धरान/२०३५ का जुनियर मिष्टर धरान तथा करातेका थर्ड डन प्रेम शाक्य तव हराए, जव उनले जीवनमै कल्पना नगरेको यथार्थबाट गुज्रिए । २०५१ साल उनको लागि जीवनको पाना अधुरो रह्यो ।
त्यो साल उनले संसार देख्ने आँखा गुमाए । त्यो पनि सामान्य फुड पोइजनबाट । त्यही फुड पोइजनले जिन्दगीभरी अन्धकारमा धकेलिदियो । १७ वर्षको उमेरदेखि नै विभिन्न खेलकुद गतिविधिमा संलग्न श्रेष्ठले झण्डै २५ वर्ष स्वयमसेवकको रुपमा खटिए ।
फोटोग्राफी व्यवसायबाट परिचित उनी भारत घुम्ने क्रममा ‘ढेड पेग’ रक्सी नै अन्धकारको कारण बन्यो । उनीसँगै खेल्ने साथीहरु र उनले सिकाएका प्रशिक्षार्थीहरु कोही एसियन खेलका प्रशिक्षकसमेत भएर तलव खान्छन् । तर, उनी घरमा खुम्चिएर बसेका छन् ।
२०५१ पछि उनका दिनहरु सहजै कटेनन् । धेरै वर्षसम्म औषधि उपचारमा खर्चिए, फेरि आँखाको ज्योति आउँला कि भनेर । तर, कहिल्यै फर्किएन् । अहिले त, आशा नै मरिसकेको छ उनको । ‘नयाँ प्रविधिले केही होला कि नत्र त्यति धेरै आशा छैन् ।’ उनी भन्छन् । आँखाको ज्योति फर्काउनको लागि उनले उँबेलामा ११ लाख खर्चिए । इटहरी, बराहक्षेत्रको चतरामा किनेका घडेरीहरु सिध्याए । झण्डै–झण्डै घर पनि बिक्री गरेका थिए । तर, उ बेला स–सना कारणले गर्दा घर जोगियो ।
उनी सम्झन्छन् ‘दुईपटक त बेच्ने तयारी गरे । एकपटक साढे सात लाखमा र अर्को पटक ११ लाखमा । हेर्न पनि आए । तर, के के मिलेन बिक्री गरिएन् ।’ उनी धरानको तेस्रो मिष्टर धरान हुन् । २०२७ सालमा रमेश खनाल पहिलो मिष्टर धरान बनेका थिए । त्यसपछि २०३४ मा राजभगत प्रधानाङ्ग र २०३५ मा उनी । बक्सिङ, कराते, तेक्वान्दो, कवड्डी हरेक खेलमा उनको चासो थियो र खेल्थे पनि । करातेमा थर्ड डनसमेत पुगे । उनका गुरु थानेश्वर राई सेभेन डन छन् । जो हाल अमेरिकामा बस्छन् ।
उनीसँगैका महेश श्रेष्ठ प्रमुख प्रशिक्षक छन् । ‘फूल कोच लिएको भए बसी बसी तलव पाइने रहेछ अहिले ।’ उनी विगत सम्झन्छन् ‘स्वयमसेवक भएर खेलाइयो । त्यसैमा रमाइयो ।’ करातेका आर्दश पात्र हुन् उनी । २०५० मा भारतको झाँसीमा भएको प्रतियोगिताका गोल्ड मेडलिष्ट हुन् उनी । त्यस्तै तेक्वान्दो संघले विभिन्न क्षेत्रमा खेलाएको प्रतियोगितामा उनी दुईपटक कास्य पदक विजेता बने भने एकपटक रजत पदक । पोखरा र राजबिराजमा उनले कास्य जितेको थिए भने जनकपुरमा रजत पदक ।
झाँसीमा उनकै प्रतिनिधित्वमा गएको नेपाली टोलीले ९ वटा स्वर्ण पदक हात पारेको थियो । आँखाकै कारणले ठूलो लगानीमा धुलाबारीमा खोलिएको कलर ल्याव, आफ्नै लगानीमा इटहरीमा खोलिएको शाक्य कलर ल्यावसमेत बन्द गर्नु परेको स्मरण गर्छन् । आज उनको आँखा स्वस्थ्य भएको भए सायद व्यवसाय कहाँ पुग्थ्यो र खेलकुदमा कुन पोजिसनमा पुग्थे आँकलन गर्न सक्दैनन् । तर, भन्छन् ‘पक्कै पनि व्यवसायले एउटा फड्को मारिसकेको हुन्थ्यो होला । त्यो बेला मै पनि हाम्रो व्यवसायको ७५ प्रतिशत ग्राहक भारतकै थिए ।’
त्यही ग्राहकहरुकै जिद्धिका कारण पनि उनी मिरिक, खर्साङ घुम्ने योजना बनाए । ‘सुरुको योजना पोखरा थियो । तर, ग्राहक साथीभाइहरुले तपाई आउनु हुन्न भनेर जिद्धि गरेका कारणले त्यता गएको थिएँ ।’ उनी भन्छन् ‘मिरिकमा दुई दिनको बसाईपछि खर्साङमा पुगेको दिन नै माउन्टेन भ्याली नामक रक्सी पिएको थिएँ । त्यसको २४ घण्टामै आँखा गुम्यो ।’ उपचारको लागि भारतका विभिन्न सहरहरु, नेपालका विभिन्न सहरहरु चहारे । तर, हात लागि सून्य भएपछि अहिले उनी घरमै थन्किएर बसेका छन् ।
त्यसो त उनी चित्रसमेत कोर्थे । चित्र कोर्दा कोर्दै उनी फोटोग्राफी व्यवसाय हाम फालेका हुन् । आँखा खराब भएपछि उनले सबै थोक गुमाए । उनले २५ वर्षे अवधिमा धेरै खेलाडीहरु जन्माए । धरानमा मात्रै उनीसँग बिहान र बेलुका गरी साढे ३ सय विद्यार्थीहरुलाई प्रशिक्षण गराउँथे । दैनिक उनी ३ घण्टा शारीरिक व्यायम गर्थे गराउथे । तर, त्यो अहिले कथा बनेको छ । उनी घरमा सामान्य व्यायम गर्छन् । दिनभरी घरमा बसेर समय ब्यतित गर्छन् । परिस्थितिसँग सम्झौता गर्नुपर्ने रहेछ । यो २१ वर्ष अघि आँखा गुमेपछि सिकेको पाठ यही नै हो ।