काभ्रे/ पनौती–६ का २८ वर्षीया लस्मिता लामाले दैनिक एक सयवटा कुचो बनाउँदै आएका छन् । उनले कुचो बिक्री गरेर वार्षिक रु आठ लाखसम्म आम्दानी गरेका छन् । तर यस वर्ष उचित मूल्य नपाउँदा सोचे जस्तो आम्दानी नहुनेमा लामा चिन्तित छन्।

कुचोको उचित मूल्य नपाउँदा मारमा परेको उनको भनाइ छ । लामा विगत २१ वर्षदेखि कुचो बनाउँदै आएका  छन् ।

लामा जस्तै त्यहाँका अन्य व्यापारी पनि कुचोको उचित मूल्य नपाएपछि मारमा परेका छन् । “भाउ बजारमा निर्भर हुने भएकाले मूल्य घटबढ भइराख्छ,” अर्का व्यापारी प्रकाश लामाले भने । उनले सिन्धुपाल्चोक र सिन्धुलीबाट कुचो बनाउने कच्चा पदार्थ (अम्रिसो)सङ्कलन गर्दै आएका  छन् ।

हाल उनले महाँकाल कुचो उद्योगका रुपमा दर्ता गरेर सञ्चालन गर्दै आएका  छन् । हाल कुचो बनाउन कच्चा पदार्थभन्दा पनि ज्यामीलाई दिने ज्याला बढी भएका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको लामाले बताए ।

“व्यवसायबाट घाटा भएपछि परिवारको खर्च धान्न कठिन भएको छ,” उनले भने । कुचो बनाउने ज्यामीको समेत अभाव भएको लामाको भनाइ छ ।

कुचोको उचित मूल्य नपाएपछि व्यापारीमात्र नभई उत्पादन गर्ने कृषकसमेत समस्यामा परेका छन् । करिब ३० रोपनी जग्गामा अम्रिसो उत्पादन गर्दै आएका पनौती–११ का पुस्कल महत गत वर्ष कुचोको मूल्य राम्रै पाए पनि यस वर्ष उचित मूल्य नपाउँदा बिक्री गर्न नसकेको बताए ।

“बाढीपहिरोबाट जग्गा जोगिने भएकाले नै कुचो उत्पादन सुरु गरेको हुँ” महतले भने । अम्रिसो उत्पादन पर्याप्त मात्रामा हुने भए पनि उचित मूल्य नपाउँदा मारमा परेको उनले बताए । गत वर्ष व्यापारी अम्रिसो किन्न घरमै आउने गरेका तर यस वर्ष भने नआएका महतले बताए ।

जिल्लामा कुल ४२५ कबुलियती वन र ५६५ सामुदायिक वन रहेका छन् । ती सवैलाई जिल्ला वन कार्यालयले अम्रिसोको बिरुवा वितरण गर्दै आएको जिल्ला वन अधिकृत प्रेम खनालले बताए ।