धरान/हरेकको सपना हुन्छ । त्यही सपना पालेर मेहनत गर्छ । पहाड छिचोल्ने हरसम्भव प्रयास गर्छ । आफ्नो सपना पूरा गर्न जस्तोसुकै अक्करको भीर पनि उसको लागि फिक्का बनिदिन्छ ।
यस्तै सपना बोकेका गायक नवराम राईले जीवनको आरोह अवरोहमा संगीत नै सबथोक देखे । सानैदेखि चढेको संगीतको भूतले ५३ वर्षे बुढ्यौलीमा पनि छाडेको छैन् । अहिले पनि संगीतप्रति उस्तै भूत सवार छ उनमा । त्यो जीवनपर्यन्त हुने छ ।
जतिखेर हाफपेन्ट लगाएर टोल–टोल चहार्थे । त्यो बेला राजाको आदेशमा विभिन्न सहरहरुमा गीतसंगीतको कार्यक्रम गर्न टोली खटाउथ्यो । त्यो सांगीतिक टोलीको गीत भुइमा पलेटी कसेर सुनिरहदा उनलाई पनि स्टेज चढेर गीत गाउने भूत सवार हुन्थ्यो । ‘एकदिन म पनि यस्तै स्टेज चढनेछु भनेर सोच्थे ।’ उनी नोष्टाल्जिक बन्छन् ।
आखिर त्यो भूत १७ वर्षको उमेरमा पूरा त भयो । तर, गाउने भन्दा पनि वाद्यवादनका एक सहयात्री बनेर । मादल, कङ्गो हुँदै ड्रममा पुगेका उनी ३२ वर्षको उमेरसम्म ड्रमसेटले नै स्टेज चढाइरह्यो । तर, गाउने अभिलाषाले कहिल्यै छाडेन् । अरुको गीतमा संगीत भर्ने उनले आफ्नो इच्छा तव पूरा गर्थे । जव, फ्लोरमा २०–२५ जना मात्रै दर्शक हुन्थे ।
त्यही दर्शकका लागि पनि उनी अन्तिममा एउटा गीत पस्कन्थे । र, चित्त बुझाएर घर फिर्थे । गायकीकै रुपमा स्टेज चढ्ने अवसर ‘दन्ते मोहनी’ ले दियो उनलाई । त्यसका लागि सौरभ श्रेष्ठ सहयोगी बने । मिक्स एल्बम निकाल्ने भएपछि उनको गायकी पनि प्रस्फुटित भयो । बालकृष्ण राईको शब्द रहेको उक्त गीत उनी आफैले पहिलो पटक कम्पोज गरेका थिए ।
नवरामले पहिलो पटक आफ्नै शब्दमा ‘तिम्रै लागि’ बोलको गीत लेखे । कम्पोज गरे । बजारमा ल्याए । अरु भन्दा फरकशैलीका नवरामको डमी गीत ‘गुँरासको फेदमुनी’ जुन पत्रकार गोपाल देवानको शब्द हो । त्यो गीतले नेपाली सांगीतिकासमा सविन राईलार्इ कहाँदेखि कहाँ पुर्यायाे । नेपाली ब्रायन आडम्सले चिनिए । सेलिब्रेटी बने । त्यही गीतले सविनलाई देशविदेश घुमायो । तर, उनी भने गीतकाे भनेजस्तै गुँरासको फेदमुनी नै परिरहे ।
जसको गीतले सविन चम्किए । उनले नवरामलाई क्रेडिट दिनु त कता हो कता यथार्थ लुकाइरहदा भने मन भक्कानिएर आउछ उनको । भन्छन्, ‘अडियन्सले यथार्थ देख्दैन रहेछ । यो हल्लाको समाज रहेछ । मलाई हल्ला गर्न आउदैन । मेरो गीतले उ अवार्डेड भयो । तर, मलाई क्रेडिट नदिदा एकदमै चित्त दुख्छ ।’
आत्मिक पीडा भए पनि उनी सहज रुपमा लिदै गएका छन् । उनी संगीतको मर्म बुझ्छन् । उनलाई संगीतमा राजनीतिक गर्न आउदैन् र गर्दैनन् पनि । त्यो गीत मात्रै हैन्, ‘कालो–कालो रातको’ गीतमा पनि सविनले न्याय गरेका छैनन् । ‘एकदिन सबैले बुझ्लान सविनले गाउने गीत नवरामको हो भनेर ।’ यस्तै पर्खाईमा उनी छन् ।
तर, त्यो दिन आउला नआउला । उनी भने अवस्य आउनेमा विश्वास गर्छन् । र, जीवनको अन्तिम विन्दुसम्म संगीत भन्दै मर्ने प्रण गरेका छन् । जतिखेरदेखि संगीतमा उनको लगाव बढ्यो । त्यसबेलादेखि नै संगीतको ‘नशा’ ले उनलाई तानिरह्यो । सानैदेखि गायक हुन्छु भन्ने सोच्थे । ‘तर, हुन्छु हुदिन थाहा थिएन् ।’ उनी भन्छन् ।
..........
