युवा पुस्ता फेसबुक थाहा नहुने र प्रयोग नगर्ने सायदै नहोलान् , समय विताउने मनोरञ्जनको गतिलो माध्यम भएको फेसबुककै कारण विराटनगर–१६ की १९ वर्षिया मोनिका प्रधानको भने दैनिकी सँगै जीवन नै फेरिएको छ ।

कहिले विराटनगरको सडक सफा गर्दै गरेको , कहिले आश्रममा सहयोग गर्दै गरेको त कहिले विध्यालय जान नपाएका बालबालिकालाई पढाउँदै गरेको तस्बिर फेसबुकमा अपलोड गरेर चर्चामा आएकी मोनिकाको बाटो पछ्याउने युवा युवतीको सङ्ख्या थपिने क्रम सुरु भएको छ।

धेरै वटा सामाजिक संस्थामा आबद्ध वनिसकेकी मोनिकाले एक्लै आरम्भ गरेको परोपकारी र सेवामुखि बाटोमा अहिले उनलाई सघाउने र साथ दिनेहरु थपिदै गएका छन् भने उनी पनि थप उत्साहित बनेर हिडिरहेकी छन् ।

यसरी सुरु भयो मनकारी बाटो

तेह्र वर्षको उमेरमा जतिवेला मोनिका कक्षा–७ मा पढ्थिन त्यो वेला असार महिना थियो मेरो ठुलो ममीको छोरालाई पुर्वाञ्चल अनाथ आश्रम विराटनगरमा संरक्षणमा रहेकि उर्मिला गौतमले भाइ बनाउनु भएको थाहा पाँए । भाइ वनाउनुका कारण र कुराहरू सुनेपछि उनलाई भेटेर साथी बनाउने अनि साथ दिने इच्छा पलायो ।

म उनलाई भेट्न एक जना साथी लिएर आश्रम गए । मैले असार १५ गते पहिलो चोटि आश्रममा पाइला राखेको थिए । उर्मिलालाई साथी बनाउन जाँदा विध्यालय जाँदा खाजाका लागि भनेर दिएको पैसावाटै फोटो फे्रम उपहार पनि लिएर गएको थिएँ । उनले पनि मलाई मिठाई खुवाएर साथी वनाएकी थिइन ।

त्यही दिन थियो जसले मलाई यो समाजमा दुख अभाव र साहारा बिनाका मानिसहरूलाई सहयोग गरेर जिउन सिकायो तर म सानै थिए मनभित्र इच्छाका पहाड थिए । तर उमेर र अभावका कारण चाहेजति म गर्न सक्दिनथे त्यो पीडा निकै कारुणिक र मर्मश्पर्शी हुन्थ्यो तर मैले हार खाईन जति सक्थे त्यति गर्थे ।

साताभरीको खाजा खर्च बचाउने र शनिवार बिदाको दिन आश्रम गएर अभिभावक विहीन बालबालिकाको मुहारमा खुसी ल्याउने प्रयत्न मैले गरिराखे अहिले सम्मपनि त्यो जारी नै राखेकी छु ।

फेसबुक नै माध्यम बन्यो

कक्षा–९ मा पुगेपछि साथीहरूले फेसबुक चलाउन थालिसकेका थिए त्यहाँ वाट म पनि अछुतो रहन सकिन बाबाको मोवाईलवाटै मैले पनि फेसबुक चलाउन थालेको थिएँ । पहिलो पटक मैले बाबु आमाको सहमतिमा आश्रममा नै जन्मदिन मनाउने निधो गरे ।

आश्रममा जन्म दिन मनाएको फोटो फेसबुकमा अपलोड गरेपछि मलाई सघाउन र साथ दिन साथीहरू र चिनेजानेका तयार भए । उनीहरू आफैँले सहयोग गर्ने इच्छा देखाउन थाले ।

आफूले एक्लै हिड्न तय गरेको बाटोमा सहयोगिहरु भेटिन र थपिन तयार भएपछि म झन् उत्साहित हुन थाले । जसले मलाई थप प्रेरित र उत्साहित बनायो ।

