शनिश्चरे, मोरङ/ विहीबार विश्व मृगौला दिवश मनाइरहेको सन्दर्भ छ । मृगौला पीडितहरु भनें सरकारले मृगौला रोग नियन्त्रणका लागि विशेष योजना बनाउनु पर्ने कुरा उठाइरहेका छन् ।
आफ्ना दाजु नरेश विष्टका लागि एउटा मृगौला प्रदान गरेकी मोरङ पथरीशनिश्चरे १ की यमुना वास्तोला भन्छिन् ‘ खानपानमै विशेष ध्यान दिनु पर्ने रहेछ । सरकारले परिवेश रसायनमुक्त बनाउनका लागि विशेष कार्यक्रम ल्याएन भनें मृगौलाको समस्या हुने मानिस दैनिक बढेको बढ्यै गर्छन् ।’ माछा, मासु, जाँडरक्सी, धुमपानबाट टाढा रहेर परेजमा बस्नेहरु समेतलाई दैनिक उपभोग गर्नै पर्ने फलफुल, तरकारी र अन्न उत्पादनकै क्रममा हालिएको रासायनिक विषादी, रासायनिक मलका कारण मृगौला जोगाउन गाह्रो हुने उनको ठहर छ ।
४७ वर्षे नरेशको दुवै मृगौलाले काम नगरेको थाहा भएपछि यमुनाले प्रदान गरेको मृगौला ०६८ माघ २५ मा काठमाडौंको शिक्षण अस्पतालमा प्रत्यारोपण गरिएको थियो । तर मृगौला प्रत्यारोपण गर्ने समयमा नरेशको रक्तचाप अलि कम भएको अवस्था रहेछ । त्यही कारणले हुनसक्छ १० दिन भित्र नरेशको फागुन ५ गते नै निधन भएको पीडादायी खवर यमुनाले सुनाइन् ।
नरेशको काकाको छोरा भाई सितारामको पनि मृगौलाकै समस्याबाट उमेरमै ज्यान गयो । ४४ वर्ष पुगेका सिताराम पनि सोही वर्षको मंसिर १८ मा नरेशकै जस्तो एक प्रकारको वंशाणुगत ‘रेनल कोडिकल सिष्ट’ समस्याबाट ज्यान गुम्यो । भारतको चण्डीचढमा गएर मृगौला प्रत्यारोपण गरेको एक वर्षभित्रै उनले संसार छोडे । ‘रेनल कोडिकल सिष्ट’ मृगौलामा विमिरा आउने समस्या हो ।
[caption id="attachment_33231" align="aligncenter" width="700"] मृगौला पीडित मृतक विष्णु थपलियाका परिवार ।[/caption]उनीहरु माछामासु र मदिरा समेत सेवन गर्थे । ‘रेनल कोडिकल सिष्ट’ भएपछि मृगौला फेरेपनि पुन समस्या आउने समेत भएकाले यसबाट लामो जीवन बनाउने एउटै उपाय भनेको खान नमिल्ने खाना नखाएर परेजमा बस्नु नै हो भनेर डाक्टरले सल्लाह दिएको उनका भाई जयराम विष्टले सुनाए । ‘यसखाले घटनाले हामी परिवारमा सचेत भएर ६,६ महिनामा मृगौलाको जाँच गर्दै खानपानमा समेत ध्यान दिएका छौं ।’– उनले भने ।
नगर क्षेत्रमै मृगौलाका समस्या हुनेहरुको संख्या बढिरहेको छ । पथरी क्षेत्रमा फोटोग्राफीका अगुवा पुष्पाञ्जली फोटोका विष्णु थपलिया समेत मृगौलाको सिकार हुनबाट जोगिन सकेनन् । हट्टा कटटा नै ज्यानका उनको ६० वर्ष पुगेकै दिन निधन हुनु परिवारका लागि समेत ज्यादै दुखद संयोग बन्न पुग्यो । मृगौला फेरेको ३ वर्षपछि ०६७ भदौ ९ गते उनले श्रीमती र ६ छोरीलाई छाडेर सदाका लागि विदा भए । ‘डाक्टरले तपाईको स्वास्थ्य एकदम ठिक छ भनेर भनिदिएपछि उहाँले काठमाडौंबाट फर्किदा परेवाको मासु खाइदिनु भएछ । अनि चुरोट पनि खान थाल्नु भएछ । त्यसपछि फेरेको मृगौलाले पनि काम गर्न छोडेर वित्नु भयो ।’– श्रीमती टीकादेवीले यसरी पीडादायी विगत स्मरण गरिन् ।
