धरान/राजनीतिक अगुवाहरुले ‘धरानमा एयरपोर्ट आउँछ’ भनेर रटान थालेको ढेडदशक बित्यो । उक्त रटानले स्थानीय जग्गादातालाई राहत दिनु पर्ने ठाउँमा अव ‘आहत’ दिन थालेको छ । एयरपोर्टको लागि कौडीको भाउमा यति इन्कपोरेर्ट प्रालि काठमाडौंलाई जग्गा दिएको पनि आज १४ वर्ष पुग्न थालिसके छ । तर, उनीहरुको सपनाको ‘एयरपोर्ट’ आउने छाँटकाँट देखिएको छैन् । धरान–१७ का २४ घरपरिवारले आफ्नो ‘गाँस’ काटेर एयरपोर्टलाई दिएको जग्गा न फिर्ता पाएका छन्, न त प्रयोग मै आएको छ । अहिले पनि उनीहरुमा एयरपोर्ट बनोस् भन्ने चाहाना छ । तर, यतिका वर्ष बितिसक्दा पनि नबने पछि भने राजनीतिक दलले ‘ढाँटी खाने मेलो’ बनाएको भन्ने उनीहरुलाई लाग्न थालेको छ । जग्गादाता जीवन भट्टराई हाकाहाकी भन्छन्, ‘मन्त्री फेरिन्छ, बन्ने बन्ने भन्छन्, स्थानीय नेताहरुले हामीलाई ठगी गरिएको रहेछ ।’ उनका अनुसार बि.सं. १९७० सालमा जिजुबाजेहरुले जङ्गल फाडेर जग्गा जोडेका थिए । उनले थपे, ‘हाम्रै आमाबुबाहरुले चढ्न पाउलान भनेर दिएको ।’ जग्गा दिने दाताहरु मध्ये ६–७ जनाको त मृत्यु नै भइसकेको छ । अहिले छोरानातीहरु मात्रै छन् । एयरपोर्ट नबन्दा उनीहरुमा निराशा छाएको छ । एयरपोर्टको लागि एकजनाले १६ कठ्ठासम्म जग्गा कौडीका भाउमा दिएका छन् । त्यो बेलामा २८ हजार रुपैयादेखि ३२ हजार रुपैया प्रतिकठ्ठा यति इन्कर्पोरेटले लिएको थियो । उसले तत्कालीन समयमा धरान नगरपालिकाको रहोबरमा जग्गादाताहरुस“ग बसेर एयरपोर्ट नबनेमा खरिद गरेको मूल्यमै जग्गादाताहरुलाई फर्काउने सहमति र शर्तनामा थियो । इन्कार्पोरेटले बनाउने सम्भावना लगभग टरिसकेको छ । तर, पनि उसले जग्गा फिर्ताको नामनिशाना छैन् ।   ‘हामीलाई रनभुल्लमा पारिरहेको छ ।’ जग्गादाता सरोज श्रेष्ठ भन्छन्, ‘फिर्ता पनि गर्दैन् । र, एयरपोर्ट पनि बनाउदैन ।’ श्रेष्ठका अनुसार ४ कठ्ठा ७ धुर जग्गा एयरपोर्टका लागि २८ हजार रुपैया प्रतिकठ्ठा बिक्री गरिएको थियो । जग्गा दिने उनका पिताको देहान्त भइसकेको छ । बुबाको पालामा नदेखेको एयरपोर्ट उनको पालामा पनि देख्ने सम्भावना उनी देख्दैनन् । भन्छन्, ‘शर्त अनुसार हामीलाई जग्गा फिर्ता हुनुपर्छ ।’ दलै पिच्छेको मन्त्री फेरिदा धरानको एयरपोर्ट बन्ने भन्दै आश्वासनका पोकाहरु बाड्छन् । तर, बन्ने संकेत देखेका छैनन् उनीहरुले । त्यो बेला जग्गा दिन नखोजेका जग्गादाता डम्बरकुमार श्रेष्ठलाई धाकधम्कीसमेत दिएर जग्गा दिन बाध्य पारियो । उनले ३२ हजार रुपैया प्रतिकठ्ठा जग्गा बेचे । उनी विगत सम्झन्छन्, ‘जग्गा नदिन खोज्दा त्यो बेला मलाई युवाहरुसमेत लगाएर धाकधम्की दिने काम ग¥यो । अहिले १४ वर्ष पुगिसकेको छ । बन्ने संकेत देखेका छैनौं ।’ उनको पूर्खाले १९६० सालमा जङ्गल फाडेर २० विगाहा जग्गा बिराएका थिए । जसमध्ये उनले १६ कठ्ठा भन्दा बढी जग्गा यतीलाई बेचेका थिए । २०६० साल चैत्र १० गतेका दिन २४ जना जग्गादाताहरुस“ग यती इन्कर्पोरेट प्रालिका धरान प्रतिनिधि अशोक अग्रवाल, तत्कालीन नगर प्रमुख कुमारबहादुर कार्की, उपप्रमुख मिनकुमार सुब्बा, पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोसहितले जग्गा फिर्ता गर्ने भन्दै निर्णयसहितको छलफल गरेका थिए । उक्त छलफलको विविधमा प्रालिले निर्माण गर्न नसकेमा फिर्ता गर्ने शर्तनामासहितको निर्णय गरेको थियो । उक्त शर्त रहेको पूर्व नगरप्रमुख मेन्याङ्ग्बो पनि स्वीर्काछन् । उक्त निर्णय गरेको ठ्याक्कै १३ वर्ष पूरा हुन लागेको छ । तत्कालीन समयमा छलफलमा बस्ने मध्येका पूर्व नगर प्रमुख मेयाङ्ग्बो भन्छन्, ‘जग्गाप्राप्तिको लागि हामी लागेर गरेको हो । सस्तोमा नै जग्गा उपलब्ध भएको पनि हो ।’ मेन्याङ्बो आफै पनि अहिले राजनीति खेल मात्रै भइरहेको दाबी गर्छन् । उनको बिचारमा सरकारले चाहेको खण्डमा अधिग्रहण गरेर एयरपोर्ट बनाउन सक्छ । ‘धरानमा एयरपोर्ट दिने नियत कसैको छैन् । सरकारले धोका दियो ।’ उनले थपे । २४ जना जग्गादाताबाट यतिले ६ विगाहा ४ धुर जग्गा खरिद गरेको थियो ।