काठमाडौं/ नेपालको कारागारमा एक हजार भन्दा बढी विदेशी कैदी बन्दी रहेको पाइएको छ । विभिन्न आपराधिक क्रियाकलापमा जेल जीवन बिताइरहेका १९ हजार ९ सय ६९ कैदी बन्दी मध्ये एक हजार २२ जना विदेशी नागरिक रहेको कारागार व्यवस्थापन विभागको तथ्याङ्क छ ।

विभिन्न बहानामा नेपाल आएर आपराधिक क्रियाकलाप गर्ने विदेशी नागरिकको संख्या बढेसँगै कैदी पनि बढेका छन् । विदेशी नागरिक नेपाल आएर आपराधिक क्रियाकलापमा लाग्नुका पछाडि धेरै कारण रहेको कारागार व्यवस्थपान विभागका शाखा अधिकृत मुरारी कार्कीले बताए । भारतसँगको खुल्ला सीमा नाका र फितलो सजायका कारण विभिन्न बहानामा नेपाल आएर अपराध गर्नेहरु बढेको कारागार व्यवस्थापन विभागले जनाएको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार नेपालमा कैदी जीवन बिताइरहेका विदेशी नागरिकमध्ये सबैभन्दा बढी भारतका छन् । भारतका झण्डै पचास प्रतिशतको हाराहारीमा कैदी रहेको कारागार व्यवस्थापन विभागका शाखा अधिकृत मुरारी कार्कीले बताए । ‘खुल्ला सीमाना र छिमेकी जिल्ला भएर पनि हुनु पर्छ अन्य देशका भन्दा भारतका कैदी बन्दीहरु धेरै छन् । त्यसपछि दोस्रोमा पाकिस्तानका कैदी बन्दी छन्’ शाखा अधिकृत कार्कीले भने । विभागको तथ्याङ्क अनुसार कैदी जीवन बिताएकाहरुमध्ये लागु औषध ओसारपसारमा दोषी ठहरिएका ५० प्रतिशत छन् । विभिन्न किसिमका लागु औषध ओसारपसारमा नेपाललाई ट्रान्जिट बनाएर संगठित रुपमा अपराध गर्नेहरु धमाधम पक्राउ पर्न थालेसँगै विदेशी कैदी बन्दी बढेको कारागार व्यवस्थापन विभागले जनाएको छ । त्यस्तै लागु औषध पछि खोटा तथा नक्कली नोट देखाई ठगी गर्नेहरु बढी रहेको कारागार व्यवस्थापन विभागका निर्देशक गणेश प्रसाद भट्राईले बताए। क्षमता भन्दा दोब्बर कैदी नेपालभर ७२ जिल्लामा ७४ वटा कारागार छन् । धनुषा, बारा र भक्तपुर गरी तीन जिल्लामा कारागार छैन । दाङमा घोराही र तुल्सीपुर गरी दुई वटा र काठमाडौंमा सुन्धारा र डिल्लीबजारमा गरी दुई वटा कारागार छन् । प्रायः सबै कारागारमा क्षमता भन्दा झण्डै दोब्बर कैदी बन्दी छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार देशभर १७ हजार तीन सय ३९ पुरुष, एक हजार दुई सय ५७ महिला, एक हजार २२ जना विदेशी कैदी र ९६ जना आश्रित गरी १९ हजार ९ सय ६९ कैदी बन्दी छन् । कैदीको संख्या तीन वर्षअघिको तुलनामा तीन हजार बढी हो । आर्थिक वर्ष २०६९÷७० को तथ्यांकअनुसार १५ हजार दुई सय ८५ कैदीरबन्दी र ८० जना आश्रित थिए । अदालतको फैसला कार्यान्वयन निर्देशनालयको सक्रियताका कारण कारागारमा कैदीको संख्या दोब्बर हुन पुगेको विभागले जनाएको छ । यसरी क्षमताभन्दा कैदी बन्दी भएकाले कारागार पनि बढाउनु पर्ने बेला आएको विभागले जनाएको छ । निर्माणाधीन दाङ, धादिङ, मकवानपुर र कपिलवस्तुका कारगार चाँडै सञ्चालनमा आउने भएकाले केही सहज हुने कारागार व्यवस्थापन विभागका सूचना अधिकारी वेदबहादुर कार्कीले बताउनुभयो । त्यस्तै सुर्खेतमा रहेका कारागारको पनि क्षमता विस्तार भइरहेको विभागले जनाएको छ । सुध्रिएन बानी, एउटै अपराधमा आठ पटक पनि अपराध गर्नेलाई सुधार गर्न र सजायको भागिदार बन्न भन्दै वि स १९७१ सालदेखि कारागारको स्थापन गरिएको नेपालको इतिहास छ । कारागार व्यवस्थापन विभागको दीर्घकालिन सोच पनि अपराधीलाई सुधार्ने नै रहेको छ । दीर्घकालिन सोचमा भनिएको छ ‘अपराधीलाई सभ्य, सुसंस्कृत, उत्पादनशील र कानुनको पालना एवं सम्मान गर्ने नागरिकमा रूपान्तरण गरेर समाजमा पुनस्थापित र पुनःएकीकरण गर्न र सुरक्षित र समुन्नत समाजको निर्माण गर्ने बृहत्तर राष्ट्रिय उद्देश्यको परिपूर्ति गर्ने काममा आइपर्ने चुनौतीहरूको सामना गर्न सहयोग पु¥याउन सक्षम र मानवोचित वातावरणमा व्यवस्थित कारागार प्रणालीको स्थापना गर्ने ।’ तर कारागार दीर्घकालिन सोच अनुसार काम नभएको स्वयम कारागार व्यवस्थापन विभागले नै स्वीकार गरेको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार एक पटक दोषी ठहरी कारागार बसी छुटेको व्यक्ति आठ पटकसम्म एकै प्रकारको अपराधमा संलग्न भएको पाइएको छ । ‘अपराधी नै भएपनि नाम नभनौं चोरी र गठी मुद्दामा दोषी ठहरिएको एकै व्यक्ति आठ पटक जेल बस्दा पनि सुध्रिएको छैन । अहिले ९औं पटक उ जेल बसिरहेको छ’ शाखा अधिकृत कार्कीले भन्नुभयो । यसरी आठ, आठ पटक कारागार बस्दा पनि नसुध्रिनुको कारागार व्यवस्थापन विभागका पछाडि कर्मचारीको भूमिका रहेको विभागले स्वीकार गरेको छ । नाम नबताउने सर्तमा विभाग एक कर्मचारीले भने ‘कारागारमा सरुवा गर्ने बित्तिकै मेरै मनोबल गिरेको छ । यहाँ सुरुवा हुने सबैलाई लाग्छ यो काम नलाग्ने ठाउँमा आइयो । कर्मचारी नै यहाँबाट कहाँ भागौं भन्ने दाउमा हुन्छन् भने कसरी कारागारको व्यवस्थापन होला र कैदी सुध्रिएलान् ? ’ त्यस्तै कारागारमा दिइने सेवा सुविधाले गर्दा पनि एउटै कैदीले पटक पटक अपराध गरेको उनले बताए । खासगरी चोरी, ठगी र किर्तेमा दोषी ठहरिएकाले पटक पटक अपराध गर्ने गरेको बताए । कैदीमाथि वार्षिक ७३ करोड खर्च कारागारमा रहने कैदी बन्दीहरु माथि वार्षिक ७३ करोड रुपैयाँ खर्च हुने गरेको छ । यस खर्च अन्तर्गत कारागार र तीन वटा बाल सुधार गृह पनि समावेश छन् । गएको वर्षको तथ्याङ्क अनुसार सिदा र रासनमा मात्रै ६७ करोड ५८ लाख ७४ हजार रुपैयाँ खर्च भएको थियो । यसैगरी, उपचारमा पाँच करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च भएको कारागार विभागले जनाएको छ । सिदा खर्चबापत कैदी बन्दीले दैनिक ४५ रुपैयाँ र सात सय ग्राम चामल पाउँछन् । त्यस्तै वर्षमा दुई जोर लुगा प्रत्येयक दुई वर्षमा सिरक, डसना र दसैँमा तीन सय रुपैयाँ पाउने व्यवस्था छ । त्यस्तै महिला कैदी बन्दी सुुत्केरी भएमा एक हजार रुपैयाँ र लुगा पाउने व्यवस्था पनि छ । यसरी सिदा, लत्ताकपडा, उपचार खर्च लगायत एक ठाउँबाट अर्को ठाउँमा सार्दा लाग्ने खर्च समावेश गर्दा ७३ करोड रुपैयाँ खर्च भएको विभागले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७१र०७२ मा सिदा खर्च र उपचार खर्चमा गरी झण्डै ७२ करोड रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक वर्षका लागि सिदा खर्च ५८ करोड र ६३ लाख रुपैयाँ विनियोजन भएको छ । उपचार खर्चअन्तर्गत केन्द्रीय कारागारमा रहेको केन्द्रीय अस्पतालमा मात्र वार्षिक झण्डै दुई करोड रुपैयाँ विनियोजन हुने गरेको छ ।