[caption id="attachment_36047" align="alignleft" width="293"] लेखकः गाेपाल दाहाल[/caption]

तीन साताअघि धरान–१६ जोरसखुवामा १३ वर्षीया बालिका अनुषा राईको रहस्यमय तरिकाले मृत्यु भयो । बालिकाको मृत्यु र उनलाई धर्मपुत्रीका रुपमा पाल्ने बलिमान राईको परिवारको गतिविधि अस्वाभाविक देखेपछि उनकै छिमेकीहरुले बालिकाको हत्या भएको आशङ्का गरे । स्थानीय र धरानवासीले आन्दोलनै गरे । प्रहरीले हवाई फायर गर्यो, अश्रुग्याँस हान्यो । घटनाको चर्चा धरानमा मात्र होइन देशविदेशमा बस्नेहरुसम्म पुग्यो ।

तर अचम्म स्थानीयवासी, सर्वसाधारण न्याय माग्दै आन्दोलनमा उत्रिँदा पनि धरानको शान्ति, विकास र समृद्धिका लागि काम गर्छौं भन्ने राजनीतिक दलहरुले खासै चासो देखाएनन् । स्थानीय तहका मुख्य नेताहरुले त धरानमा केही नभए जस्तो वा थाहै नपाए जस्तो गरे । हुन त राजनीतिक दलहरुमै आवद्ध केही व्यक्तिहरु सङ्घर्ष समितिमा छन् तर दलहरुले दलगत चासो देखाउनु पर्थ्यो । दलका स्थानीय नेताहरुले उचित छानबिनका लागि दबाव दिनु पर्थ्यो ।

यो जघन्य घटना सेलाउन नपाउँदै अरुपनि धेरै वटा आपराधिक घटना भइसके धरानमा, तर राजनीतिक दलका नेताहरुलाई धरानवासी सर्वसाधारणको न्याय र सुरक्षाप्रति चिन्ता देखिएन । यिनै दलका तिनै नेता, कार्यकर्ताहरु धरानमा रमाइलो मेला लाग्न लागेको भए दुई महिना अघिदेखि सक्रिय हुन्थे । विगतका दिनहरुमा हामीले देखिसकेका छौं, मेलाको खेलामा दश–बीस हजारमात्र कमिशन आउने भएपनि उनीहरु ज्यान दिएर लाग्छन् । मेला नलागे धरानको विकासको गति रोकिने भन्दै यिनै दल र नेताहरुले पत्रकार सम्मेलन गरेका छन् । त्यहाँ बोलेका कुराहरु हामीसँग अहिलेपनि सुरक्षित छन् । धरानमा अहिले यत्रो अशान्ति मच्चिँदा उनीहरुको मौनता रहस्यमय छ । उनीहरुबाट धरानको भविष्य कस्तो होला ? के आशा गर्ने धरानवासीले ?

एउटा कुनै व्यक्ति गुण्डागर्दी गरेर वा आपराधिक काम गरेर पक्राउ पर्यो भने राजनीतिक दलका यिनै नेता कार्यकर्ता आन्दोलनमा उत्रिन्छन् । चक्काजाम गर्छन् । रातदिन उसलाई छुटाउन लागि पर्छन् । जिल्लादेखि केन्द्रसम्म दबाव दिन्छन् । पटक–पटक देखिएका कुरा हुन् यी धरानमा । यस्ता नेताहरुले भविष्यको धरानको विकास गर्न सक्लान् ? अबको चुनावमा कसरी भोट दिनु जनताको पक्षमा काम नगर्नेहरुलाई ? हुन त अहिले राजनीतिक दलहरु आप्mनै गतिविधिका कारण यहाँमात्र होइन देशमै बदनाम छन् । अझ धरानमा त भविष्यमा धरानको आइडल नेता भनेर मनैबाट भन्ने खालका कोही देखिंदैनन् । न त उनीहरुको राजनीतिक पहुँच छ, न नयाँ भिजन दिन सक्ने क्षमता नै । त्यसैलेपनि होला यहाँका नेताहरुलाई गुण्डाहरुले सञ्चालन गरिरहेका हुन्छन् । उनीहरुबाट ठूलो आशा कसरी गर्नु ?

