खोटाङ/ लामो समयपछि सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेसँगै जिल्लावासी उत्साहित भएका छन् । वि. सं २०५४ देखि पदाधिकारीविहीन स्थानीय निकाय अब नयाँ संरचनामा अघि बढ्ने भएपछि जिल्लावासी उत्साहित बनेका हुन् । महिला तथा समावेशीमा प्रतिनिधित्व हुने भएपछि जिल्लाका महिला तथा दलितसमेत उत्साहित छन् । यो चुनावमा मुलुकको राजनीतिक परिवर्तनअनुसार पालिका हाँक्न सक्ने सक्षम उम्मेदवार तय गर्ने नेताको छनक देखिन्छ । अबको निर्वाचनमा सबैको साझा बन्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने राजनीतिक दलको तयारी देखिन्छ । ‘अब नयाँ जोश र जाँगर भएका युवाले पालिका हाँक्नु पर्छ ।’ नेपाली काङ्ग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी भन्छन्, ‘पुराना व्यक्तिबाट नेतृत्व सम्भव छैन । युवापुस्ताले नेतृत्व गरेमात्र देशको विकास सम्भव हुन्छ ।’ नेकपा (एमाले) मा पनि नयाँ नेतृत्वले अवसर पाउनुपर्ने युवा नेता दिलचक्र राई बताउँछन् । ‘अब ऊर्जाशील युवालाई विकासमा लगाउनुपर्छ’, उनी भन्छन्, ‘पार्टीले अवसर दिनुपर्छ । युवाशक्ति रोजगारीका लागि विदेशिनु नपरोस् ।’ नेकपा (माओवादी केन्द्र) का युवा नेता विनोद आचार्यले पनि युवाको नेतृत्वमा पालिकाका पदाधिकारी निर्वाचित हुने बताए । यसले मात्र मुलुकको परिवर्तनमा टेवा पुग्ने आचार्यको तर्क छ । नेकपा (माले) का युवा नेता श्यामराज राईले स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिले पालिकाको नीति निर्माण गर्नुपर्ने भएकाले होशियारीपूर्वक उम्मेदवार छनोट गर्नुपर्ने बताए । यद्यपि, अब हुने निर्वाचनमा युवा पुस्ताको वर्चस्व रहनेमा आपूm विश्वस्त रहेको राईको भनाइ छ । हुन त पुनःसंरचनाको सीमाङ्कन, नामाङ्कनको स्पष्ट खाका नआई चुनाव हुने नहुने भन्ने निक्र्यौल हुन सकेको छैन । वर्तमान सरकार हदैसम्मको लचकता अपनाएर नयाँ संरचनामा चुनाव गराउने कसरतमा देखिन्छ । काङ्ग्रेस–माओवादीको चुनाव गराउने अभिष्ट उत्कर्षमा देखिन्छ भने प्रमुख प्रतिपक्ष एमाले पनि चुनावको हतारोमा देखिन्छ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने मिति तय गरेको छ । नयाँ संरचनाअनुसार प्रत्येक गाउँ पालिकाको वडामा एक अध्यक्षसहित पाँचजना प्रतिनिधि निर्वाचित हुनेछन् । यसमा दुई महिला अनिवार्य हुनेछन् । यसलाई आधार मानेर हेर्दा प्रत्येक गाउँ पालिकामा कम्तीमा २५ जना प्रतिनिधि निर्वाचित हुने देखिन्छ । गाउँ कार्यपालिकामा चार महिला र दुई दलितसहित छजना रहनेछन् । योसहित १८ जना गाउँ कार्यपालिकाको प्रतिनिधि निर्वाचित हुनेछन् । पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य निर्वाचित हुनेछन् । खोटाङमा एक सय ३२ मतदान केन्द्र छन् । नयाँ संरचनामा चुनाव गर्दा मतदान केन्द्र पुनरावलोकन हुनसक्ने जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीले बताए । अधिकांश मतदान केन्द्र विद्यालयमा राखिएकाले निर्वाचनमा विद्यालय बन्द हुनेछन् । जिल्लामा एक लाख १८ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यसमध्ये फागुन ९ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउनेछन् । २१ वर्ष पूरा भएका र सम्बन्धित पालिकामा मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्ति उम्मेदवार हुन पाउनेछन् ।