स्वरसम्राट नारायण गोपाल उनको मनपर्ने गायक मध्ये एक हो । ‘मैले ढोग्ने, मनपर्ने गायक नारायण गोपाल दाई नै हो ।’ उनी भन्छन् । उनका लभसङहरु उनलाई औधी मनपर्छन् । रेडियोमा उ बेला गीतहरु सुन्दा उनको गीत गुनगुनाउथे । ‘तिमीलाई म के भनु, फूल भनु कि जून भनु’ नवरामको लागि यो गीत कर्णप्रिय छ ।
अहिलेको युवापूस्ताहरुको पनि गायकी देखेका छन् उनले । सरगम गीतहरु एकसे एक गाउनेहरु देखेका छन् । पहिला भन्दा फरक छ संगीतको संसार । अहिले जुनसुकै गीतहरुले पनि अवार्ड पाइरहेको देख्छन् । सायद राम्रो भएर नै होला भन्ने उनलाई लाग्छ । गीतसंगीतले उनलाई कहिल्यै छाड्दैन । घरमा होस्, या ट्राभलमा । उनी गीत गुनगुनाइरहकै हुन्छन् । ‘लाग्छ संगीत नै मेरो साथी हो ।’ उनी भन्छन्, ‘मेरो फाल्टो सोच नै छैन् संगीत बाहेक ।’
संगीतको वातावरण सायद उनले घरमै पाएका थिए । बुबाले मादल, हारमोनियम, कङ्गो बजाउने कारण उनको पनि लगाव संगीतमा डोहोरिएको हो । मादल चड्काउन थालेपछि जम्मा हुने साथीभाइलाई धेरै बेरसम्म उनी मादलको आश्वादन गराइरहन्थे । विस्तारै विस्तारै दाईहरुको संगतले उनी क्लवमा डोरिए । उनी अंग्रेजीमा इगल्स ब्याण्ड, विटल्स ब्याण्ड मनपथ्र्यो भने जोन डेनवर्गको फ्यान नै थिए ।
.........
पत्रकार गोपाल देवानको रचनाको गुँरासको फेदमुनीको डमी गीत बनाएको केही समयमै इमेज एफएममा बज्नसमेत थालेको थियो । राम्रो रेस्पोन्स पनि आइरहेकै थियो ।
त्यही बेला सविनले एल्बम बनाउछु भनेपछि उनले तुरुन्तै दिए । सविनलाई दिने निर्णय भएपछि इमेजमा नबजाउनको लागि अनुरोध गर्दा इमेजका सुरज श्रेष्ठको गालीसमेत खाए । ‘किन तपाईले आफ्नो गीत दिन लागेको ?’ भन्ने गाली अहिले पनि झलझली सम्झिन्छन् । अहिले आएर गलत निर्णय गरेछु भन्ने उनलाई लाग्न थालेको छ ।
सायद आफ्नै भोकलमा बजेको भए आज नवराम पनि नेपाली ब्रायन आडम्स बन्थे होलान् । ‘ब्रायनको जस्तो भोकल त छैन, तर, मेरो केही पहिचान त हुन्थ्यो होला ।’ उनी भन्छन् । सानोमा जति सपना थियो । अहिले पनि त्यो सपना उत्तिकै जीवित छ । अहिले पनि सपना पूरा गर्न उनी जस्तोसुकै अक्करको भीर चढ्न पनि पछि परेका छैनन् । तर, उनलाई समयले सदैव ठगिरहेको छ ।