बालिका अनुषा घटनाकै उदाहरण लिउँ । राजनीतिक दलहरुले त आफ्नो कार्यकर्ता नपरेर, आफ्नो इन्ट्रेष्ट नभएर वा जुनसुकै कारणले घटनाको चासो देखाएनन् । आफुलार्इ अधिकारकर्मी भन्नेहरुले पनि केहीले बाहेक यो घटनालाई बेवास्ता गरे । यो घटना सबै धरानवासीको चासोको विषय हो तर एउटा बालिकाको घटना भएकाले यसको सत्यतथ्य बुभ्mने नेतृत्व महिला अधिकारकर्मीहरुले लिनुपर्ने थियो । धरानका सबै महिला अधिकारसम्बद्ध सङ्घसंस्थाको साझा संस्था छ धरान महिला सञ्जाल । महिलाको हकहितका लागि काम गर्ने भनेरै स्थापना भएको हिसाबले पनि सञ्जाल सबैभन्दा अगाडि बढ्नु पर्ने हो यस्ता घटनामा । तर महिला सञ्जालका केही पदाधिकारीले यस्ता घटनालाई व्यक्तिगत नाफा, घाटाको विषय बनाएका उदाहरण प्रशस्त छन् । केही समयअघि कलाकार सन्तोष पन्तले बीपी प्रतिष्ठानकी महिला सुरक्षा गार्डलाई दुव्र्यवहार गरेको घटनामा प्रहरी प्रशासनसँगै मिलेर महिला सञ्जालले पनि पीडितलाई झन् पीडित बनाउने भूमिका खेल्यो । त्यो घटनापछि व्यापक आलोचना भएको सञ्जालले बालिका मृत्यु घटनामा सक्रिय भूमिका खेलेर पुरानो गल्तीको प्रायश्चित गर्नु पर्ने थियो, तर त्यसो गरेन ।

बालिकाको घटनामा प्रहरी प्रशासननै प्रभावित भएको चर्चा चलिरहेका बेला सधैं प्रहरी प्रशासनकै वरिपरि घुम्ने सञ्जाल पनि निस्क्रिय देखिनु अर्को रहस्यमय कुरा छ । महिला सञ्जालको मुख्य काम महिलाका अधिकार स्थापित गर्नु, अन्यायमा परेकालाई न्याय दिलाउन जोड दिनुभन्दा पनि प्रहरीका हाकिमहरु सरुवा हुँदा वा नयाँ हाकिम आउँदा स्वागत र बिदाइ गर्नु जस्तो भएको छ । प्रहरीको इन्ट्रेष्टमा काम गर्नेहरुको नेतृत्व भएको सञ्जालले धरानवासीको हितमा कसरी काम गर्ला ? यही कारणले पटक–पटक विवादमा आउने गरेको सञ्जालले बालिकाको घटनामा सक्रिय नभएको भनेर चौतर्फी आलोचना बढेपछि भानुचोकमा मैनबत्ती बाल्ने र इलाका प्रशासनमार्पmत् ज्ञापनपत्र बुझाउने काम गरेको छ । सञ्जाललाई नै गलत भन्न त मिल्दैन तर केही नेतृत्व तहमा हुनेहरुको गलत आचरण र गलत नियतका कारण सञ्जाल बद्नाम भइरहेको छ । सञ्जालका सदस्यहरुले बेलैमा सुधारको पहल गर्नु जरुरी छ । नत्र धरानको सामाजिक क्षेत्रको नेतृत्व गर्ने संस्थाको विश्वास अझै गुम्न सक्छ ।

बालिका घटनाका बारेमा जानकार धरानवासीले राजनीतिक दल, महिला सञ्जाल मात्र होइन, यहाँका सञ्चारकर्मीको भूमिका पनि चित्त बुझाएका छैनन् । समाजमा भएका घटना र तिनका आयामहरुको उजागर गर्ने जिम्मेवारी हो सञ्चारकर्मीको । अझ बालबालिका, अन्याय अत्याचारका घटनालाई सञ्चारकर्मीले प्राथमिकताका साथ लिनु पर्ने कुरा त सञ्चारकर्मीको आचार संहितामा नै उल्लेख छ । घटनाका समाचार सञ्चारमाध्यमहरुमा आएपनि त्यो घटनाप्रधान रुपमा मात्र बढी आए । आन्दोलन भएको, ढुङ्गामुडा भएको, अश्रुग्याँस हानेको, पोष्टमार्टम भएको कुरा केही राष्ट्रिय र स्थानीय सञ्चारमाध्यमले कभर गरे । तर गहिराईमा पुगेर तथ्यगत रुपमा लेख्नेहरु कम थिए । धरानमा महिला सञ्चारकर्मीहरुकै पनि विभिन्न सङ्गठन छन्, तर तिनको आवाजपनि जुन तहमा सुनिनु पर्ने थियो, सुनिएन ।

