विश्व सँस्कृतिको उद्गम स्थल नेपालमा नेपाली लोक साँस्कृतिक उत्सवहरु मनाउने परम्परा अत्यन्त प्राचीन रहि आएको छ । नेपाली सँस्कृतिको विभिन्नतामा एकता स्थिर राख्नका लागि साँस्कृतिक उत्सवहरुको ठूलो योगदान छ ।
नेपाली लोक साँस्कृतिक उत्सवहरुमध्ये एक चैत्र शुक्ल पक्ष नवमी तिथिका दिन पर्ने श्री रामनवमी हो । तिथिअनुसार यस वर्ष चैत्र २३ गते बुधबार परेको छ । आदर्श जीवनको स्वरुप देखाउने भगवान् विष्णुको सातौं अवतार श्रीरामको जन्म भएको दिन रामनवमी हो । अयोध्याका राजा दशरथका छोरा भगवान् रामको जन्मदिनलाई रामनवमीका रुपमा रामायणका महापात्र हिन्दूहरुका भगवान् यस दिन राम मन्दिरहरुमा धुमधामसँग पूजापाठ प्रार्थना, नाचगानका साथ मनाइन्छ । नेपालको मिथिला नरेश जनक राजाकी छोरी सीताको विवाह रामसँग भएकोले ससुराली देश नेपालको जनकपुर भए तापनि काठमाडांै, पाटन, भक्तपुर, वीरगञ्ज, धरान लगायत विश्वभर नै हिन्दूहरुद्वारा मनाइन्छ । श्रीरामको सम्पूर्ण चरित्रको निचोड नै ज्ञानयोग र कर्मयोगको संगम भएको योग वशिष्ठ हो । यो योग वशिष्ठलाई महा रामायण पनि भनिन्छ । राम आदर्श शासक थिए । उनले सबै साधारण जनताको कुरा पनि सामाजिक मर्यादाका लागि पालन गर्थे । धर्मको रक्षा गर्न जस्तोसुकै बलिदान गर्न तयार रहने, विभेदरहित मनुष्य हुन् । भगवान् विष्णुका अत्यन्त लोकप्रिय अवतारहरुमध्ये राम अवतार सातौं अवतारको रुपमा मानिन्छ । यो अवतार विष्णुले त्रेतायुगमा लिएका थिए । क्षत्रीय कूलका राजा रामको सम्पूर्ण कथा महर्षि वाल्मीकिले रचना गरे । लङ्काका राजा रावणको अत्याचार एवम् दुराचारलाई नाश गर्नका लािग नै मुख्य रुपमा यो अवतार लिनुपरेको मानिन्छ । यो कथा रामायणको नामले प्रसिद्ध छ । रामचन्द्र अयोध्याका राजा थिए । रामायणमा उल्लेख भएअनुुसार पितृभक्त युवराज रामले बाबु दशरथको जीवित अवस्थामा नै १२ वर्ष वनबास र २ वर्ष गुप्तवास जानुप¥यो । बाटो बिराएकाहरुलाई सही बाटो देखाउने, पापमोचन गरेर पापीहरुलाई क्षमा गर्ने, अन्यायमा परेकालाई न्याय दिने, अनि माया गरेर सम्झाएर बाटो देखाएर नहुनेलाई मोक्ष गर्ने साहस भएको मनुष्यको चरित्र देखाइदिएको छ । वनबासमा रहँदा शवरीको जुठो बयर खान स्वीकार गर्ने, लङ्का विजय गरी फर्केपछि बाटोमा एउटा धोबीको पनि कुरा मान्ने कुन शासकले आप्mनी धर्मपत्नीलाई त्याग्ने हिम्मत गर्न सक्छ ? तर रामले सामाजिक मर्यादाको रक्षाको लागि आप्mनी प्राणप्यारी सीतालाई पनि केही समयका लागि छोड्नुपर्दा सहेर बसे । जातीय भेदभाव र छुवाछुत मेटाउने नारामात्र फलाक्ने कुन नेताले आज दलितको जुठो खाएको छ ? तर सामाजिक विषमता मेटाउन रामले शवरीका जुठो बयर पनि खाएका छन् । जातीय छुवाछुत हटाउने शिक्षा दिने रामलाई पूजा गरी जन्मदिन रामनवमी मनाउने हाम्रो देश नेपाल जातिवादी समस्याबाट पीडित हुनु एउटा अनौठो आश्चर्य हो । मानव धर्मका आधारभूत सिद्धान्त र सामाजिक नियमहरुको अपूर्व सम्मिश्रण रामको चरित्रमा पाइन्छ । देवताहरु पनि दैत्यहरुबाट डराउँथे, तर राम कहिल्यै डराएनन् । मानिसले विपत्तिमा देवताहरुलाई गुहार्छ, तर देवताहरुले पनि बिपत्तिमा रामलाई पुकार्छन् । रामले एकातिर अज्ञानी आतङ्कवादी राक्षसहरुकोे बध गरेका छन् भने अर्कातिर भोगवादी सँस्कृतिकी प्रतीक शूर्पणखा र तृष्णारुपी मन्थरालाई हटाएर रामराज्यको जगलाई बलियो पार्न वनबास गएका छन् । यसरी क्रान्ति, शान्ति र मर्यादाको त्रिवेणीमा अडेको रामगाथा–रामकथा आजपनि धार्मिक र राजनीतिक नेताहरुलाई बाटो देखाएर चरित्र र नैतिक बल प्रदान गर्न रामबाण औषधी सिद्ध हुनेछ । दक्षिण–पूर्व एशियाली सँस्कृतिमा श्रीरामको स्थान धेरै महत्वको छ । हिन्दू जगत्मा श्रीरामका साथमा सीता, लक्ष्मण र हनुमानको पनि पूजा अर्चना गरिन्छ । चन्द्रमास गणना पद्धतिअनुसार चैत्र शुक्ल पक्ष प्रतिपदादेखि नयाँ वर्ष आरम्भ हुन्छ । यही प्रतिपदादेखिका नौ दिनलाई चैत्र नवरात्र अथवा चैत्रे दशंै पनि भनिन्छ । नव वर्षको शुभागमनसँगै आफ्नो व्यापार, कारोबार आदि आम सर्वसाधारणले रामायणका दिव्यकथा श्रवण गरी शक्ति उपासना गर्दै आप्mनो व्यापारको नयाँ हिसाब किताब शुरु गर्दछन् । जसरी रोगीलाई नमारी रोगलाई मार्नु बुद्धिमानी मानिन्छ, त्यसरी नै शोषकलाई नमारी शोषण वृत्तिलाई मार्नु शासनको उद्देश्य हुनुपर्दछ । यस भावनाले मात्र कोही कहिल्यै अन्यायमा पर्दैन भन्ने रामराज्यको अवधारणा स्थापित गरेर धर्मपूर्वक राज्यसत्ता सञ्चालनको शिक्षा प्रदान गर्न भगवान् श्रीरामको जन्म जयन्तीका अवसरमा यही युग सन्देश लिएर रामनवमी पर्व मनाइन्छ ।