धरान/धरान उपमहानगरपालिकाले पुरानो बजार क्षेत्रमा तीनवर्ष अघिदेखि थालेको ‘वनवे’ सडक युद्धस्तरमा अघि बढिरहेको छ । धरान–१३ लक्ष्मीचोकदेखि धरान–३ माछाभौडीसम्म बन्ने ‘वनवे’ सडकले आगामी वर्षसम्ममा मूर्त रुप लिदै छ ।
[caption id="attachment_35916" align="alignnone" width="1024"] वनवेका लागि घर भत्काइदैँ । तस्बिरहरुः भाेजराज श्रेष्ठ[/caption]
लक्ष्मीचोकदेखि योजना थाल्दा स्थानीयवासीको वाधा अवरोध सिर्जना भए पनि अव ढुक्कसँग योजना पूरा हुने देखिदै छ । वाधाअवरोधको पहाड सिर्जना हुने अनुमान गरिएको धरान–२ र ३ (धरानको पुरानो मूल बजार) नै अहिले ढुक्कसँग अघि बढ्दै छ । अझ भनौं, त्यहाँका स्थानीयवासी आफैले सडकमा पर्ने घरहरु भत्काएर धरान उपमहानगरलाई सहयोग गरिरहेका छन् ।
आर्थिक वर्ष २०७/०७१ देखि सुरु भएको यो आयोजनाको लागि धरान नगरपालिकाले वार्षिक रुपमा ५० लाखको हाराहारीमा बजेट विनियोजन गर्दै आएको थियो । जहाँ केही अवरोधसमेत सिर्जना भएका थिए ।
तर, सिंहदेवीचोकदेखि माछाभौडीसम्मको करिव ७ सय मिटर बाटोलाई शहरी विकास तथा भवन निर्माण विभागको ‘मेट्रो सिटी कार्यक्रम’ ले २ करोड ९३ लाख (जसमध्ये अन्दाजी २५ लाख रुपैया सप्तरङ्गी पार्कका लागि छुट्याएको छ) बजेट विनियोजन गर्ने भएपछि स्थानीयबासीले आफ्नै पहलमा अहिले घरहरु भत्काउन थालेका हुन् ।
अव केही दिनमै उक्त मार्गको लागि ठेक्का लाग्ने छ । ‘बिहीबार धरान उपमहानगरले ठेक्का खोल्दै छ ।’ धरान उपमहानगर योजना शाखाका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ भन्छन् । स्थानीयवासीले युद्धस्तरमा घरहरु भत्काउन थालेका छन् । जहाँ ५० फुटको ‘वनवे’ सडक हुने छ । ३६ फिट कालोपिच हुने छ भने बाँकी रहेको १४ फिटमा ७–७ फिटको नागरिक हिड्न मिल्ने गरीको फुटपाथ बन्ने छ ।
ग्रिन मार्गको फुटपाथ हुने धरान उपमहानगर बताउँछ । सडक चौडा भएपछि त्यहाँको व्यवसायले फड्को मार्ने विश्वासमा व्यवसायीहरु छन् । त्यहाँका अधिकांस घर व्यवसायमा केन्द्रीत छ । धरानको थोक बजार त्यही हो । धरानको बजारको प्रारम्भ विन्दु नै धरान–२ र ३ नम्बर हो । जसलाई अहिले पुरानो बजार भनिन्छ । व्यापारिक दृष्टिकोणमा अहिले महेन्द्रपथले जितिसकेको छ । २० फुटे मार्ग त्यो पनि साघुँरो हुँदा त्यो बजार खण्डहर मात्रै हैन, अस्तव्यस्त बन्न पुगेको त्यहाँका व्यवसायीहरु बताउँछन् ।
‘बाटो फराकिलो भएपछि व्यवसाय बढ्छ ।’ वडा नागरिक मञ्चका सह संयोजक राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, ‘सडक साघुरो हुदा धरानको पुरानो बजारको व्यापार सुनसान भएको थियो ।’ उनका अनुसार सबैले सहमतिमै घरहरु भत्काइरहेका छन् । ‘विकासको लागि सबै तत्पर छ ।’ उनले थपे । सडक बनेपछि फुटपाथ व्यवस्थित हुने मात्रै हैन, दुर्घटना न्युन हुनेमा त्यहाँकाबासीहरु ढुक्क छन् । सानो बाटो हुदा र फुटपाथ नहुदा दुर्घटना धेरै हुने गरेको थियो ।
‘बच्चाहरु जोगाउनै मुस्किल हुन्थियो ।’ श्रेष्ठ भन्छन्, ‘बाहिर निस्किदा एकैपटक सडक मै पुग्ने । गाडीले हानिदेला कि भन्ने डर थियो । अव ढुक्क हुन्छ ।’ सिंहदेवी चोकदेखि भौडीसम्म झण्डै ३–४ सय घरधुरी सडकसँग जोडिएका छन् । सबै घरधनीहरुले आफै मान्छे लगाएर घर भत्काउने कार्य गरिहेको अहिले देख्न सकिन्छ । नगरपालिकाकै योजनामा अघि बढेको भए यो स्तरमा अघि बढ्ने सम्भावना कमै हुने धरान–२ कै घरधनी दिलकृष्ण श्रेष्ठ बताउँछन् ।
मेट्रोसिटी कार्यक्रम मार्फत् आएको रकमले चाडै बन्ने विश्वासमा घरधनीहरु छन् । साघुरो सडकबाट सकस पाइरहेका त्यो वार्डबासीहरु मात्रै हैन, धरानवासीहरुकै लागि यो ‘वनवे’ नमुना हुने विश्वास श्रेष्ठ गर्छन् । र, धरानको इतिहासमा पनि यो नयाँ हुने छ ।
यस्तो छ वनवे
आर्थिक वर्ष २०७०/०७१ देखि सुरु भएको लक्ष्मीचोकदेखि माछाभौडीसम्मको ‘वनवे’ मध्ये चरण–चरण गरेर बनेका छन् । जसमध्ये लक्ष्मीचोकदेखि धरान–१ गोपाल मार्गसम्मको सडक चौडा भइसकेको छ । खुल्ला सडक बनेपछि अहिले त्यहाँकाबासीले आनन्दको स्वास लिन पाएका छन् । झण्डै ७ सय मिटर कालोपत्रे भइसकेको छ । गोपाल मार्गदेखि सिंहदेवी चोकसम्मको ड्रेनको काम युद्धस्तरमा भइरहेको छ ।
करिव दुईलेन झै देखिने उक्त सडकले धरानको गरिमालाई थप उचो बनाएको छ । त्यसको लागि पनि धरान नगरले टेण्डर आह्वान गर्दैछ । ‘यो वर्षसम्म सिंहदेवी चोकसम्म नगरपालिकाले सक्ने हो ।’ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने । लक्ष्मीचोकदेखि सिंहदेवीचोकसम्म धरान उपमहानगरको २ करोड ५५ लाख रुपैया बजेट विनियोजन गरेको छ भने ४५ लाख जनसहभागितामा सम्पन्न भएको छ । ‘३ करोडमा ८५ प्रतिशत नपा र १५ प्रतिशत जनसहभागिताबाट हो ।’ इन्जिनियर श्रेष्ठ भन्छन् ।
[caption id="attachment_35921" align="alignnone" width="1024"] वनवे सडकका कारण आफ्नो घरको यहाँसम्म फोड्नु पर्ने जानकारी गराउदै धरान–२ त्रिभुवन मार्गका राजेन्द्रकुमार श्रेष्ठ । तस्बिरः ब्लाष्ट/भोजराज [/caption]