धरानको प्रहरी–प्रशासनको त झन् के कुरा । एकपछि अर्का घटनामा दोषी उम्काउने, राजनीति र पैसामा प्रभावित हुने छवि बनिसकेको छ । घटनास्थलबाटै पक्राउ परेका अभियुक्तलाई निर्दोष भन्दै छाड्ने, दुनियाँले अपराधी भनेर चिनिसक्दापनि प्रहरीले निर्दोष सावित गर्ने घटनाले प्रहरी प्रशासनबाट आशा मर्न थालेको छ धरानवासीमा । धरानमा पछिल्लो समय आपराधिक घटना बढ्नुमा प्रहरी प्रशासनको त्यही कमजोरी मुख्य कारक हो । धरानको सुरक्षाको मुख्य जिम्मेवार इलाका प्रहरी कार्यालयमा प्रमुख बनेर डिएसपी ढकेन्द्र खतिवडा आएपछिका दिनमा एकपछि अर्को अपराधका घटना भइरहेका छन् ।

यसअघिको अनुभवबाट के थाहा भएको छ भने प्रहरी प्रमुख स्वच्छ र निडर भए अपराधीको मनोबल गिर्छ । महिला तथा बालबालिकाका घटनामा शून्य सहनशीलता अपनाउने नीति लिएको प्रहरीले यसअघि पनि सन्तोष पन्त काण्डमा पीडितकै पक्ष लिएको भनेर व्यापक आलोचना भयो । त्यसबाहेक अन्य थुप्रै उदाहरण छन्, महिलाका घटनामा पीडितकै पक्ष लिएको । पछिल्लो उदाहरण बालिका अनुषा घटनामा पनि प्रहरीको भूमिका सन्तोषजनक देखिएन । आन्दोलन गर्नेहरुकै अगाडि अनुषालाई धर्मपुत्रीका रुपमा राख्ने बलिमानको परिवारले ‘दुई–चारजना मारेपनि पैसा खर्च गरेर निस्किने’ धम्की दिएपछि आन्दोलनले झनै चर्को रुप लिएको थियो । उनको त्यो अभिव्यक्तिले गल्ती गरेर प्रहरी प्रशासनमा पैसा खर्च गरेको अर्थ लाग्यो ।

समाजको विकास, उन्नति, समृद्धि, शान्तिका लागि सक्रिय हुने वर्गहरु राजनीतिक दल, अधिकारकर्मीहरु, सञ्चारकर्मीहरु र प्रहरी प्रशासन नै हुन् । धरानको समाजले उनीहरुकै काममा विश्वास गर्न सकेको छैन । यो अवस्था आउनु समग्र धरानको लागि दुःखको कुरा हो । यसले धरानको विकासमा होइन अधोगतिमा भूमिका खेल्छ । कुनैबेला मृत शहर भनिने धरान तङ्ग्रिंदै गरेको बेला बढ्दो असुरक्षाले धरानलाई फेरि मृत शहर त बनाउँदैन भन्ने प्रश्न उठ्छ । यो बेला समग्र धरानवासी सचेत हुन जरुरी छ । गलत गर्नेहरुका विरुद्ध आवाज उठाउनु आवश्यक छ ।

सरकारले स्थानीय निर्वाचन घोषणा गरिसकेको छ । अबको चुनावपछि निर्वाचित हुने पदाधिकारीहरु पहिलेभन्दा अधिकारसम्पन्न र धेरै दायित्व भएका हुनेछन् । पाँचकन्या र विष्णुपादुका समेत गाभिएर ठूलो बनेको धरानका सबै ठाउँमा बस्नेहरुलाई सुविधा दिन सकिनेगरी नीति निर्माण गर्न सक्ने नेताको खाँचो छ । धरानमा शान्तिको वातावरण बनाउन भूमिका खेल्न नसक्ने अहिलेका नेताहरुले बेलैमा सुध्रिएर, सचेत भएर धरानवासीको हितमा काम गर्नु जरुरी छ । धरानलाई सबै क्षेत्र मिलेर शान्त, स्वच्छ, हराभरा बनाउनु आजको आवश्यकता हो ।