नेपालमा होटल वा रेस्टुरेन्टजन्य समाचारका मुख्य र दोहोरिरहने शीर्षकहरु हुन् । खासगरी उदाउँदो शहर वा पर्यटकीय चलहपहल हुने क्षेत्रबाट यस्ता खबरहरु आउने गर्छन् । व्यवसायिक यौनधन्दा चलाउने अथवा शरीर बेच्ने जस्ता कानुनले वर्जित गरेका कुराहरु त छँदैछन् ।

यस बाहेक वयस्क युवायुवतीहरु तथा प्रेमिप्रेमिकाहरु पक्राउ परेका घटनाहरु पनि अपराधसरह बाहिर आउँछन् । कतिपय मानव अधिकार तथा व्यक्तिगत स्वतन्त्रताको पक्षमा वकालत गर्नेहरु भने यस्ता कुराहरुमा अपत्ति जनाउँछन् ।

आफूले मन पराउने व्यक्तिसँग सार्वजनिक स्थलमा वा होटल तथा लजहरुमा हुनु अपराध नहुने उनीहरुको तर्क छ । आखिर किन उमेर पुगेका वयस्क युवायुवतीहरुलाई होटल रुममा भेट्दा आपत्तिजनक अवस्थामा भेटेको भनिन्छ ?

समाजशास्त्री तथा महिलाको विषयमा कलम चलाउने सम्झना वाग्ले भट्टराई वयस्क युवायुवतिहरु कोठामा भेटिँदैमा आपत्तिजनक अवस्थामा भन्न नमिल्ने बताउँछिन् । ‘हामीले धेरै प्रकारका अधिकार तथा व्यक्तिगत अधिकारका कुराहरु सुनेका छौँ तर होटलको कोठामा भेटिएका जोडीहरुलाई भने हामी आपत्तिजनक अवस्थामा भेटिएको भन्छौँ’ भट्टराई भन्छिन्, ‘कानुनले पनि यसलाई आपत्तिजनक अवस्थामा भन्ने व्याख्या गरेको छैन तर प्रचलनमा भने आपत्तिजनक नै भन्ने सुनिन्छ ।’

किन आपत्तिजनक ? कानुनमा वयस्क युवायुवतीहरुलाई होटलमा भेटिँदा आपत्तिजनक अवस्थामा भेटिएको भन्ने व्यवस्था नभए पनि सामाजिक मान्यताले यसो भनिएको जानकारहरु बताउँछन् । समाजशास्त्री सम्झना वाग्ले भट्टराई वर्तमान समाज संक्रमणकालिन समाज भएकोले पनि यस्ता कुराहरुलाई आपत्तिजनक भनिएको बताउँछिन् ।

‘हाम्रो युवाजमातको चेतनास्तर निक्कै माथि पुगेको छ तर समाजको चेतनाको वृत्त भने पुरानै छ’ भट्टराई भन्छिन्, ‘त्यसैको कारणले पनि यसलाई आपत्तिजनक भनिएको हो । व्यक्तिगत अधिकार र स्वतन्त्रता अनि समाजको धरातलबीच अहिलेको पुस्ता छ ।’

प्रहरी भने वयस्क युवायुवतीहरु यौनकृडाको लागि होटल तथा लजमा जाने भएकोले यस्ता कुराहरुलाई आपत्तिजनक अवस्था भन्ने बताउँछ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक अबधलाल यादव नेपाली समाजको मर्यादा र सीमा बाहिरका कामहरु हुँदा प्रहरीले गर्ने सचेतनाको लागि ‘रेड’ हान्ने बताउँछन् ।

मायाप्रेमका जोडी तथा आफ्नो इच्छाले होटलमा रुम बुक गर्नु सुन्नको लागि र नयाँ पुस्ताको लागि राम्रै सुनिए पनि समाजमा अझै अपज भएकोले त्यस्ता गतिविधिहरुलाई आपत्तिजनक भनिएको बताउँछन् । ‘प्रेमजोडीहरु होटलमा भेटिन्छन् । होलनाइट बसेको भेटिन्छन् त्यो राम्रो हो ?’ यादव भन्छन्, ‘मायाप्रेम भन्दैमा विहे नगरी रातभर होटलमा बस्न नेपाली समाजले स्वीकारेको छैन ।’

