विजयपुर/ श्वास–प्रश्वासका बिरामीलाई अति आवश्यक पर्ने औषधि ‘सालब्युटामोल’ (आस्थालिन सोलुसन) को चरम अभाव भएपछि श्वास–प्रश्वासका बिरामी समस्यामा परेका छन् । औषधि नपाएपछि उपचारमा संलग्न चिकित्सकहरूमा पनि तनाव शुरु भएको छ । प्रदेश नम्बर एकको सबैभन्दा ठूलो अस्पताल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्वास–प्रश्वासका बिरामी दैनिक ५० जनासम्म आउने गरेको प्रतिष्ठानको आकस्मिक विभागका प्रमुख डा रविन भण्डारीले श्वास–प्रश्वासको समस्या लिएर आउने अधिकांश ज्येष्ठ नागरिकहरू रहेको बताए । आस्थालिन सोलुसनको अभाव हुँदा उपचारमा निकै समस्या भएको डा भण्डारीले बताए । उनले भने, ‘यो औषधिको विकल्पमा अर्को प्रभावकारी औषधिसमेत छैन ।’ भारतमा उत्पादन हुने यो औषधिको उत्पादनमा कटौती भएपछि औषधि अभाव भएको व्यवसायीहरू बताउँछन् । डा भण्डारीका अनुसार श्वास–प्रश्वासका बिरामीको गम्भीर अवस्थामा तत्काल सुधार गर्न मेसिनबाट बाफ लगाएर यो औषधि दिने गरिन्छ । यसको अभावमा आस्थालिनकै ‘पफ’ लाई दैनिक ६ देखि ७ पटकसम्म प्रयोग गर्नुपर्ने बाध्यता छ । ‘पफ प्रयोग गर्दा पनि बिरामीलाई असहज हुने गरेको छ’, डा भण्डारीले भने, ‘पफ प्रयोग गर्दा लामो श्वास लिनुपर्ने हुन्छ, दमको बिरामीका लागि लामो श्वास तान्नु भनेको निकै ठूलो दवाब हो ।’ आस्थालिन सोलुसनले दैनिक ६–७ पटक पफ दिएबराबर एकपटकमा काम गर्ने उनको भनाइ छ । ‘यो बाफमार्पmत् प्रयोग गरिने भएकाले बिरामीलाई कुनै समस्याविना राहत मिल्छ ।’ डा भण्डारीले सुनाए । यसको विकल्पमा प्रयोग गरिने ‘इप्राभेन्ट’ नामको औषधिको पनि अभाव भएको छ । डा भण्डारीका अनुसार आस्थालिन सोलुसनकै जतिको काम नगरे पनि इप्राभेन्टबाट केही राहत हुन्थ्यो तर यो औषधिको पनि बजारमा अभाव छ । दुवै औषधिको उत्पादक कम्पनी एउटै भएको औषधि व्यवसायी वीरेन्द्र गुप्ताले जनाए । नेपालमा भारतीय कम्पनी ‘सिप्ला’ ले मात्र यी औषधिहरू उपलब्ध गराइरहेको थियो । भारतीय बजारमा पनि यी औषधिहरूको अभाव रहेको व्यवसायीहरू बताउँछन् । केही बढी रकम तिरेर भारतीय बजारबाट औषधि ल्याई तत्कालको समस्या समाधान गर्न सकिन्थ्यो तर भन्सारमा प्रहरीले लागूऔषध कारोबारीका रूपमा पक्राउ गर्ने डरले व्यवसायीहरूले त्यो जोखिम नमोलेको व्यवसायी गुप्ताले बताए । धरान–१८ को गुम्बा फार्मेसीका सञ्चालक सुवास पौडेलले झण्डै डेढ महिनायता यी औषधीहरूको अभाव भएको बताए । ‘अहिलेसम्म व्यवसायीले स्टकबाट बिरामीलाई उपलब्ध गराइरहेका थिए, अब भने स्टक पनि सकिएको छ ।’ पौडेलले भने । यी औषधिको अभाव हटाउन राज्य स्तरबाट पहल हुनुपर्ने व्यवसायीहरू बताउँछन् । ‘औषधिजस्तो कुरामा बेलैमा सजगता अपनाउनुपर्छ’, औषधि व्यवसायी गुप्ताले भने, ‘लामो समयसम्म औषधि अभाव हुँदा यसको असर विकराल हुन्छ ।’ सरकारले अन्य विकल्पबारे तत्काल निर्णय लिनुपर्ने उनको भनाइ छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले यो समस्या समाधानका लागि सम्बन्धित विभागहरूलाई तत्कालै निर्देशन दिने बताए । ‘समस्याका बारेमा तपाईंबाट मात्र थाहा भयो, यो समस्या समाधान गर्न मन्त्रालयबाट तत्काल निर्देशन दिने काम हुन्छ’, राज्यमन्त्री गुरुङले ब्लाष्टसँग भने, ‘बेलैमा मन्त्रालयलाई जानकारी नदिने निकायलाई पनि कारवाहीको दायरामा ल्याउने छौँ ।’