याम्पियनसीप विजेता बनेका उनी १९६२ मा कलकत्तामा खेलाइएको ओडियन्स क्लव च्याम्पियनसीप बने । श्रीरामपुर च्याम्पिनसीपको दोस्रो वर्ष पनि दाबेदारी कायमै राखे । त्यसपछि उनको हातमा ट्रफीको लाम लाग्यो । लामैसयमसम्म लन टेनिसमा उनले राज गरे । सिङ्गल होस् या टिम गेममा उनको योगदानलाई भुल्न सकिदैन् ।
सन् १९७१ मा उडिसा स्टेट च्याम्पियनसीप बनेका उनी सन् १९७३ मा पनि त्यही च्याम्पियनसीप बिजेता बने । सिंङ्गल तर्फ च्याम्पियन बनेका उनी १९७५ मा दार्जिलिङ जिमखाना क्लव टिम च्याम्पिनयसीप बनेका थिए । त्यसो त, १९७३ मा बंगाल जुनियर लङ्ग टेनिस टिमले खेलाएको जुनियर नेशनल टेनिस च्याम्पियनसीप बनेका थिए । सन् १९७७/७८ मा उडिसा लन टेनिस एसोसिएसनमा उनी नम्बर वान प्लेयर बनेका थिए । सन् १९८२ मा बारबाटी स्टेडियममा खेलाइएको विल्स ट्रफी च्याम्पियनसीपमा उनी विजेता बनेका थिए ।
त्यही कारण उनलाई उडिसा राज्यले प्रशिक्षकको लागि अमेरिकामा १५ दिने तालिम प्रदान गरेको थियो । उक्त तालिमपश्चात नै उनी प्रशिक्षकका रुपमा लामो समयसम्म उडिसा राज्यमा रहे । सन् १९८४ मा उनले तालिम लिएका थिए । बिक्रम सम्वत १९९७ बैसाख २३ गते जन्मिएका यस्ता व्यक्तित्व अहिले यो संसारबाट एकवर्ष अघि अर्थात् २०७२ चैत्र ३ गते नै विदा भइसकेका छन् । अहिले उनको सम्झनाको चिनोका रुपमा उनले जितेका ट्रफीहरु मात्रै छन् ।
त्यस्ता ट्रफीहरु उनको घरमा सजिएका छन् । त्यो ट्रफीले पनि उनको खेल जीवनको प्रतिनिधित्व गरिरहेको छ । जसरी दार्जिलिङ हुँदै उडिसासम्म पुगे । त्यसरी नै जीवनको अन्त्यतिर उनी नेपाल आएर प्राण त्यागे । अहिले उनी परिवारमाझ स्मरणमा ताजै छन् । उडिसा राज्यको लागि जीवनको उत्तराद्र्धसम्म खेलेका उनलाई राज्यले नसम्झिए पनि उनका समकक्षीहरुले सम्झनाको उपहारहरु पठाइदिने गरेको छोरी सन्ध्या प्रधान बताउँछिन् ।