रंगहरूको पावन पर्व होली खुसी आदानप्रदान गर्दै मनाइँदै छ । रंगीन जीवनमा रम्ने धेरै हुन्छन्, त्यही भएर धेरैले रंगको यस पर्वलाई महत्वका साथ लिने गरेका छन् ।
होलीलाई पर्वका रूपमा मनाउनुपर्छ । पर्वका रूपमा खुसी आदानप्रदान तथा रंग, अबीर तथा खानपानको उपयुक्त प्रयोग गरेर मनाउने धेरै व्यक्ति भए पनि पछिल्लो समयमा होलीका नाममा धेरै नै विकृति भित्रिएको छ ।
होलीलाई गलत ढंगले प्रयोग गरेका उदाहरण प्रशस्त छन्। नशालु पदार्थ, भाङ, रक्सी सेवन नियतबस गर्ने गर्छन् । साथै कतिले यसलाई जुवा, तास खेल्ने अधार बनाएका हुन्छन् ।
अत्यधिक तैलीय (चिल्लो) तथा मसालेदार पदार्थ प्रयोग गर्नाले पनि शरीरलाई हानि गर्ने धेरै छन् । फलस्वरूप बिरामी भएर अस्पताल आउन बाध्य हुन्छन् । वास्तवमा होली पर्व खुसीयालीको आधार बन्नुपर्छ, कुनै अप्रिय घटना नहोस्, कोही बिरामी नपरोस् भन्ने उद्देश्यका साथ मनाइनुपर्छ ।
स्वास्थ्यका हिसाबले होलीमा प्रयोग गरिने रंगबाट पनि सतर्क रहनुपर्छ । होलीमा प्रयोग गरिने विभिन्न रंगका रंगहरू रासायनिक वस्तु हुन् । जसको नकारात्मक प्रभाव शरीरमा हुने गर्छ भन्ने सबैले बुझ्नु जरूरी छ ।
होलीमा मुख्यतः प्रयोग गरिने रातो रंगमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व हुन्छन् ।
यी रासायनिक तत्वहरूले छाला, आँखा, कानलगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पुर्याउँछ । सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुन सक्ने सम्भावना बढ्छ । उक्त वस्तुहरू कुनै कारणवश खाने नलीमा प्रवेश गरे चक्कर आउने, वान्ता आउने, पेट दुख्ने हुन सक्छ ।
प्रायःजसो सबै रंगमा हुने रसायनले शरीरको नरम छालामा एलर्जी गराउने गर्छ । फलस्वरूप छाला रातो हुने, चिलाउने, रातो डाम बस्ने हुन सक्छ । आँखामा प्रवेश गरे चिलाउने, रातो हुने, पानी बग्ने, हुन सक्छ । त्यस्तै कानमा प्रवेश गरे चिलाउने र पछि गएर कान पाक्नेसम्म हुन सक्छ ।
होलीको रंगको कम असर पार्न शरीरमा आफूलाई उपयुक्त तेल लगाएर खेल्नुपर्छ, कानमा कपास राख्नुपर्छ, आँखा, कान तथा मुखमा रंग लगाउनु कसैलाई पनि दिनु हुन्न । होलीको रंगको एलर्जी भएमा रंग नखेल्नु नै उचित हुन्छ । एलर्जी भएमा तुरून्त रंगबाट टाढिने तथा स्वास्थ्यकर्मीसँग उपचार गराउनुपर्छ ।