धरान/ढेडदशकदेखि चर्चामा रहेको धरानको एयरपोर्टको ड्रोनमार्फत् सर्वे थालिएको छ । [caption id="attachment_36631" align="alignnone" width="905"] ड्रोनमार्फत् धरान एयरपोर्टको सर्वे गर्न तयारी गर्दै नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोलीहरु । तस्बिर सहयोगः ललित राई[/caption] नेपालमा पहिलो पटक व्यवसायिक रुपमा ड्रोनमार्फत् सर्वे गरिएको धरान एयरपोर्ट नै हो । ड्रोनले जग्गाको फोटो क्याप्चर गर्दै टोपोग्राफिक नक्सा (डिजिटल टेरेन्ट मोडल) तयार गर्ने छ र प्राधिकरणलाई बुझाउने छ । नागरिक उड्डयन प्राधिकरणले खटाएका पाँचजना प्राविधिक टोलीले दुई दिन लगाएर सर्वे गर्ने छ । शुक्रबारबाट थालिएको सर्वेको टोपोग्राफिक नक्सा र थ्रिडी मोडललाई प्राविधिकहरुले प्राधिकरणलाई बुझाउने छन् । प्राविधिक टोलीले ७० हेक्टर जमिनको टोपोग्राफिक र थ्रिडी मोडल तयार पारेर बुझाउने प्राविधिक टोली मध्येका उत्सव गौतमले बताए । ‘खासमा तीनदिन लाग्छ । तर, दुईदिनमा सक्ने गरी काम गरिरहेका छौं ।’ उनले भने । शुक्रबार बिहानैदेखि सर्वे सुरु गरेका थिए । सर्वेको लागि गौतमसहित आशिष बोहोरा, प्रेक्सन सुबेदी, अच्युतकृष्ण पाण्डे र नविन थापाको टोली छ । उनीहरु रियल पार्ट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत् खटिएर आएका हुन् । मन्त्रीस्तरीय निर्णयले धरानको एयरपोर्टको सर्वे अध्ययनको लागि २ करोड बजेट विनियोजन गरेको थियो । जस अनुरुप अहिले काम भइरहेको छ । यस अघि निजी कम्पनी यती इन्कर्पोरेट प्रालिले एयरपोर्ट बनाउने भन्दै २४ जना स्थानीयसँग करिव ६ विगाहा ७ धुर जग्गा खरिद गरेका थिए । २०६० सालमा खरिद गरे पनि हालसम्म एयरपोर्ट बन्न सकेको थिएन् । जसका कारण जग्गाधनीहरु जग्गा फिर्ता पाउनु पर्ने माग राख्दै बेला बेला आन्दोलन गर्दै आइरहेका छन् । तर, अहिले भने मन्त्रालयबाटै बजेट विनियोजन भएकाले पनि धरानवासी मात्रै हैन, जग्गाधनीहरु पनि विश्वस्त छन् । त्यसमा पनि ड्रोनमार्फत् सर्वे गरेसँगै स्थानीयहरु खुसी छन् । ड्रोनले जग्गा कति चाहिने, कस्तो बनाउनेलगायतको अध्ययन गर्ने गौतमले बताए । धरान उपमहानगरपालिकाले केही दिन अघि मात्रै जग्गा उपलब्ध गराउने भन्दै पर्यटन मन्त्रालयमा पत्र प्रेसित गरेको थियो । धरान उपमहानगरमका नयाँ कार्यकारी विष्णु कोइराला आएलगत्तै एयरपोर्टको प्रक्रिया अघि बढाएका थिए । जसको समन्वयनको लागि सूचना अधिकृत भक्तीराज शर्मालाई संयोजक तोकिएको छ ।