व्यक्तिगत स्वतन्त्रता र अधिकारको लागि वयस्कहरु होटल तथा लजमा भेटिनु आगामी पुस्ताको लागि नराम्रो सन्देश जाने प्रहरी निरीक्षक यादव बताउँछन् । उता, समाजशास्त्री भट्टराई भने समाज विकासको क्रमलाई कसैले रोक्न नहुने तर्क गर्छिन् । वर्तमान यथार्थ र नयाँ पुस्ताको इच्छा र आकांक्षाबीच तालमेल मिलेको दिन यस्तो कुराहरु आपत्तिजनक नहुने भट्टराई बताउँछिन् ।

‘यही हाम्रो समाज हो, जसले पहिले केटाकेटी हात समाएर हिँड्ने वा छोरीले पेन्ट लाएर हिँड्नेहरुको कुरा काट्थ्यो’ भट्टराई भन्छिन्, ‘तर आज त्यही समाज हात समाएर हिँड्न मात्रै हैन। अंकमाल गर्दा पनि पचाउँछ । त्यही समाज जसले आज पेन्ट हैन, छोरीले हाफपेन्ट लाउँदा पनि समाजले पचाँउछ । अहिलेको मायाप्रेम जोडीलाई होटलमा भेट्दा आपत्तिजनक भन्ने कुराहरु पनि विस्तारै स्वीकार्य हुँदै जान्छ ।’

मुद्धा किन कमजोर हुन्छ ?

प्रहरी र समाचारले भन्ने आपत्तिजनक अवस्थामा भेटिएकाहरुको मुद्धा सधैँ कमजोर हुने पाइएको छ । इटहरीमा इन्स्पपेक्टर अवधलाल यादव आएको तीनमहिना भयो र उनको नेतृत्वमा आठजोडीहरुलाई ‘आपत्तिजनक’ अवस्थामा पक्राउ परे ।

इन्स्पेक्टर यादवका अनुसार पक्राउ परेका आठ जोडीमा तीन जोडीलाई सार्वजनिक अपराधको मुद्धा लगाइएको थियो भने बाँकी पाँचजोडीहरुलाई परिवारमा बुझाइएको थियो । ‘कतिपय जोडीहरु आफू प्रेमीप्रेमिका भएको बताउँछन् र विहे गर्ने कुरा पनि गर्छन्’ यादव भन्छन्, ‘यस्ताहरुलाई हामी परिवारमा बुझाउने गछौँ ।’

इटहरीमा जस्तै इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर राजेन्द्र पराजुली पनि होटलमा भेटिएका जोडीलाई सार्वजनिक मुद्धा चलाएको बताउँछन् । उनी भन्छन्, ‘म आएको दुईमहिना पनि भएको छैन तर यहाँको रेकर्ड हेर्दा गतवर्षमा एकजोडी पक्रउ परेको देखिन्छ र उनीहरुलाई सार्वजनिक मुद्धाको धरौटी तिरेर तारिखमा छुटेका छन् ।’

धरान, इटहरी मात्रै हैन, देशका थुप्रै सहरमा व्यवसायिक यौनधन्दा नगर्ने तर आफ्नो इच्छाले होटल तथा लजमा बस्नेहरुमा सार्वजनिक मुद्धा नै चलाइने गरेको छ ।

सुनसरी जिल्ला अदालतमा वकालत गर्दै आएका वकिल निराजन ओझा वयस्क जोडीहरुले आफूले चाहेको व्यक्तिसँग बसेको वा यौनजन्य क्रियाकलाप गरेमा कस्तो सजाय दिने भन्ने प्रष्ट व्यवस्था नभएकोले सार्वजनिक मुद्धा चलाउने गरिएको बताउँछन् ।

ओझाका अनुसार मुलुकी ऐनको जबरजस्ती करणीको महल १ मा यौनजन्य गतिविधिको बारेमा कारबाही र सजायको व्यवस्था गरेको छ । जसमा महिलाको मञ्जुरी विना गरिने करणीलाई अपराध मान्छ । तर, अधिवक्ता ओझा इच्छाले गरिने यौनको बारेमा कारबाहीको कुनै कानुनी आधार नहुने बताउँछन् ।

‘यदि मञ्जुरी विना गरिएको यौनसम्पर्कलाई कानुनले वर्जित गरेको छ भने मञ्जुरीले गरेको यौनसम्पर्कलाई गैरकानुनी मान्न सकिन्न’ अधिवक्ता ओझा भन्छन्, ‘यसरी करणीको मुद्धा कमजोर हुने भएकोले यस्तो अवस्थामा सार्वजनिक मुद्धा लाउने गरिएको छ ।’

होटलमा भेटिएका मायाप्रेम जोडीहरुलाई लाउने सार्वजनिक मुद्धा पनि कमजोर हुने सुनसरीका जिल्ला न्यायाधीवक्ता भरतमणि रिजाल बताउँछन् । सार्वजनिक स्थलमा हुलहुज्जत गर्ने, शान्ति खल्बल्याउने, अश्लीलता फैलाउने तथा सरकारी सेवकको काममा वाधा व्यवधानमा लाग्ने जस्ता कसूरमा सार्वजनिक मुद्धा लाग्ने गर्छन् ।

केही सार्वजनिक अपराध (सजाय) ऐन २०२७ को दफा २ मा रहेको सार्वजनिक मुद्धा पनि बलियो नहुने भएपछि होटल तथा लजमा भेटिने जोडीहरुलाई बलियो कारबाही नहुने अधिवक्ताहरु बताउँछन् । प्रहरीले पक्राउ गरेको केही समय हिरासतमा लिने सार्वजनिक अपराधको मुद्धा दर्ता गराएर धरौटीमा छुट्ने प्रचलन रहिआएको कानुन व्यवसायी निराजन ओझाको अनुभव छ ।

‘सहमतिमा यौनसम्पर्क गर्नेहरुले सार्वजनिक शान्ति भङ्ग गरेको वा सामाजिक शैलीमा विचलन ल्याएको भनिन्छ भने यो संसारमा मुख्य आतङ्क यौन हुनुपर्ने हो’ ओझा भन्छन्, ‘त्यसैले यस्ता आरोपमा मुद्धा लाउनुभन्दा पहिले मान्छेका गाँस, बास र कपाससँगै सहबास गर्ने जैविक अधिकार छ भन्ने सबैले बुझ्नुपर्छ तर सबैले त्यो बुझ्ने भन्दैमा साँच्चीकै अश्लीलता फैलाउने गरी युवापुस्ता पनि लाग्नु हुँदैन ।’

‘प्रेमजोडीहरुलाई सजाय हैन सल्लाह’

बेला–बेला पक्राउ परेका प्रेमजोडीहरुलाई कानुनी तरिकाले तर्साउनेभन्दा पनि सल्लाहरु दिनुपर्ने लैङ्गिक शिक्षामा एमफिल सकेकी समाजशास्त्री सम्झना वाग्ले भट्टराई बताउँछिन् ।

‘कोठामा पक्राउ परेका वयस्क प्रेमजोडीहरुलाई कारबाही गर्न हाम्रो कानुन छैन र स्वीकार गर्न हाम्रो समाज तयार छैन’ भट्टराई भन्छिन्, ‘त्यसैले यस्ता जोडीहरुलाई विभिन्न असान्दर्भिक कानुनी कुराहरुमा अल्झाउनेभन्दा सल्लाह र शिक्षाको जरुरी रहेको छ ।’

अधिवक्ता निराजन ओझा पनि आजका युवाहरुलाई सल्लाह दिएमा यस्ता कुराहरु आफै हल हुने बताउँछन् । ‘हामीले सचेत हुने र कारबाही गर्ने भनेको देहव्यापार गर्ने वा यौनधन्दा चलाउने गिरोहको लागि हो ।

हामीले बालयौन दुराचार, अप्राकृतिक मैथुन, हाडनाता करणी वा पशु करणीमा कानुनमा व्यवस्था भए बमोजिम कारबाही र खबरदारी गर्ने हो’ ओझा भन्छन्, ‘तर वयस्कलाई होटल वा लजमा भेटेमा वा सहमतिमा यौनसम्पर्क गरेको कुरामा कानुन लाउनेभन्दा काउन्सिलिङ गर्नु राम्रो कुरा हो ।’