फेसवुकवाटै सहयोग जुट्ने परोपकारी काम हुन थालेपछि त्यसलाई थप व्यवस्थित र सङ्गठित बनाउन फेसबुकमै ल्क्ध्ब्च्न् नामको ग्रुप नै बनाएर काम गर्न थालिम अहिले पनि हामी यही गु्रप अन्य हेल्पिङ ह्यान्ड्स , पाइला परिवर्तनका लागि लेट्स चेन्ज र वुमन्स रुम रिलोडेडमा आफ्ना कुराहरू राख्छौ अनि सहयोग जुटाएर काम गर्छौ ।

खुट्टा समातेकैले पढाउन थाले

घरबाट आफू अध्यनरत शिक्षादिप कलेज जाने आउने क्रममा सधैँ सडकमा केटाकेटिहरु पैसा माग्न बसेका हुन्थे सधैँ त्यो दृश्यले मलाई पिडा दिइरहेको हुन्थ्यो तर पनि म केही गर्न नसक्ने थिए । मन थियो उनीहरू प्नि आफू जसरी नै स्कुल कलेज जाउन भनेर तर के गर्ने म सँग पनि कुनै उपाय थिएन उनीहरूका लागि । कलेज जाने आउने क्रममा उनिहरुमाथि आफ्नै साथीभाई र सडकमा हिड्नेहरुले गरेको व्यवहारले मेरा आँखा रसाउँथे तर पनि म केही गर्न सक्दिनथे ।

एक दिन कलेज जाने क्रममा सडकमा माग्न बसेका एक जना बालकले खुट्टा नै समातेर दिदी खाको छैन मलाई पैसा दिनुस न भनेर समातेपछि उनीहरूका लागि केही न केही नगरी सुख नै नहुने अवस्था श्रृजना भयो । कलेज सकिएर फर्केपछि मैले ती सडकमा माग्न वसेकालाई पछ्याउँदै उनीहरूका अभिभावक बसेको ठाँउ सम्म पुगेर वास्तविकता थाहा पाएँ की खानकै लागि उनीहरू मात्र हैन उनीहरूका आमा समेत माग्न हिड्दा रहेछन् भनेर ।

सिङ्गो बस्तीका ३५–४० जना केटाकेटी माग्न जाने गरेको थाहा पाएपछि उनीहरूलाई नियमित पढाउने निधो गरे । बस्तीमा उनीहरूका अभिभावकले पढाउन आउँछु भन्दा पत्याएका थिएनन् जुन कुरा उनीहरूको मुहारवाट व्यक्त भएको प्रस्ट झल्किन्थ्यो त्यही भएर पढाउनै पर्ने बाध्यता म माथि थियो ।

मैले भोलि पल्ट साथीभाईसँग त्यो विषयमा कुरा राखे उनीहरू पनि मलाई साथ दिन र पढाउन तयार बने त्यो क्रम करिब ४ महिना चल्यो ।केटाकेटी पढाउने क्रमसँगै उनीहरूका आमाहरुले समेत पढ्ने इच्छा देखाए । उनीहरूलाई समेत पढाउन थालिम तर विराटनगरको सडक विस्तार योजनासँगै उनीहरू विस्थापित भएपछि सम्पर्क बाहिर गए ।त्यसरी विध्यालय जान नपाएका र पढ्न नसकेकाहरु भेटिए म अनि मेरा साथीहरू पढाउन तयार छौँ ।

स्कुटरका लागि सौन्दर्य प्रतियोगितामा

खाजा खर्च मात्रैले धान्न नसकेपछि सेराजीममा पार्ट टाइम जब गर्न थालेको थिए । त्यहाँ आउने वुढावुढिसँगको नियमित भेटघाट र कुराकानीले वृद्दआश्रम जाने इच्छा जगायो । बिदाको समयमा नियमित विराटेश्वर आश्रम जाने र सहयोग गर्ने गर्न थाले । त्यो मेरो दैनिकी नै वनिसकेको थियो। अचानक वृद्दआश्रम सारियो र निकै टाढा लगियो आश्रम सारेपछि जाने आउने पातलिदैं गयो ।

