मीठो बोली वचन र उस्तै असल व्यवहार । अरुका लागि सधैं जीवनको उर्जा लेखे । अरुलाई प्रेरणा भरे । यस्तै सामाजिक सरहका कामको सधैंको व्यस्ततामा आफ्नो उर्जाशिल समय खर्चेर अव चाँही जिन्दगीलाई केही आराम दिलाउने समयमा झनै जीवन सिथिल बन्यो । सधैं अरुकै लागि समय खर्चेर अरुकै लागि अमृत लेखिरहने झापाका पुराना पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठ यसबेला मृत्युसँग पौंडेजोरी खेलेर जीवन जित्ने अर्काे संघर्षको मोडमा छन् । ‘हरेस खाएको छैन । सरकारी निकायमा पनि उपचारका लागि पहल गरिदिन कुरा पुर्याएको छु । स्वास्थ्य मन्त्रीले घोषणा गरेको निशुल्क मृगौला प्रत्यारोपणको नीतिले पनि मलाई राहत देला भन्ने आशामा छु ।’– आफ्ना दुवै मृगौलाले काम नगर्ने अवस्थाको पीडामा रहेका ६१ वर्षीय श्रेष्ठले भने ।

उनले स्वास्थ्य मन्त्रालयमा मृगौला उपचारका लागि सहयोग माग्दै निवेदन पुर्याएका छन् । तर त्यसको सुनुवाई भनें हालसम्म भएको छैन ।काठमाडौंबाट आएर हालको मेचीनगर १० धुलाबारीका उनले ४१ वर्ष बढी पत्रकारिता गरे । पत्रकारिताको त्यति व्यवसायिकता नहुँदाको पीडामा काममा चाँही सधैंजसो खटिइरहनु पर्ने परिस्थितीले जीवन संघर्षकै चरणमा वित्यो । सजिलै मोडमा चल्न सकेको थिएन ।

त्यहीबीचमा ७ महिनादेखि आफ्नो दुबै मृगौलाले काम गर्न छोडिदियो । गत असोजमा विरामी भएर विर्तामोडको विर्तासिटी अस्पतालमा भर्ना भएपछि उनलाई त्यहाँबाट सोझै काठमाडौँको निदान अस्पतालमा लगिएको थियो । त्यहाँका डाक्टरले उनको दुबै मृगौला खराबी भएको पत्ता लगाएपछि उनी छाँगाबाट खसे । ‘मृगौलाले काम गर्न त छोडेछ तर पत्रकारिता र साहित्यमै जीवन विताएको मान्छेलाई उपचारमा सहयोग नमिल्दा भनें दुःख लागेको छ ।’– उनले दुखेसो पोखे ।

२०३२ सालदेखि पत्रकारिता थालेका उनले २०४२ सालमा सरकार मातहतको सञ्चार माध्यम ‘राष्ट्रिय समाचार समिति’को कर्मचारीका रुपमा जागिर प्रवेश पाएका थिए । २०७१ सालमा जागिरबाट सेवा निवृत्त भए । सेवाबाट निवृत्त भएका बखत पाएको केही रकम पनि उपचार गराउँदै सकिएपछि अहिले उनलाई चरम आर्थिक अभाव छ ।

असोजदेखि मृगौलाको डाइलोसिस त थालियो । तर पैसाको अभावमा हप्तामा २ पटक गराउनु पर्ने डाइलोसिस बल्तल्ल डेढ दुई महिनामा एकपटक गराए । विर्तासिटी अस्पताल विर्तामोडमा डाइलोसिस गराउँदै आएका उनको हप्ताको ७ हजार खर्च हुने गरेको छ । अहिलेसम्म उनको उपचारमा ७ लाख भन्दा धेरै रकम खर्च भइसेकेको छ । ‘आफुसँग यसो उसो गरेर वचाएको पैसा पनि सवै सकियो’ उनीसँगै रहेकी श्रीमती निलुले पीडादायी स्वरमा भनिन्–‘कसरी उहाँलाई बचाउनु होला ? ।’

आफ्ना मार्गदर्शक अग्रज सर्जकको यस्तो हालत भएपछि पत्रकार महासंघ झापा शाखाले श्रेष्ठको उपचारका लागि विशेषगरी पत्रकारहरुमा अपिल गरेपछि ५१ हजार ९ सय ५० रुपैयाँ संकलन भयो । नेपाल पत्रकार महासंघको स्थापना दिवशको अवसर पारेर बुधबार महासंघ झापा शाखाले श्रेष्ठकै घरमा पुगेर महसंघका अध्यक्ष तारामणि सापकोटा सहितको पत्रकार टोलीले सो रकम हस्तान्तरण गरेर केही राहत प्रदान गर्यो । सरकारले निशुल्क डाइलोसिसको नीति ल्याएको छ । तर उनी भनें निशुल्क उपचारको पहुँचमा पुग्न सकेका छैनन् । ‘झापामा निशुल्क डाइलोसिस गराउने अस्पताल छैन । मोरङमा भएपनि त्यहाँ धाउन गाह्रो भयो ।’– उनले समस्या सुनाए । डाइलोसिसका लागि काठमाडौंमा फिस्टुला बनाउँदा ७० हजार बढी रुपैयाँ लाग्यो । ०६१ सालमा देव्रे मृगौला केही सुकेको थियो । त्यसबेला उपचार गरेर ठीक भएको अवस्थामा यसबेला दुवै मृगौलाले काम गर्न नसक्ने भएको एक्कासी थाहा भएपछि परिवार चिन्तामा डुब्यो ।

२०१३ सालमा असार १ गते भक्तपुरमा जन्मिएका श्रेष्ठका २ भाई छोरा छन् । तत्कालीन धुलावारी गाउँ पञ्चायत कार्यालयमा २०३१ चैत्रदेखि २०३४ सम्म बहिदार र २०३४ चैत्रदेखि २०३६ भदौसम्म मुखिया तथा झापा वाणिज्य संघ धुलावारी शाखा २०४० चैत्रदेखि २०४२ मंसिरसम्म कार्यालय सचिवको रुपमा काम गरेका थिए । वार्ता साप्ताहिक (२०३४), सिदार्थ पाक्षिक (२०३६), संसार साप्ताहिक (२०३८) सिरेटो साप्ताहिक (२०३९) रासस दैनिक (२०४२), शनिबार साप्ताहिक (२०४८) जन संसद दैनिक (अतिथी सम्पादक २०७१ — २०७३) सम्म काम गरेका छन् ।

उनका ‘ढुङगामाथी तरेलिएका फूल र पातहरु’ (कविता संग्रह २०४८), ‘अन्तहिन यात्रा’ (कविता संग्रह २०५२), ‘हुटिट्याउले आकाश थामेको देश’ (कविता संग्रह २०५६), ‘क्यातुके फूल’ (कथा संग्रह २०६८), ‘स्मृतिका ती दिनहरु’ ( संस्मरण संग्रह २०७१) प्रकाशित छन् ।उनी नेपाली साहित्य विकास समिति झापाका संस्थापक सदस्य, महानन्द पुरस्कार समिति झापा अध्यक्ष, युवा साहित्य संघ झापा अध्यक्ष, धुलाबारी जेसीज अध्यक्ष सहित २५ वढी संघ संस्थामा क्रियाशिल बनिसकेका छन् ।