धरान / आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले उपभोक्ता सचेत हुन सके बजार आफै सुध्रिने बताएका छन् । महानिर्देशक धितालले उपभोक्ता नै बजारलाई तह लगाउने अस्त्र भएको बताए । उपभोक्ता हित तथा बजार अनुगमन बारे जानकारी गराउन धरान आएका उनले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्तासम्बन्धी ऐन कानुन र अन्तर्राष्ट्रिय अधिकारको बारेमा जानकारी गराए । अहिले नेपालको कानुन, ऐनले नै उपयुक्त कारवाही गर्ने वातावरण नहुँदा चुनौति भएको उनको भनाइ थियो । ‘बजार निरीक्षण अधिकृतलाई बजारमा आर्थिक दण्ड गर्ने कानुनी अधिकार छैन’, उनले भने, ‘तत्कालै कारवाही गर्ने अधिकार हुनुपर्छ ।’ उपभोक्ताको हितका लागि जिल्ला अदालतमा छुट्टै उपभोक्ता इजलास हुनु पर्ने उनले बताए । ‘उपभोक्ताको छुट्टै अदालत बनाउन सकिँदैन भने कम्तीमा इजलासको व्यवस्था हुनुपर्छ’, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले महानिर्देशक धितालको कुरामा थपे । उनले पनि कार्यपत्र प्रस्तुत गर्दै समयअनुसार पुरानो ऐन, कानुनहरु परिवर्तनु गर्दै जानुपर्ने बताए । ‘मैले १८० रुपैयाँ तोला सुन लगाको थिएँ, २५ वर्षअघि । अहिले ५५ हजारदेखि ५८ हजारको हाराहारीमा पर्छ । अनि २०२३ सालमा बनाएको खाद्य ऐन चाहिँ जस्ताको त्यस्तै हुन्छ, यो सम्भव छ ?’ उनले भने, ‘यो ध्वाँसे ऐन परिवर्तन गर्नुपर्छ । समयसँगै ऐन पनि संशोधन गर्दै लानुपर्छ ।’ उनले उपभोक्ता शिक्षा गाउँगाउँमा पु¥याउन आवश्यक रहेको र यसका लागि जागरण अभियान नै चलाउनु पर्ने बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले नेपालमा उपभोक्ता शिक्षा आवश्यक रहेको बताए । उपभोक्ता सचेत भए पनि बजार नियन्त्रण हुन सक्ने र कारबाही गर्नको लागि पनि प्रशासनलाई सहज हुने उनको भनाइ थियो । उनले अनुगमनमा पनि एकद्वार प्रणाली अपनाउन जरुरी रहेको बताउँदै उपभोक्ताले पनि अनुगमनलाई सकारात्मक रुपमा लिनु पर्ने बताए । ‘अनुगमन गर्दा पनि सुख छैन, नगर्दा पनि सुख छैन । प्रशासनले झारो टार्न अनुगमन गरिदियो भनिदिन्छन् । नगर्दा गरेन भन्छन्’, उनले भने । कार्यक्रममा सर्वसाधारणले जिज्ञासा राखेका थिए ।