जसको मुखमा दुर्गन्ध हुन्छ उसको सास र कुरा गर्दा मुखबाट निस्किने हावा पनि दुर्गन्धित हुन्छ । जसले गर्दा कार्यालय स्कुल, कलेज, गोष्ठी, सभा, समाज तथा साथीभाइको बीचमा अप्ठ्यारो बनाउँछ ।
यतिमात्र होइन प्रेमी र प्रेमिका वा श्रीमान् श्रीमतीका बीच सम्बन्धमा फाटो ल्याउनेसम्मको काम मुखको दुर्गन्धले गर्न सक्छ । पहिरनमा जतिसुकै राम्रो देखिए पनि यदि मुख गन्हाउने समस्या छ भने यसले मानिसको व्यक्तित्वमा नराम्रो असर पार्छ ।
सास गन्हाउने समस्या जुनसुकै मानिसलाई हुन सक्छ । यो उमेरअनुसार हुने रोग होइन । यो यस्तो रोग हो, जसलाई मानिसले हेयको दृष्टिले हेर्छन् । मुख गन्हाउने समस्या पाचन प्रणालीसँग सम्बन्धित समस्या हो । मेडिकल भाषामा मुख वा सास गन्हाउने समस्यालाई हालिटोसिस भनिन्छ ।
कारणः
मुखबाट दुर्गन्ध आउनुका प्रमुख कारण निम्नलिखित छन्—
- दाँत र गिजाको रोग पायेरिया हुनु
- दाँतमा फोहोर जम्मा हुनु
- टन्सिलको इन्फेक्सन हुनु
- नाक या साइनसमा समस्या हुनु
- मुखमा घाउ हुनु
- श्वासनली या फोक्सोमा कुनै विकार हुनु
- पाचन प्रणालीले ठीकसँग काम नगर्नु
- पानीको मात्रा कमी हुनु
- मिर्गौलाको समस्या हुनु
- जिभ्रोमा फोहोर जम्मा हुनु
- मदिरापान गर्नु
- धूमपान, तमाखु, गुटका, पानपराग खानु
- अन्य रोगका कारणले पनि मुख गन्हाउँछ ।
- मधुमेह, कब्जियत, पेटको अल्सर, अपच, अजीर्ण, टीबी, निमोनिया, पिनास, डिपथेरिया आदि रोग भएमा पनि सास गन्हाउने हुन सक्छ ।
- काँचो लसुन, प्याजको सेवन गर्नु
- दाँतमा खाना अड्किनु
- नियमित रूपले दाँत नमाझनु ।
केही मात्रामा भने महिलाको महिनावारीको पिरियडमा पनि मुख गन्हाउने हुन्छ ।
लक्षण
- मुखबाट दुर्गन्ध आउनु
- पेट खाली हुँदा झन् बढी सास गन्हाउनु
- गिजाबाट पिप आउनु
- बिहान बासी मुखमा धेरै गन्हाउनु
-- रोग निवारणका उपाय
- साँझ बिहान राम्रोसँग दाँत माझ्ने
- ब्रस गर्दा टंग क्लिनरले जिभ्रो सफा गर्ने
- दाँतमा कीरा लागेको र प्वाल परेको छ भने उपचार गर्ने
- खाने बित्तिक्कै कुल्ला गर्ने
- प्रशस्त मात्रामा शुद्ध पानी पिउने
- कब्जियत, अपचसम्बन्धी समस्याबाट मुक्त हुने
- कागती, पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर बिहान–बेलुकी कुल्ला गर्ने
के नगर्ने
- अत्यधिक कडा ब्रसले दाँत सफा नगर्ने
- गुलियो चिज खाएर दाँत सफा नगरी नसुत्ने
- कब्जियत हुन नदिने
- मुखको कुनै रोग भए उपचार गरिहाल्ने
के खाने
- शुद्ध हलुका सुपाच्य भोजन गर्ने
- पाकेको रातो गोलभेँडा काँचो काटेर थोरै नुन हालेर खाने
- काचो पालुंगो, बन्दाकोभी राम्रोसित चपाएर बिहान बेलुकी खाने
- आधा चम्चा सुठोको धुलो बिहान–बेलुकी खाना खाएपछि खाने
- कागती, अमला खाने
के नखाने
- तारेको, भुटेको, पोलेको, पिरो, चटपटे, मसलादार गरिष्ट खानेकुरा नखाने
- धेरै गुलियो खाद्यपदार्थ वा पेयपदार्थबाट टाढै रहने
- चिया, कफी, रक्सी, माछा, मासु धेरै नखाने
उपरोक्त उपाय नियमित अपनाउने हो भने पनि मुख गन्हाउने समस्या केही हदसम्म कम हुन्छ । यति गर्दा पनि गन्हाउने समस्यामा सुधार भएन भने एकपटक चिकित्सकसँग सल्लाह लिइहाल्नुपर्छ ।
होमियोप्याथिक उपचार
मुख गन्हाउने समस्या आफैंमा रोग होइन । तर पनि शरीरभित्र पलाइरहेका वा हुन सक्ने अन्य समस्याको लक्षणको रूपमा यो देखापर्छ । त्यसैले यो समस्याको उपचार गर्नु शरीरलाई स्वस्थ्य राख्नु हो । होमियोप्याथिकमा यस समस्याको समाधान स्थायी रूपमा सम्भव छ । यसमा रोगीको शारीरिक एवं मानसिक लक्षणको साथै रोगको मुख्य कारणलाई ध्यान दिएर उपचार गरिन्छ । मुख वा सास गन्हाउनेको उपचारमा सफलतापूर्वक प्रयोग हुने केही औषधि निम्न छन् ।
औषधिहरू
मर्कसल, पल्साटिला, क्रियोजोट, हिपर सल्फर, कार्वोभेज, कार्बोलिकएसिड, बेलाडोना, नक्सभोमिका, रिहियुम आर्सेनिक एल्बम एसाफोटिडा, लाइकोपोडियम, नाइट्रिकएसिड, कल्केरिया फ्लोर, कल्केरिया सल्फ आदि । यी औषधिहरू योग्य र अनुभवी चिकित्सकको सल्लाहमा प्रयोग गर्नु उपयुक्त हुन्छ ।