तरहरा ।भौतिक पूर्वाधारसँगै ठूलठूला क्रिकेट प्रतियोगिता नहुँदा पूर्वमा क्रिकेटको स्तर निरन्तर खस्किँदै गएको छ । जिल्ला तहमा प्रतियोगिताहरु आयोजना हुन नसक्दा यहाँको क्रिकेटको भविष्य नै सङ्कटमा पर्ने अवस्था आएको छ । स्थानीय स्तरमा हुने सानो प्रतियोगिताको भरमा मात्र पूर्वबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न सम्भव नभएको क्रिकेटका जानकारहरु बताउँछन् । ‘भौतिक पूर्वाधारको अभाव र काठमाडौंकेन्द्रित प्रतियोगिताहरुका कारण नयाँ खेलाडीले पछिल्लो समय अवसर पाउनै सकेका छैनन् । क्रिकेटको संस्थागत विकासभन्दा पनि व्यक्तिगत लाभका उद्देश्यले काठमाडौंमा प्रशिक्षण केन्द्रहरु खोलिएका भएपनि पूर्वमा सुविधासम्पन्न क्रिकेट मैदान नहुँदा क्रिकेटको स्तर नबढेको सुनसरीका क्रिकेट प्रशिक्षक तथा अभियन्ता सीपी पौडेलले बताए । उनले भने, ‘क्रिकेटको साख जोगाउन चन्दा मागेरै भएपनि पछिल्लो समयमा सानातिना प्रतियोगिता गर्दै आएका छौं ।’ जिल्लाका खेलाडीहरुका लागि कुनै किसिमको अवसर र सुविधा नै छैन ।’ पौडेलले भने, ‘जिल्लामा रहेका खेलाडीहरुले पनि आफ्नो क्षमता देखाउने अवसर नपाएको भन्दै राम्रा क्रिकेट खेलाडी उत्पादन गर्न सक्ने सम्भावना बोकेका प्रत्येक जिल्लामा प्रशिक्षण केन्द्र खोल्नुपर्छ । उनीहरुको खेल निखार्न नियमितरुपमा प्रतियोगिताहरुको आयोजना गर्नुपर्छ ।’ पूर्वको धरान, इटहरी, विराटनगर, झापा र सप्तरी लगायतका जिल्लामा क्रिकेट मैदानको व्यवस्था हुनुपर्ने उनले बताए । इटहरीको लागि डिभीएम ग्राउण्ड नै क्रिकेट अभ्यास र प्रतियोगिताका लागि एक मात्र विकल्प भएको छ । पूर्व क्रिकेट खेलाडी समेत रहेका व्यापक सुनसरीका अध्यक्ष सुमित थापाले क्रिकेट खेललाई व्यापक बनाउनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘क्रिकेट खेलमा सरकारी र स्थानीय स्तरबाट समेत प्राथमिकता दिनु पर्छ ।’ खेलप्रति रुची भएपनि यहाँका व्यवसायीहरुमा क्रिकेटको विकासका लागि सामाजिक उत्तरदायित्व बहन गर्ने संस्कारको कमी रहेको क्रिकेटप्रेमी थापाको बुझाइ छ । स्थानीयस्तरमा ठूला प्रतियोगिता नहुँदा नयाँ खेलाडीहरु छनौट हुने र राष्ट्रिय टोलीमा जाने ढोका नै बन्द छ । इटहरी क्रिकेट एकेडमी पैसा तिर्ने नसकेकोको अवस्थामा निःशुल्क सिकाउन एकेडमी दर्ता गरेको इटहरी क्रिकेट एकेडेमीले ताएको छ । यता राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले खेल क्षेत्रको विकास तिब्र भइरहेको भन्दै आगामी दिनमा क्रिकेट खेल उदाउने बताए । राज्यले खेल क्षेत्रमा गरेको लगानी खेर नगएको भन्दै क्रिकेटको विकास पनि बिस्तारै हुन थालेको बताए । ‘हामीले अहिले क्रिकेट खेलाडी उत्पादन र प्रतियोगितामा लगानी गरिरहेको छौं’, उनले भने । संसारकै सबैभन्दा रुचाइएको खेल भएपनि पूर्वी नेपालमा ठूला प्रतियोगिता हुन नसकेको र आगामी दिनमा प्रतियोगिता गर्दै जाने बताए । सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट शुरु भएको क्रिकेटले सत्रौं शताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको छ । इतिहास अनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट शुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पाएको हो । क्रिकेट युवा पुस्ताको लागि लोकप्रिय हुँदै गएपनि आवश्यक भौतिक संरचना अभाव हुनु आपैंmमा दुःखद कुरा हो ।