महिनावारी एक प्राकृतिक प्रक्रिया हो । तर यस सम्बन्धि उचित ज्ञान नपाउँदा र ध्यान नदिँदा कतिपयका लागि समस्या बनिरहेको छ । जसले गर्दा कति महिला शाररिक रुपमा मात्रै होइन, मानसिक रुपमा पनि पीडा खेपिरहेका छन् । कतिपयले यस बारेमा उचित ज्ञान नपाएर प्रशस्त भ्रम पालेका छन् भने कतिपयले हेलचक्र्याइँ गर्ने गरेका छन् । दुवै कार्य स्वास्थ्यका लागि हानिकारक छन् ।
धेरै रगत बग्छ ? धेरै महिलाको चिन्ताको विषयमध्ये एक हो यो । कतिपय महिलामा सामान्य भन्दा बढी रगत बग्ने हुन्छ । त्यसैले यस विषयमा उनीहरु चिन्तित देखिन्छन् । महिनावारीको समयमा बढी रगत बग्नुमा विभिन्न कुराले भूमिका खेलेका हुन्छन् । त्यसमा पहिलो वंशाणुगत हुन सक्छ, आमा वा दिदिबहिनीमा पनि बढी रगत जान्छ भने त्यो वंशाणुगत कारण भनेर बुझ्नुपर्ने हुन्छ ।
कतिपय अवस्थामा रगतमै खराबी भए पनि त्यसको असर महिनावारीमा देखिने चिकित्सहरु बताउँछन् । हर्मोनको गडबढी पनि यसको कारण हुन सक्छ,’ गाइनोक्लोजिष्ट डा ज्योति अग्रवालले भनिन्, कहिलेकाहिँ पाठेघरमा कुनै संक्रमण हुने संभावना महिनावारीका बेला बगिरहेको रगतले दर्शाउँछ । यस्तो अवस्थामा भने चिकित्सकसँग जाँच गराउँदा उपयुक्त हुन्छ ।
बढी रगत जाँदा महिलामा रक्त अल्पता हुने खतरा रहन्छ । त्यस्तै कम रगत भयो भनेर पीर मान्ने महिलाको सँख्या पनि धेरै छ । यस्तो अवस्थामा चिन्ता लिइराख्नु पर्दैन । तर, सधै ठीक मात्रामा हुन्थ्यो र एक्कासी रगत नै भएन भनेचाहिँ समस्या पहिल्याउनतर्फ लाग्नुपर्ने विशेषज्ञहरुको सुझाव छ ।
महिनावारी रोक्ने वा सार्ने औषधिको प्रयोग ? महिलाहरु कामकाजी हुन थालेका छन् । जसले गर्दा कहिलेकाहिँ कामको व्यस्तताले गर्दा मासिक धर्मलाई पर सार्न उनीहरु बाध्य हुने गरेका छन् । यसका लागि चिकित्सा विज्ञानले केही औषधिको जोहो पनि गरिदिएको छ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी नभएको चिकित्सहरु बताउँछन् । महिनावारी रोक्न प्रयोग गरिने औषधी स्वास्थ्यका लागि हानीकारक छ ।
हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ । त्यसैले विशेषज्ञ अग्रवाल स्पष्ट पार्न चाहन्छिन्, ‘यो औषधि हर्मोनको चक्की हो र महिला महिनावारी हुुनु भनेको पनि हर्मोनको परिवर्तन नै हो । त्यसैले यसले शरीरमा असर गर्दछ ।’औषधीलाई महिनावारी तलमाथि पार्न सक्दो प्रयोग नगर्न आग्रह गरिन् ।
नेपालको परिवेशमा महँगो औषधीले कम असर र सस्तो खाँदा बढी असर पर्ने भ्रमात्मक सोच पनि छन् । डाक्टरले यसलाई सिधै इन्कार गर्छन् । औषधी जुनसुकै भएपनि त्यसले उत्तिकै हानी गर्ने उनीहरु बताउँछन् ।
किन दुख्छ पेट ?
