काँकडभिट्टा/ झापाका दक्षिणी भेगका नागरिकले स्वास्थ्य केन्द्रबाट सामान्य उपचारबाहेक अन्य कुनै सेवा पाउँदैनन् । बिरामीहरूकै प्रयोग र सुविधाका लागि ल्याइएको प्रविधिको उपयोग उनीहरूले गर्न पाएका छैनन् । यसले गर्दा उनीहरू महङ्गो शुल्क तिरेर निजी अस्पतालमा जान बाध्य छन् । खजुरगाछीस्थित गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा करीब चार वर्षअघि नै खरीद गरिएको एक्स–रे मेसिन अझै सञ्चालन हुन सकेको छैन । भारतीय सीमाक्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिका–६ मा रहेको सो स्वास्थ्य केन्द्रमा करीब चार वर्षअघि खरीद गरिएको एक्स–रे मेसिन प्राविधिकको अभावमा थन्किएको छ । यसले गर्दा बिरामीहरू महङ्गो शुल्क खर्चिएर अन्यत्रबाट सेवा लिन बाध्य छन् । यसबारे जिल्ला जनस्वस्थ्य कार्यालय झापा बेखबर छ । कतिसम्म भने यो मेसिन कहाँबाट आयो भन्ने जानकारीसमेत छैन । मेसिन सञ्चालन समितिमा रहेका स्थानीय हेमसागर अधिकारीका अनुसार त्यति बेला खजुरगाछी र गौरीगञ्ज गाविसले मिलेर ४ लाख रुपैयाँमा मेसिन खरीद गरेका हुन् । तर अझै सञ्चालन हुन नसकेको उनको गुनासो छ । ‘अहिले मेसिनमा खिया लागिसक्यो, कसैले चासो देखाएको छैन’, उनले भने, ‘अलिक काम गर्ने खालको प्रमुख आयो भने यहाँबाट सरुवा गरिन्छ ।’ मेसिन सञ्चालनमा नआउँदा दमक, बिर्तामोड तथा भारतीय शहरहरूमा पुगेर महङ्गो शुल्क खर्चिन बाध्य बन्नु परेको स्थानीय सन्दीप श्रेष्ठ बताउँछन् । केन्द्रमा रगत र खकार जाँचबाहेक अन्य ल्याब सेवा पनि नरहेको उनले जानकारी दिए । ग्रामीण क्षेत्रको एकमात्र स्वास्थ्य केन्द्र भएका कारण बिरामीको चाप अत्यधिक हुने भए पनि सोचेअनुसारको सेवा पाउन नसकिएको खजुरगाछी बजार व्यवस्थापन समितिका अध्यक्ष अर्जुन दङ्गाल बताउँछन् । ‘यो अस्पतालमा अशिक्षित तथा आर्थिक अवस्था कमजोर भएका समुदायका व्यक्तिहरू आउने गरेका छन्, तर अस्पतालमा पर्याप्त सेवा नपाउँदा उनीहरू रोग लुकाएर बस्न बाध्य छन् ।’ दङ्गालले भने । जिल्ला जनस्वास्थ्य प्रमुख मधुसुधन कोइरालाले यसबारे आफूलाई केही थाहा नभएको बताए । उनले भने, ‘मलाई यो कसले दिएको हो भन्ने विषयमा जानकारी छैन, यस विषयमा बुझेर कुरा गरौँला ।’ उनले भने । स्वास्थ्य केन्द्र प्रमुख धर्मेन्द्रप्रसाद शाहले भने प्राविधिक अभावमा मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताए । मेसिन सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयबाट दरबन्दी नहुने भएका कारण पनि समस्या भएको उनको भनाइ छ । ‘जिल्ला जनस्वास्थ्यले एक्स–रे मेसिन सञ्चालन गर्न टेक्निसियन दिँदैन, हामीसँग धरै पैसा छैन’, उनले भने, ‘एकपटक विज्ञापन निकालेका हौँ तर कसैको आवेदन परेन ।’ उनले आफूरू तत्काल यो मेसिन सञ्चालन गर्ने पक्षमा रहेको बताए । बिरामीको सुविधाकै लागि भनेर ल्याएका यस्ता मेसिन सञ्चालन गर्ने कुरामा स्वास्थ्य मन्त्रालयको ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ ।