चाडपर्व होस् वा अन्य कुनै खुसी या दुःखको समय सकेसम्म रक्सी पिउने बहाना बनाइहाल्ने चलन हाबी हुँदै गएको छ नेपाली समाजमा। अझ सहरमा हुने प्रयः भोजहरु रक्सीले मात्तिएका हुन्छन्। अहिले त कुनै भोजमा निम्तो आउँदा पनि निम्तो पाउनेले आफ्नो सवारी साधन लिएर आउनु कि नलिईु भनेर सोध्छन् रे। भोजमा रक्सी छ भने आफैँले सवारी साधन चलाएर गएको त फाइदा हुँदैन, मापसेमा परिन्छ। यसको अर्थ के निकाल्न सकिन्छ भने, जुनसुकै बहानामा किन नहोस् मानिसहरुको रक्सीप्रतिको आशक्ति बढ्दै गएको छ। यसले मानिसहरुमा स्वास्थ्य संकट निम्त्याउँदैछ भनेर आँकलन गर्न गाह्रो कुरा भएन। किनकि रक्सी सेवन स्वास्थ्यका लागि कहिले पनि फाइदाजनक हुँदै होइन।

रक्सी एक प्रकारको मन्द विष हो। रक्सी सेवनकै कारण विश्वभरि हरेक वर्ष ३३ लाख मानिसको मृत्यु हुन्छ। रक्सी सेवनका कारण दुई सयभन्दा बढी रोग लाग्न सक्छ। रक्सी सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसको क्षतिको अवस्था उस्तै भयावह छ। २०-३९ वर्ष उमेर समूहमा हुने मृत्युमध्ये २५ प्रतिशत रक्सी सेवनका कारण हुने गरेको तथ्याङ्कले देखाउँछ।

अमेरिकामा ५ प्रतिशत अल्कोहल भएको ३६० मिलिलिटर बियर, ७ प्रतिशत अल्कोहल भएको २४० मिलिलिटर बियर, १२ प्रतिशत अल्कोहल भएको १५० मिलिलिटर वाइन र ४० प्रतिशत अल्कोहल भएको ४५ मिलिलिटर जिन, भोड्का, ह्विस्की वा रम सेवन गर्नु स्वास्थ्यका लागि न्यून जोखिम मानिन्छ। तर, शारीरिक बनोटका आधारमा यो मात्रा हामी नेपालीका लागि बढी नै हुन्छ। यस्तै, घरेलु रक्सीलाई ४० प्रतिशतभन्दा बढी अल्कोहल भएको मान्नु उपयुक्त हुन्छ। नेपालमा निम्न आय भएकाहरुले खाने नै घरेलु मदिरा हो। यसमा त झन् अल्कोहलको मात्रा ज्यादा नै हुन्छ।

रक्सी सेवनले तुरुन्तै पुर्‍याउने हानी

– गाडी तथा मोटरसाइकल दुर्घटना, लड्नु, डुब्नु आदि।

– झैझगडा, होहल्ला-हुलहुज्जत, रिसइवी साँध्ने, आत्महत्या, हत्याजस्ता हिंसात्मक गतिविधि बढ्नु।

– यौनजन्य दुर्व्यवहार तथा अपराध, असुरक्षित यौनसम्पर्क। जसले गर्दा अवान्छित गर्भधारण, एचआइभी एड्स जस्ता यौनजन्य रोगको संक्रमण।

– समयमै उपचार नगरेको खण्डमा ज्यानै जान सक्ने सम्भावना।

दीर्घकालीन हानी

रक्सी सेवनले तत्काल आनन्द देला, कसैलाई रमाइलो होला। तर, रक्सीको सेवनले मान्छेलाई पुर्‍याउने दीर्घकालीन हानीबारे रक्सी पिउनुअघि सोच्ने गर्नुहोला।

१. मानसिक रोग:  रक्सी सेवनले डिप्रेसन, अनावश्यक चिन्ताजस्ता मानसिक रोग उत्पन्न गर्छ। प्रायः पिउने मानिसहरु रक्सीले फुर्तिलो बनाउँछ, तनाव र चिन्ता घटाउँछ, मस्त निद्रा लाग्छु भन्ने बाहना बनाउने गर्छन्। तर रक्सीले यसको ठीक विपरित नशाले छोड्नासाथ तनाव र चिन्ता बढाउँछ। शरीरलाई फुर्तिलो होइन शिथिल बनाउँछ, निद्रा भगाउँछ।

२. हृदय रोग : रक्सीले मुटु रोग, हृदयाघात, उच्च रक्तचापजस्ता ज्यान जाने रोग निम्त्याउँदछ।

