इटहरी/ इटहरी उप–महानगरपालिकासँग झण्डै नौ करोड रुपैयाँ क्षतिपुर्ति माग दावी गर्दै इन्भारो केयर कन्सर्न प्रालिले इटहरीको मुख्य चौकको फोहोर उठाउन छाडे पछि उप–महानगरपाकिालेनै फोहोर उठान थालेको छ । उप महानगरपालिकाले सोमबारदेखि आफ्नै सवारी साधान र कर्मचारी परिचालन गरी नगरको मुख्य चौकको फोहोर उठाउन उठाउन थालेको हो । तीन जना दैनिक ज्यालादारीमा कर्मचारी थप गरी अन्य भएकै कर्मचारीबाट फोहोर उठाउन थालिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले बताए । फोहोर प्रशोधन केन्द्र उपलब्ध नगराएको र ग्राहकबाट संकलन हुनु पर्ने रकम समेत पुरा नउठेको भन्दै इन्भारो केयर कन्सर्न प्रालिले सो रकम क्षतिपुर्ति माग गर्दै मुख्य बजारको सडकको फोहोर केही दिन देखि उठाएको छैन । इन्भारो केयरले प्राङ्गारिक मल बिक्रीबाट प्राप्त हुने ६ करोड २४ लाख रुपैयाँ र कवाडी संकलनबाट प्राप्त हुने १ करोड ७४ लाख ७२ हजार रुपैयाँ क्षति भएको इन्भारोले दावी गरेको छ । यसै गरी ग्राहकबाट सङ्कलन गरिने २० रुपैयाँको दरले आउने ९६ लाख रुपैयाँ समेत उपमहानगरपालिकाले दिनु पर्ने दावी दावी गरेको छ । यता ग्राहकबाट उठ्न बाँकी १ करोड ३४ लाख ४० हजार रुपैयाँ समेत उपमहानगरपालिकाले आवश्यक कारवाही गरी उठाउने व्यवस्था गर्न उप–महानगरपालिकासँग माग गरिएको छ । उपमहानगरपालिका सँग इन्भारो केयरले फोहोर व्यवस्थापनको जिम्मा लिदा मासिक ३ लाख र पछि क्षेत्र विस्तार सँगै मासिक थप २ लाख ९० हजार रुपैयाँ दिन सम्झौता भएको छ । त्यस बाहेक उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँको खोजीदेखि लिएर जेसिवी प्रयोग लगायतमा सम्झौता बाहेकको सहयोग गरिरहेको वातावरण शाखा प्रमुख महेश सुवेदीले बताए । सम्झौता अनुसार फोहोर प्रशोनध गर्ने स्थान नगरपालिकाले खोज्ने र व्यवस्थापनको जिम्मा इन्भारोले लिने छ । साथै फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गर्नु पर्ने, टोल विकाससँग समन्वय गरी चेतनामुलक कार्यक्रम गर्नु पर्ने उल्लेख छ । इटहरी मुख्य चौकमा विहान र बेलुका फोहोर व्यवस्थाप गर्नु पर्ने, मुख्य बजारका ड्रेन तीन÷तीन महिनामा सफा गर्नु पर्ने, संकलन भएको रकमको ५ प्रतिशत टोल विकास संस्था र ५ प्रतिशत उद्योग वाणिज्य संघलाई इन्भारोले बुझाउनु पर्ने सम्झौता भएको छ । तर यी सर्त कार्यान्वयन भएका छैनन् । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले भने सम्झौता अनुसार काम हुनु पर्ने भन्दै जानकारी इन्भारो केयरलाई पत्र पठाएरै फोहोर उठाउन थालिएको बताए । ‘हामीसँग नगरवासीको जिम्मेवारी छ’ कार्यकारी अधिकृत राईले ब्लाष्टसँग भने ‘त्यही भएरै फोहोर उठाउन थालिएको हो ।’ २०७० सालमा गरिएको सम्झौता र कार्यान्वयनका विषयमा उपमहानगरपालिकाले सोमबार राजनीतिक दलसँग छलफल समेत गरेको छ । छलफल पछि उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहालको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गर्ने सहमति भएको कार्यकारी अधिकृत राईले बताए । यता, इन्भारो केयरले फोहोर व्यवस्थापनको नाममा करोडौं रुपैयाँ करबाट उठेको रकम माग गरेको विषयमा असन्तुष्टी जनाउँदै आएका छन् । इन्भारोले बुधबार पत्रकार सम्मेलन गरी आर्थिक क्षतिको कुरा उप–महानगरपालिका, यहाँका राजनीतिक दलसँग पटक पटक राखिए पनि वेवास्ता गरिएको कारण बाध्य भएर फोहोर उठाउन बन्द गर्नु परेको थियो । २०७० सालमा गरिएको सम्झौता ५ वर्षका लागि हो । लामो समय फोहोर प्रशोधन केन्द्रको जग्गा नपाए पछि पछिल्लो समयमा साविक खनारमा फोहोर प्रशोधन केन्द्र निर्माण भइरहेको छ । आउने साउन महिनादेखि सो स्थानमा फाहोर विसर्जन गर्न सकिने गरी काम भइरहेको उनले बताए । साथै सो स्थानमा फोहोर बाट उर्जा निकल्नका लागि उपमहानगरपालिकाले सूचना प्रकाशित गरिसकिएको छ । अहिले फोहोर फाल्ने ठाउँ अभाव हुँदा हाल चारकोशे जंगलमा फोहोर फ्याकिदै आएको छ । फोहरमैला व्यवस्थापन ऐन ०६८ ले फोहरलाई घरमा नै कम्तीमा कुहिने र नकुहिने छुट्याउनुपर्ने, नगरपालिकाको तोकेको ठाउँ र समयमा फाल्नुपर्ने व्यवस्था गरेको छ । तर, त्यो नियम नगरवासीले पालना गरेको अवस्था छैन । यता, इन्भारो केयर कन्सर्नका अध्यक्ष मानध्वज मोक्तानले पनि उप महानगरपालिकाले आफैं फोहोर उठाउन थालेको बताए । आफूहरुले राखेका मागको विषयमा सुनुवाई हुनु पर्ने उनको माग छ ।