मध्यम परिवारकी सदस्य भएकाले आफै सवारीसाधन किन्ने अवस्था रहेन तर आश्रम जान नपाएको समयमा नै मिस कलेज प्रिन्सेस नामको प्रतियोगिता विराटनगरमा हुँदै गरेको र विजेतालाई स्कुटर उपहार राखिएको विज्ञापन देखेर सोच्दै नसोचेको र कल्पना नै नगरेको सौन्दर्य प्रतियोगितामा भाग लिने निधो गरे ।

मोडल हुने र रङगीन दुनियामा जिउने इच्छा नहुदा नहुदै स्कुटर जित्न कै लागि प्रतियोगितामा सहभागी बने तर दुर्भाग्य म विजेता बनेर स्कुटर ल्याउन सकिन तर फेरी अर्को नयाँ जितका लागि शिक्षा र शक्ति भनेर प्राप्त गरेर फर्केकी छु ।

चाडपर्व पनि आश्रम मै

आफ्नै लागि मात्रै गर्ने हो भने मान्छे र पशुमा के नै फरक रहन्छ र रु वास्तविक जीवन त त्यो हो जुन अरूका लागि पनि उपयोगी बन्न सक्छ । वास्तविक जीवन जिउन कै लागि आफुँले जीवन समाजमा हेपिएका , अभिवावक विहीन भएका र सहयोगको आशामा वाँचेकाहरुलाई समर्पण गर्ने निधो गरेकी छु । वाँचुन्जेल सहयोग र परोपकारका कामबाट आफुँलाई अलग बनाउने छैन ।

सुरु सुरुमा चाडवाड र पर्वहरुको समयमा घर छाडेर आश्रममा गएर मनाउँदा कतिले के के भने भनेर नि साध्य नै छैन । त्यति बेला एक्लै हुन्थे तर अहिले मसँगै धेरै साथीहरू छन् जसले हरेक चाडवाड र पर्व कोही नभएर आश्रममा वसिरहेकाहरु सँग मनाउँछन् ।

हामी सबैले विवाह , व्रतवन्ध , जन्मदिन र विभिन्न अवसरका नाममा खर्चिने फजुल खर्च खान नपाएका लाउन नपाएका र खुसीको पर्खाईमा रहेकाहरुलाई दिने हो भने के हामी गरिब हुन्छौं त रु हामीले नगरे कसले गर्छ रु हामीले नसोचे कसले सोच्छ ?

युवापुश्तालाई अपिल

फेसबुक ट्वीटर भाईवर र ईन्सटाग्राम लगायतका सामाजिक सञ्जालले अहिलेको युवा पुस्तालाई मन्द गतिमा डोरयाउन थालेकाले समाज र देशका लागि सामाजिक सञ्जालको उपयोग निकै संवेदनशील भइसकेको मेरो बुझाई छ । अभिभावक र शिक्षक–शिक्षिकावाट गाईडेड हुनेहरु अहिले सामाजिक सञ्जालबाट गाईडेड भइरहेका छन् ।

जसले अहिलेको युवा पुस्ता र आगामी पुस्तालाई भ्रष्ट अनि गैर जिम्मेवार बनाउने खतरा रहन्छ । सामाजिक सञ्जाल प्रयोग नै नगर्ने भन्ने मेरो भनाई हैन उपयोगी काम र शिक्षाप्रद कुराहरूमा मात्रै उपयोग गर्ने बानी वसाल्न जरुरी छ । अनि अभिभावकले पनि वन्देज लगाउने हैन सामाजिक सञ्जालको सदुपयोग गर्न सीकाएर प्रयोग गराउनु राम्रो हो भन्ने मलाई लाग्छ ।

अहिलेको पुस्ता सामाजिक सञ्जाललाई सदुपयोग भन्दापनि दुरुपयोगको बाटोमा लागेकाले त्यसले भविष्यमा तपाईँ हामीलाई त प्रभाव पार्ने छ नै मुलुकलाई पनि प्रभावित पार्ने निश्चित छ । त्यसैले हामी सबै आजबाटै सामाजिक सञ्जालको सदुपयोगमा लागौं । (कुराकानीमा अाधारित)