३. मस्तिस्क तथा स्नायु रोग : रक्सीको सेवनले मस्तिष्कघात हुन सक्छ। आँखाले धमिलो देख्नु, बोली लरबराउनु, हातखुट्टा लड्खडाउनु रक्सीले दिमागमा पार्ने खराब असरका लक्षण हुन्।

४. कलेजोको क्षति: रक्सी सेवन गर्ने १० देखि २० प्रतिशत मानिसको कालेजोमा क्षति पुग्छ। रक्सीले बिगारेको कलेजो रक्सी पिउन छाडे पनि निको नहुने गरी सधैँका लागि क्षतिग्रस्त हुन्छ। रक्सी सेवनकै कारण कलेजो रोगका बिरामीहरुलाई आँखा पहेँलो हुने, पेट सुन्निने, जिउ फुल्ने, रगत बान्ता हुने आदि समस्या आउँछन्।

५. पाचन प्रणालीका रोगहरु:  रक्सी पिउनेहरुलाई भोक नलाग्ने, पेट पोल्ने, अपच हुने, पेट तथा अन्द्रामा घाउ हुने, प्वाल पर्ने, रक्तस्राव हुने जस्ता पाचन सम्बन्धी समस्या देखा पर्छन्।

६. कुपोषण:  रक्सी सेवन का कारण शरीरले क्याल्सियम, भिटामिन डि तथा बि १२ पचाउन सक्दैन। जसले गर्दा हाडजोर्नीहरु कमजोर हुने, शरीरमा रगतको मात्रा कम हुने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, शरीर कमजोर हुने, हात खुट्टा झम्झमाउने, स्मरण शक्ति एवं एकाग्रता हराउँदै जाने जस्ता समस्या देखिन्छन्।

७. क्षयरोगः  शरीरले संक्रमणबाट लड्न सक्ने क्षमता गुमाउँदा क्षयरोग जस्ता संक्रामक रोग लाग्ने सम्भावना बढ्छ।

८. क्यान्सर: अमेरिकन क्यान्सर सोसाइटीका अनुसार कस्तो रक्सी पियो भन्ने होइन कि, कति मात्रामा रक्सी पियो त्यसको आधारमा क्यान्सर हुने जोखिम बढ्दछ्। जति बढी मात्रामा रक्सी पिउँदै गयो त्यति नै क्यान्सर हुने सम्भावना बढेर जान्छ। रक्सी सेवनले मुख, घाँटी, पेट, पित्तनली, आन्द्रा, मलद्वार, फियो, कलेजोको तथा महिलामा स्तन क्यान्सर गराउँछ।

९. बाँझोपनः रक्सी सेवन गर्ने महिलामा गर्भ नबस्ने तथा बाँझोपनको सम्भावना बढी हुन्छ।

१०. सामाजिक तथा आर्थिक समस्या:  रक्सीको सेवनपछि मानिसको काम गर्ने क्षमतामा ह्रास आउँछ। रक्सीले स्वास्थ्य र पैसाको नाश हुनु त छँदैछ त्यसमाथि पारिवारिक कलह र समाजमा इज्जत गुम्ने खतरा पनि उत्तिकै रहन्छ।

स्वास्थ्यका दृष्टिकोणले रक्सी कसैले पनि सेवन गर्नु हुँदैन। त्यसमाथि २१ वर्षभन्दा कम उमेरका मानिस, गर्भवती महिला, सवारी चालक, विभिन्न प्रकारका औषधि सेवन गरिरहेका बिरामीहरुले त झन् रक्सीलाई आफूबाट टाढै राख्नुपर्छ। कतिपय पियक्कडहरुले आफ्नो चित्त बुझाउन मुटुरोगबाट बच्न रक्सी पिउनुपर्छु भन्ने गर्छन्। तर, रक्सीले मुटुमा पर्ने खराब असरहरुको दाँजोमा रक्सीको सकारात्मक असर न्यून हुन्छ। त्यसैले कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीले स्वस्थ्य मुटुका लागि रक्सी पिउने सल्लाह दिनु हुँदैन र दिँदैनन् पनि।

रक्सी बाँच्नका लागि नपिई नहुने पेय पदार्थ होइन। रक्सी पिउने बानीलाई कुनै बहानाले पुष्टि गर्न सकिँदैन, यो कुलत नै हो। यसले स्वस्थ्य शरीरलाई अस्वस्थ्य बनाउँछ, सामाजिक मान-सम्मान र प्रतिष्ठालाई माटोमा मिलाउँछ, सुखमय जीवनलाई दुखमय बनाउँछ। क्षणिक सुखानुभूति अथवा रमाइलोका लागि पिइने रक्सीले आफू, आफन्त र परिवारलाई बाँचुन्जेल रुवाउँछ। त्यसैले रक्सीलाई निषेध गर्न हरदम कोसिस गर्नुपर्छ।