सानैदेखि पढ्न–लेख्न सारै रुचि राख्ने सुशीला खुट्टाले लेख्ने काम गर्थिन् । कुनै कुरा लेख्ने भनेपछि खुट्टाअघि सरिहाल्ने ढकाललाई कहिल्यै आफ्ना दुवै हात नभएर केही गर्न सक्दिन भन्ने लागेन । परिवारको पूर्ण साथ पाएकीले ३–४ वर्षको उमेरदेखि स्कुल जान थालेकी सुशीलालाई सुरुसुरुमा सबैले हात नभएकाले कसरी लेख्छे होला भनेर अचम्म मानी घुरेर हेरिरहँदा भने नरमाइलो लाग्थ्यो । यद्यपि पढाइमा अब्बल सुशीलालाई घर–परिवार तथा साथीभाइहरूले हेपाइको दृष्टिले हेरेनन् ।

अझ ओहो खुट्टाले लेख्ने केटी हाम्रो स्कुलमा छ भनेर सकारात्मक हिसाबले उनलाई लिइएको ढकाल बताउँछिन् । सोसोलोजीमा स्नातकोत्तर गरेकी ढकाल अहिले एलएलबी अध्ययनरत छिन् । उनले लोकसेवा उत्तीर्ण गरेर आन्तरिक राजस्व विभागमा नाम निकालेकी हुन् । सुरुसुरुमा कार्यालयमा पनि उनलाई पत्याइँदैनथ्यो । सेवाग्राहीहरू पनि सुशीलाको हात नदेखेर अरू कोही छैन जस्ता प्रश्न गर्छन् तर उनले मज्जाले खुट्टाले लेख्ने तथा कम्प्युटर चलाउने काम गरेको देखे पछि चुप लाग्छन् । कतिपयले अहिले पनि उनलाई दयाले काम पाएजस्तो व्यवहार गर्छन् भने उनी लोकसेवाको परीक्षा उत्तीर्ण गरेर जागिर खाएकीले त्यस्तो व्यवहार व्यहोर्नुपर्दा चित्त दुखाउँछिन् । कतिपयले उनीजस्ता शारीरिक अशक्तहरूलाई पूर्वजन्मको पाप भनेर हेप्ने तथा कतिपयले विचरा, केही गर्न सक्दिनन् भनेको सुने पछि मुखैमा जवाफ फर्काउँछिन् । सुशीला भन्छिन्–‘हामीजस्ता व्यक्तिलाई सहानुभूतिको नजरले नहेरी समान व्यवहार र समान अवसर प्रदान गर्नुपर्छ । मेरो हात छैन, त्यसैले मैले त्यसको विकल्पका रूपमा खुट्टालाई लिएँ । आम व्यक्तिले हातले गर्ने सबै काम म खुट्टाले गर्छु । दुईवटै हात नहुँदा धेरै फरक पर्छ तर अवसर तथा वातावरण बनाइदियो भने असम्भव केही छैन ।’ उनलाई विवाहअघि आमाबुवा, दाइ–दिदी एवं बहिनीले पूर्णरूपमा साथ दिएका थिए भने अहिले श्रीमान्ले एकदमै सहयोग गरी हौसला प्रदान गरि रहेका छन् ।