इटहरी / पूर्वको आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको इटहरीस्थित तालतलैयाको बाल उद्यानमा सरक्षण गरि राखिएका पंक्षीमा बर्ड्फ्लुको सङ्क्रमण देखिएको छ । बर्डफ्लूको संक्रमण देखिए पछि तालतलैया व्यवस्थापन समितिले बाल उद्यान प्रवेशमा रोक लगाएको छ । बर्डफ्लु पुष्टि भए पनि पशु पंक्षीका खोर सफा गर्ने सूचना टाँस गरेर तालतलैया व्यवस्थापन समितिले सुरक्षा सतर्कता अपनाएको हो । साथै बाल उद्यान प्रवेशद्वारामा रातो रिवन टाँगिएको छ ।

जिल्ला पशु सेवा कार्यालय र जिल्ला जन स्वास्थ्य कार्यालयले सतर्कताका लागि आवश्यक पहल शूरु गरेको छ भने किटनाशक औषधी र चुना उपलब्ध गराएको छ । तालतलैया व्यवस्थापन समितिका कार्यालय सचिव डम्वर पाण्डेका अनुसार बाल उद्यानमा राखिएका मुसा एक साता अघि मरेका थिए ।

त्यस पछि केही हाँस मर्दै गए, टर्की, जंगली पंशी हार्डफोर समेत मरे पछि तालतलैया व्यवस्थापन समितिले परिक्षणकालागि जिल्ला पशु सेवा कार्यालय पठाएको थियो । मरेको हार्डफोर जिल्ला पशु सेवा कार्यालयले क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पठाएको र त्यहाँ पोजेटिभ देखिए पछि थप अनुसन्धानका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।

‘केन्द्रीय प्रयोगशालाबाट पनि फ्लुको संक्रमण पोजेटिभ देखियो’ जिल्ला पशु सेवा कार्यालय सुनसरीका पशु विकास अधिकृत केशवकुमार श्रेष्ठले भने ‘अहिले सर्भिलेन्सको काम गर्दैछौं ।’ गत फागुन १९ गते मरेको हार्डफोर जिल्ला पशु सेवा कार्यालयमा परिक्षणका लागि पठाइएको थियो । बाल उद्यानमा भएका पक्षीमा ‘फ्लु’ को संक्रमण देखिए पछि जिल्ला पशु कार्यालय सुनसरीले जैविक सुरक्षा अपनाउन शूरु गरको पनि श्रेष्ठले बताए । बाल उद्यान भित्र किटनाश औषधी र चुना छर्ने काम शुरु भएको छ ।

‘शूरुमा हाँस मर्न थाले पछि आर्फैले चुना किनेर छर्दैै थियौं’ पाण्डेले भने ‘बर्डफ्लु पुष्टी भए पछि पशु कार्यालय किटनाशक औषधी पनि दिएको छ ।’ अहिले बाल उद्यानमा दुई वटा गिद्ध बाहेक अन्य पंक्षी मरिसकेका छन् भने बाँदर, दुम्सी, खरायो, चित्तल र स्यालमा समस्या देखिएको छैन ।

बाल उद्यानमा सरंक्षण गरिएका १४ वटा हाँस, एउटा मयुर, ३ वटा मुसा, ३ वटा टर्की, एउटा चरीवाघ, एउटा बनढाडेलगायतका पशु पक्षीको मृत्यु भइसकेको छ । समयमै जानकारी नहुँदा रोकथाममा ढिलाई भएको जिल्ला पशु सेवा कार्यालय सुनसरीले जनाएको छ । मरेका पंक्षिलाई सुरिक्षत रुपमा गाडिदै आएकोले मानवीय जोखिम कम रहेको त्यहाँका कर्मचारीले बताएका छन् । दैनिक पाँच सय बढी र शनिबार सैयौंको संख्यामा आन्तरिक पर्यटक तालतलैया पुग्ने गर्छन् । वनभोज खाने र गीत तथा चलचित्रको छायाङ्कन गर्नेको समुह पनि प्रायः टुट्दैनन् ।

बर्डफ्लुको मौसम र बच्ने उपाय

माघ महिनाको सुरुवातासँगै बर्डफ्लूको मौसम मानिन्छ । प्रायः माघ र फागुन महिनामा पंक्षी जन्य वस्तुमा फ्लुको संक्रमण देखिने गरेको छ । जाडोको सिजनमा बर्डफ्लूको किटाणु सक्रिय हुने गरेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । नेपालमा ०६५ सालदेखि हरेक वर्ष माघ र फागुन महिनामा बर्डफ्लूको महामारी नै फैलिने गरेको छ । नेपालमा पहिलो पटक सन् २००९ मा झापाको मेचीनगरमा बर्डफ्लूको संक्रमण देखिएको थियो ।

बर्डफ्लूकै कारण किसानको करोडौं मूल्य बराबरको कुखुरा सरकारले नष्ट हुने गरेको छ । बर्डफ्लु पंक्षीबाट पंक्षी तथा पंक्षीबाट मानिसमा लाग्ने रोग हो । यसलाई ‘एभियन इन्फ्लुएन्जा’ पनि भनिन्छ । दाना वा पानीको माध्यमबाट यो रोगको भाइरस द्रुत गतिमा फैलिएर धेरैको ज्यान लिन सक्ने भएकोले बर्डफ्लुलाई प्राणघातक रोग पनि भनिन्छ ।

यो रोग सर्वप्रथम सन् १९७८ मा पंक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो । संक्रमित चरा मरेको वा बिरामी भएर बसेको ठाउँमा टेक्दा वा छुँदा पनि सङ्क्रमण हुन सक्ने चिकित्सकहरुले बताएका छन् । मासु ७४ डिग्रीसम्म पकाउँदा बर्डफ्लुको भाइरस मर्छ । बर्डफ्लु लागेको मान्छेमा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती तथा पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।

कुखुराहरुमा भने सिउर, लोती र खुट्टा पर्पल रङको हुने, चारो खान मन नगर्ने, टाउको सुन्निने, नाकबाट सिँगान बग्ने, अण्डा कमलो हुने जस्ता लक्षण देखिने गरेको छ ।