उता, पथरी गाविस हुँदा पछिल्लो स्थानीय निकायको निर्वाचनबाट वडा नम्बर १ बाट वडा सदस्य भइसकेका इश्वर आँशु मगरले त झन २ पटक मृगौला फेरेर पनि जीवनलाई लामो बनाउन सकेनन् । अन्नपूर्ण बोर्डिङका निर्देशक समेत रहेका उनले ०६६ भदौमा पहिलो पटक मृगौला फेरेका थिए । त्यसको १ वर्षपछि ०६७ मा उनीमाथि आक्रमण भएपछि रगत धेरै वगेको, काटिएको ठाउँको उपचार सहितमा अन्य औषधि प्रयोग गर्नु परेकाले मृगौलामा असर पर्यो र त्यसले काम दिएन ।
पहिलो मृगौला फेरेको एक वर्षपछि नै पुन त्यो पनि फेरिएको थियो । ‘जाँडरक्सी र माछामासु खान छोडेर परेजमै हुनुहुन्थ्यो । तर पनि कमजोर अवस्थाकै हुनुहुन्थ्यो । त्यो बेला स्कुलमा हाँडी फुटाउने कार्यक्रममा भाग लिँदा रिंगटा चलेर लड्नु भो र त्यही निहुँमा वित्नु भो ।’– उनकी श्रीमती रमिला थापामगरले भनिन् । ०६८ फागुन २८ मा निधन भएका इश्वरको सुरुमा उच्च रक्तचाप थियो, पछि मधुमेह समेत भएर मृगौलामा खरावी आएको उनले स्मरण गरिन् ।
शरीरमा रगत सुद्ध बनाउने मृगौला जोगाउन मुख्य रुपमा खानपानमै जोगिनु पर्ने हुन्छ । जाँडरक्सी, माछामासु, चुरोट, धुलो, धुवा, रासायनिक बस्तु मिसिएका खानेकुरा मुख्य रुपमा मृगौला विगार्ने तत्व हुन् । मृगौला विग्रने अर्काे कारण चाँही उच्च रक्तचाप र मधुमेह पनि हुन् । मृगौलाले काम गर्न छोडेको थाहा भएपछि त्यसको उपचार गर्न समस्या हुन्छ ।
कि त डाइलोसिस गरिरहने कि त मृगौला नै फेर्ने बाहेकको उपाय नै हुँदैन । पथरी हस्पिटलका एमडी फेमिलि फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.राज शर्मा भन्छन् ‘ मृगौला जोगाउन पानी धेरै पिउने, जाँडरक्सी, चुरोट, खैनी र रसायन मिसिएका खानेकुरा खानु भएन । माछामासु पनि दैनिक खानु हुँदैन । अनि कम्तिमा ६,६ महिनामा चेकजाँच गर्नुपर्यो । ’ उनले मृगौला अस्पताल र विशेषज्ञ नै नभएको ठाउँमा पनि मृगौलाको अवस्था जाँच गर्न सकिने कुरा सम्झाए ।
उनले वंशाणुगत रुपमा पनि मृगौलामा समस्या आउने बताए । मृगौलामा विमिरा आउने ‘रेनल कोडिकल सिष्ट’ पनि सामान्य भए औषधि खाएर र अपरेशन गरेर ठीक पार्न सकिने बताए । ‘मृगौलामा समस्या आएपछि खुट्टा र अनुहार सुनिन्छ । नर्मल अवस्थामै भए उपचारबाट निको हुन्छ ।’– उनले प्रष्ट्याए । उनले मृगौला फेरेका मानिसहरु परेजमा बसे लामै जीवन वाँच्न सकिने बताए ।
डाइलोसिसलाई सरकारले निशुल्क घोषणा गरेपनि केही अस्पतालले पूर्ण निशुल्क उपचार नगर्दा विपन्न समुदायका मानिसहरु अझ धेरै समस्यामा छन् । पथरीशनिश्चरे १ जिरिखिम्तीका गोरेबहादुर दर्जीले निशुल्क उपचारको जिम्मा पाएको गोल्डेन अस्पताल विराटनगरले प्रति डाइलोसिस २ हजार १ सय रुपैयाँ रकम लिने गरेपछि उनले नियमित डाइलोसिस गराउन सकेनन् ।
पछि उनले आफैं रोइकराई गरेपछि मात्र बल्ल निशुल्क हुनपुग्यो । ‘तर हामीजस्ता गरिवका लागि औषधि पनि निशुल्क भइदिए पो राहत हुन्थ्यो । औषधि चाँही महिनाको ५ हजार जतिको खानु पर्छ ।’– गाउँमै सिलाई व्यवसाय गर्ने उनी सिलाईको काम गर्न नसकेको पीडा सहित गुनासो पोख्छन् ।
याे पनि पढ्नुहाेस् ।