यो चाहिँ धेरैको साझा समस्या हो । महिनावारीको समयमा हुने पीडा हुने अर्थात् पेट दुख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ । यसबाट जोगिनका लागि दुखाई कम गर्ने औषधीको प्रयोग गर्ने बढेका छन् ।
दुखाईको औषधि जथाभावी प्रयोग गर्दा धेरै नकारात्मक असरहरु देखा पर्न सक्नेतर्फ चिकित्सहरु सचेत गराउँछन् । औषधिको सेवन गर्नै परे चिकित्सकको सल्लाह लिएर मात्रै गर्नुपर्छ । किशोरीको उमेर बढ्दै जाँदा यो समस्या विस्तार हराउँदै जान्छ । कतिपयको विवाह पश्चात पनि केही हदसम्म कम हुन्छ ।
तर, रक्तश्रावको मात्रा बढी भयो वा दुखाइ सहनै नसक्ने गरी भयो भने स्वास्थ्य संस्थामा सम्पर्क गर्न जरुरी हुन्छ । कतिपय अवस्थामा घरेलु विधि अपनाउन चिकित्सक सुझाउँछन्, ती विधिअनुसार तातो झोल पदार्थको सेवन र मनतातो पानीले नुहाउने हो । यसो गर्दा आराम मिल्न सक्छ ।
महिनावारी गडबढ किन ?
महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक भएको कारणले हाे ।शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।
पाठेघरका विभिन्न किसिमका समस्याले पनि महिनावारी रोकिन सक्छ । यसैगरी उमेरका कारण पनि महिनावारीमा गढबढी आएको हुनसक्नेमा ध्यान दिन जरुरी हुन्छ जस्तो कि महिनावारी भएको शुरुको ४ देखि ५ वर्षको अवधिमा तलमाथि भइनै रहन्छ र महिनावारी सुक्ने अवस्थामा पनि तलमाथि परे डराउन नहुने चिकित्सक बताउँछन् ।
सरसफाईको कमीले आउने समस्या
सरसफाईको महत्व जताततै छ । महिनावारीमा विशेष ध्यान दिन आवश्यक छ । महिनावारी भएको समयमा संक्रमण हुने सम्भावना उच्च रहन्छ । लगातार रगत बगिरहेको छ तर सरसफई छैन भने जिवाणुहरु योनीमार्ग हुँदै पाठेघरसम्म पुग्न सक्छन् । जसबाट संक्रमण हुने गर्दछ ।
जिवाणु योनीमा प्रवेश गर्दा सेतो गन्हाउने पानी बग्ने हुन्छ । जिवाणुहरुको प्रवेश पाठेघरसम्म पुग्यो भने पाठेघरको मुखमा घाउ हुने, पाठेघर सुन्निने डिम्वबाहिनी नली बन्द हुने र सुनिने जस्ता समस्याहरु देखा पर्ने हुन्छ ।
यस्ता समस्याहरुबाट जोगिन विशेष ध्यान दिन आवश्यक छ । नेपालका ग्रामीण भेगका महिलाहरु महिनावारीमा फोहोर कपडा प्रयोग गर्ने प्रचलन छ । जसले उनीहरुमा गुप्तांगको संक्रमणको समस्या बढी देखिन्छ ।
चेतनाको अभावका कारण महिनावारीमा प्रयोग गरेको कपडा सूर्यलाई देखाउनु हुँदैन भन्ने परम्परागत मान्यता कतिमा रहेको छ । घाममा सुकाउँदैनन् र अँध्यारामै राख्छन् । पटक पटक महिनावारी हुँदा फेरि त्यही कपडाको प्रयोग गर्दछन् । यस्तो रोक्न कपडा चर्को घाममा सुकाउने र त्यस्तो कपडा नरम सुतिको हुन आवश्यक हुन्छ । रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन ।